आँबुखैरेनीका जनप्रतिनिधीका सन्तानले सामुदायिक विद्यालयमा पढ्ने

दमौली खबर संवाददाता

तनहुँ, फागुन ८

तनहुँको एक पालिकाका जनप्रतिनिधीका सन्तानले सामुदायिक विद्यालयमा अनिवार्य पढ्नु पर्ने व्यवस्था गरेको छ । यस्तो व्यवस्था गर्नेमा आँबुखैरेनी गाउँपालिका रहेको छ । सो पालिकाका जनप्रतिनिधिका छोराछोरीले आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा भर्ना हुनु पर्ने नियम बनाईएको छ । गाउँकार्यपालिका आईतबार बसेको बैठकले आगामी शैक्षिक सत्र देखि अनिवार्य रुपमा सबै जनप्रतिनिधीले आफ्ना सन्तानहरुलाइ अनिवार्य रुपमा सामुदायिक अध्ययन गराउनु पर्ने निर्णय गरेको हो ।
सामुदायिक विद्यालयप्रतिको जनविश्वास जगाइ शिक्षाको गुणस्तर खस्कन नदिन निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । राज्यले सामुदायिक विद्यालयमा लगानी गरे अनुरुपको प्रतिफल प्राप्त नभएकोले सुधारको लागि दबाब दिने उद्धेश्य अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढ्नु पर्ने निर्णय गरिएको अध्यक्ष चुमानले बताउनुभयो । ‘शैक्षिक गुणस्तर वृद्धि गर्न र विद्यालयप्रति विश्वास जगाउनका यस निर्णयले मद्धत पुग्ने विश्वास लिएका छौं’’ चुमानले भन्नुभयो । जनप्रतिनिधीका छोराछोरीले सरकारी विद्यालयमा पढन थालेपछि खस्कदै गएको नतिजामा सुधार भई सहज र सुलभ रुपमा पढने वातावरण कायम हुने विश्वास गाउँपालिकाको छ ।
सरकारी विद्यालयको अवस्थामा सुधार ल्याउनका लागि राज्यको नेतृत्व गर्ने मानिसहरुले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन थालेपछि दृष्टिकोणमा समेत परिवर्तन आउने हुँदा निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो । पालिकामा कार्यरत कर्मचारी र शिक्षकलाई पनि सामुदायिक विद्यालयमा नै छोराछोरी पठाउन आग्रह गरिएको निवेदन पठाउने तयारी भईरहेको शर्मा बताउनुहुन्छ । ‘‘वोडिङ भन्दा सरकारी विद्यालयको नतिजा राम्रो बनाउन यस्तो निर्णयले सहयोग गर्ने अपेक्षा लिएका छौं’’ प्रमुख प्रशासकीय अधिकृत शर्माले भन्नुभयो । आगामी शैक्षिक सत्र २०८० सालदेखी आफना बालबच्चा हरूलाई अनिवार्य रूपमा सामुदायिक बिद्यालयमा अध्ययन गराउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।
यस गाँउपालिकामा ३२ जना जनप्रतिनिधिहरु रहेका छन् । पालिकामा ३५ वटा सामुदायिक विद्यालयमा करिब चार हजार तीन सय विद्यार्थी रहेका छन् । सामुदायिक विद्यार्थीलाई विद्यालय आउन सहजताका लागि गाँउपालिकाको शत प्रतिसत अनुदानमा स्कुल बस हस्तान्तरण गर्ने तयारी भईरहेको गाउँपालिकाले जनाएको छ । पालिकाका अनुसार पहिलो चरणमा पालिकाका ३ देखि ५ वटा विद्यालयलाई बस हस्तान्तरण गर्ने तयारी गरिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button