निर्मल माविको ५४ औं वार्षिक उत्सवमा विविध कार्यक्रम

दमौली खबर संम्वादाता

फागुन ८

तनहुँको व्यास नगरपालिका १ भादगाउँ स्थित निर्मल माध्यमिक विद्यालयको ५४औं वार्षिकोत्सवमा आईतबार बिबिध कार्यक्रम गरिएको छ । वार्षिकोत्सवको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै न्यौपाने सामुदायिक विद्यालयले नतिजा सुधार गर्न ध्यान दिनु पर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर दरैको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, व्यास नगरपालिकाको उपप्रमुख इन्दिरा दरै, वडा नं. १ का अध्यक्ष रमेशचन्द्र हड्खले, वडा नं. २ का अध्यक्ष काशीराम श्रेष्ठ ,नगर शिक्षा अधिकारी नविन पराजुली, आदिकवि भानुभक्त क्याम्पसका अध्यक्ष बुद्धिमान श्रेष्ठ, शिक्षक अभिभावक संघका अध्यक्ष हरि खनाल, शिक्षक लक्ष्मीप्रसाद मिश्र, लोकराज सेढाइ लगायतकाले शिक्षा क्षेत्रको महत्व बारे चर्चा गर्नु भएको थियो ।
सोही अवसरमा विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि न्यौपानेले निर्मल स्मारिकाको बिमोचन गर्नु भएको थियो । साउदी अरबको सहयोगमा निर्मित पक्की भवनको सोही अवसरमा उद्घाटन गरिएको थियो । उक्त दिन सहिद निर्मलको अर्धकदको शालिकको प्रतिस्थापन गरिएको थियो । शालिकमा विभिन्न क्षेत्रका व्यक्तिहरुले फुलमाला चढाएर माल्यार्पण गरेका थिए । विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको उक्त विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button