आशावान् हुनुछ
आशावान् हुनुछ
कृष्णशरण उपाध्याय
……………………………………………………………
छन्द : शार्दूलविक्रीडित
……………………………………………………………
जो नैराश्य पिएर बस्छ उसले , के गर्छ संसार मा ?
जो वैराग्य लिएर बस्छ उसले , के गर्छ संसार मा ?
फुल्छन् फूल र फल्दछन् तरुहरू , चट्टान फोडी कन
गर्छन् वीर विशेष कर्म धरती – आकाश जोडी कन १
कालो बादल भित्र तेज बिजुली , चम्काउने हो यहाँ
सालै जू स्वर बाट आँगन पिँढी , झम्काउने हो यहाँ
औंसी झैँ मन भित्र हेर्नु कसरी , मुस्काउँदो चन्द्रमा ?
भत्केको मन को उदास झुपडी , गम्काउने हो यहाँ २
ज्यूँदो लाश हुने जुनै मनुज ले , के गर्छ संसार मा ?
मर्दो आश हुने जुनै मनुज ले, के गर्छ संसार मा ?
अर्का को भर पर्न हो र बलिया , गोडा मिलेको यहाँ ?
अर्का को मुख ताक्न हो र गतिला , औंला मिलेको यहाँ ? ३
छिर्छन् जीवन भित्र पागल बनी , आँधी हुरी हुण्डरी
घेर्छन् रोग र व्याधि ले छल गरी , प्राणै निलौंला सरि
त्यो बेला पनि आश का किरण ले,यो जिन्दगी बाल्नुछ
जानेछन् हर दु:ख का क्षण भनी , यो प्राण सम्हाल्नुछ ४
आफैं भित्र छ अग्नि को प्रखरता , बाल्यौं भने बल्दछ
आफैं भित्र तुषार को छ चुचुरा , ढाल्यौँ भने ढल्दछ
आँटी बन्नुछ कर्म – वीर हुन मा , त्यागी उदासीपना
खाटी बन्नुछ धर्म – वीर जग मा , अज्ञान नाशी घना ५