तनहुँका दुई सहित १८ विद्यालयले पाए नर्स सुविधा

दमौली खबर संवाददाता

तनहुँ, माघ १९ गते

गण्डकी प्रदेश सरकारबाट तनहुँका दुई विद्यालय सहित १८ वटा विद्यालयले नर्स सुविधा पाएका छन् । ‘विद्यालय नर्स कार्यक्रम’ अन्तर्गत सो सुविधा पाएका हुन् । हरेक विद्यालयमा एक नर्स एक कार्यक्रम राख्ने नीति अनुसार ति विद्यालय छनोट गरिएको हो ।

कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश भित्रका विभिन्न विद्यालय छनोटको लागि आवेदन माग गरेको थियो । प्रदेश सरकारको वार्षिक स्वीकृत कार्यक्रम अनुसार विद्यालय नर्स कार्यक्रम सञ्चालन गर्नको लागि १८ वटा विद्यालय छनोट गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गण्डकी प्रदेशका निमित्त सचिव उदयबहादुर पराजुलीले जानकारी दिनुभयो । सुविधा पाएका विद्यालयहरुमा पाचौं तहका नर्स (स्टाफ नर्स) रहने उहाँले जानकारी दिनुभयो ।

मन्त्रालयका निमित्त सचिव पराजुलीका अनुसार तनहुँबाट छनोटमा पर्नेमा आँबुखैरेनी गाउँपालिका–३ स्थित आँबुखैरेनी बजार स्थित रामशाह माध्यमिक विद्यालय र ऋषिङ गाउँपालिका–६ स्थित श्रृङ्ग माध्यमिक विद्यालय रहेको छ । मुस्ताङबाट थासाङ् गाउँपालिका–२ स्थित जन आर्दश अमर मावि परेको छ । मनाङबाट नासो गाउँपालिका–५ स्थित प्रकाश ज्योति मावि परेको छ । म्याग्दीबाट दरवाङ गाउँपालिका–स्थित जनप्रिय मावि परेको छ । पर्वतबाट मोदी गाउँपालिका–७ स्थित पशुपति मावि परेको छ । वाग्लुङबाट ताराखोला गाउँपालिका–४ स्थित नेपाल मावि र गलकोट–८ बाट जनजागृति मावि परेको छ । स्याङ्जाबाट वालिङ नगरपालिका–१० पूर्णामृत मावि र आँधीखोला–१ स्थित त्रिशहीद नमुना मावि परेको छ । कास्कीबाट पोखरा महानगरपालिको वडा नम्बर १४ स्थित शहीद स्मृति आवासीय मावि र वडा नम्बर १९ स्थित भारती भवन मावि छनोटमा परेको छ । यस्तै लमजुङको दुधपोखरी गाउँपालिका–२ स्थित बागेश्वरी मावि र मध्यनेपाल नगरपालिका–६ स्थित इशानेश्वर मावि परेको छ । गोरखाबाट पालुङटार नगरपालिका–७ को जीवनज्योति मावि र अजिरकोट गाउँपालिका–३ को चतुरमाला मावि परेको छ । नवलपुुर जिल्लाबाट विनय त्रिवेणी नगरपालिका–१ को भानुदय नमुना मावि र देवचुली–७ को भिमसेन आर्दश मावि परेको छ ।

पालिकाको आन्तरिक स्रोतबाट रामशाह माविमा नर्सको व्यवस्थापन गर्दै आएकोमा स्थायीरूपमा नर्सको दरबन्दी भएपछि सहज भएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । गाउँपालिकाले सबैभन्दा धेरै विद्यार्थी रहेको विद्यालयबाट नर्स कार्यक्रम सुरुआत गरेको थियो । बालबालिका घरबाहेक बढी समय विद्यालयमा रहने भएकाले यो सुविधा प्रभावकारी हुने भएकोले पालिकाले नर्स राखेको उहाँले जानकारी दिनुभयो । विद्यालयमै नर्सको व्यवस्था भएपछि विद्यार्थीले सामान्य स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थासम्म जान नपर्ने भएको छ । तनहुँका केही विद्यालयले आफ्नै स्रोतबाट नर्स राखेका छन् दमौली स्थित सत्यवती माध्यमिक विद्यालयले सात महिना अघि असार १ गते देखि नै बिएसी नर्सिङ उत्तीर्ण सुनिता जोशी मार्फत नसिङ सुविधा प्रदान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेले जानकारी दिनुभयो । व्यक्तिगत र वातावरणीय सफाइ तथा फोहरमैला व्यवस्थापन, स्वस्थकर जीवनशैली, सामान्य स्वास्थ्य परीक्षण र पोषणको लेखाजोखा गर्न नर्सलाई जिम्मेवारी नर्सलाई दिइएको अध्यक्ष काफ्लेले जानकारी दिनुभयो । विद्यालयमा विद्यार्थीको अत्यधिक चाप भएकोले विरामी भईरहने, घाईते हुने गरेकोले नर्स राखेपछि उपचारमा सहज भएको अध्यक्ष काफ्ले बताउनुहुन्छ । दुई हजार सात विद्यार्थी अध्ययन गर्ने भएकोले विरामी भईरहेकाले नर्सको अभाव महशुस भई नियुक्त गरिएको उहाँले जानकारी दिनुभयो ।

तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा स्थित पञ्चमुनीदेव माविले पनि नर्सिङ सुविधा प्रदान गरिरहेको छ । यस्तै दमौली स्थित शान्तिवर्ष अङ्ग्रेजी माध्यामिक विद्यालय पनि नर्सिङ सुविधा प्रदान गरेको छ । विद्यार्थीलाई प्राथमिक उपचार र स्वास्थ्य जानकारी लिन सहज हुने भएकोले नर्सिङ सुविधा प्रदान गरिएको विद्यालयले जनाएका छन् । ति विद्यालयमा नर्स सहित विद्यालयले प्राथमिक उपचारको लागि आवश्यक औषधी, औजार र उपकरणको अलगै कक्षको स्थापना गरिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button