रगत अभाव टार्न रक्तदान

दमौली खबर संवाददाता
कोरोना संक्रमणले गर्दा रगत संकलन कार्य लगभग ठप्प जस्तै छ । यसैले अस्पतालमा बिरामीहरूले समयमा रगत पाउन धौधौ पर्ने गरेको छ । त्यसैले रगत अभावमा अकालमा बिरामीको मृत्यु नहोस् भनेर दमौलीका युवाहरू महामारीको वेला रगत कम हुन नदिन रक्तदानमा जुटेका छन् । लायन्स क्लब अफ तनहुँ र लियो क्लब अफ दमौली तनहुँले शनिबार रक्तदान कार्यक्रम आयोजना गरेर ३१ युनिट रगत संकलन गरेका छन् । रक्तदान कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सङ्कटको घडीमा रगतको अभाव टार्ने प्रयास गरेर क्लबले उदाहरणी कार्य गरेको बताए । ‘सामाजिक सङ्घसंस्थाले समाज सेवाको काम गर्नुपर्छ, आज रगतको अभाव भएका बेला दुई संस्थाले गरेको कार्यक्रमले समाजमा राम्रो सन्देश प्रवाह गर्छ’, न्यौपानेले भने । रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा लायन्स क्लब अफ नेपाल ३२५ बी–१ का पूर्वगभर्नर अशोककुमार श्रेष्ठ, दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले रगतदान पुण्यदान भएको चर्चा गरे ।

रगत अभावमा दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रका मिर्गौलापीडितलाई डायलासिसका लागि समस्या हुँदै आएको छ । नियमितरूपमा डायलासिस गराउँदै आएका मिर्गौैलापीडित रगत खोज्न आफैँ हिँड्नुपर्ने अवस्था आएको छ । मिर्गौला केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले निषेधाज्ञाका कारण रक्तदान नहुँदा उपचार केन्द्रमा रगत अभाव भएको जानकारी दिए । कतिपय मिर्गौलापीडितले पोखरासम्म पुगेर रगत ल्याउने गरेका छन् भने कतिपयले आफन्त वा चिनेजानेका व्यक्तिलाई रक्तदानका लागि ल्याउने गरेका छन् । केन्द्रमा हाल दैनिक ६३ जनाले डायलासिस गराइरहेका छन् । विसं २०७२ मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलोपटक डायलासिस केन्द्र स्थापना भएको थियो । केन्द्रले हालसम्म करिब २५ हजारभन्दा बढी पटक डायलासिस सेवा प्रदान गरेको छ । केन्द्रमा नौवटा डायलासिस गराउने उपकरण छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button