लकडाउन नजिक तनहँु !

दमौली खबर संवाददाता

छिमेकी मुलुक भारतमा दैनिक झन्डै ३ हजार हाराहारीमा मानिसको मृत्यु भएकोे समाचारसँगै शव सामूहिकरुपमा जलाएको तस्बिर सामाजिक सञ्जालमा यतिखेर भाइरल छ । सीमा नाका खुला रहेको नेपालमा पनि कोभिड–१९ ले अघिल्लो वर्षकै झल्को दिने महामारीको रुप लिँदै गएको पाइन्छ । स्वास्थ्य सुरक्षाको मापदण्ड फितलो हुँदा दजनौं जिल्लामा फेरि लकडाउन तथा निषेधाज्ञा भएका छन् । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको चेन ब्रेक गर्न संक्रमणको अवस्था हेरेर लकडाउन गर्न स्थानिय प्रशासनलाई निर्देशन दिएको छ ।

सरकारले पहाडमा २ सय र सहरी क्षेत्रमा ५ सय जना संक्रमित भएमा सम्बन्धित जिल्लास्थित डिसिसिएमसीले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको थियो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै स्वास्थ्य मन्त्रालयले तोकेको जोखिम जिल्लाको छिमेकीमा तनहँु पर्दछ । तनहँुको छिमेकी जिल्लामा रहेको कास्की र चितवनमा दिनहँु कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । हाल सम्म तनहँुमा सक्रिय संक्रमितको संख्या ७१ रहेको छ । यो तथ्यांक हेर्दा सिसिएमसीको गरेको सिफारिस अनुसार तनहँुमा निषेधाज्ञा नहुनु पर्ने हो । तर छिमेकी जिल्लामा बढ्दै गएको कोरोना संक्रमणको दर हेर्दा तनहँुले पनि उच्च सावधानी अपनाउनु पर्ने देखिएकाले निषेधाज्ञा हुने संकेत देखिएको छ ।

यसैबीच कोभिड जोखिम बढेको निष्कर्ष निकाल्दै तनहुँका स्थानीय तहहरुले तीन दिनभित्र निषेधाज्ञा जारी गर्न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा सोमबार बसेको बैठकले शुक्रबार देखि निषेधाज्ञा गर्न सिफारिस गरेको हो । बैठकले जिल्ला भित्र १५ भन्दा बढी व्यक्ति भेला हुने गरी धार्मिक तथा सार्वजनिक कार्यक्रम नगर्ने समेत निर्णय गरेको समितिका प्रमुख वाग्लेले जानकारी दिए ।

बैठकले जिल्लाका सबै पालिकाहरुले अक्सिजन लगायतका अत्यावश्यक स्वास्थ सामाग्रीहरु औषधि लगायत अन्य सामानहरु खरिद गरि भण्डारन गरि मौज्दात राख्ने निर्णय पनि गरेको छ । यस्तै, विकास निर्माणमा जिल्लाका सबै पालिकाहरुले बाहिरीबाट आउने जनशक्ति रोक्ने, नल्याउने साथै स्थानीय जनशक्ति मार्फत विकास निर्माणका कामहरू सुचारु गर्ने पनि बैठकले निर्णय गरेको समितिका प्रवक्ता गलबहादुर गुरुङले जानकारी दिए ।

यसैगरी, जिल्लाका सबै शिक्षण संस्थाहरुको पठनपाठन र परिक्षा पुर्ण रूपमा स्थगित गर्ने निर्णय पनि गरेको छ ।बैठकमा जिल्लाका १० वटै स्थानिय तहका प्रमुख उपप्रमुख प्रमुख जिल्ला अधिकारी सागर आर्चाय ,प्रहरी प्रमुख अरुण पौडेल लगायतको सहभागिता रहेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button