आशावान्  हुनुछ

आशावान्  हुनुछ

कृष्णशरण उपाध्याय

……………………………………………………………

छन्द  :  शार्दूलविक्रीडित

……………………………………………………………

जो नैराश्य पिएर बस्छ   उसले  , के   गर्छ   संसार मा ?

जो वैराग्य  लिएर बस्छ  उसले , के   गर्छ    संसार मा ?

फुल्छन् फूल र फल्दछन् तरुहरू , चट्टान   फोडी कन

गर्छन्  वीर  विशेष कर्म  धरती – आकाश   जोडी कन १

 

कालो  बादल भित्र  तेज  बिजुली , चम्काउने  हो यहाँ

सालै जू  स्वर बाट   आँगन पिँढी , झम्काउने  हो यहाँ

औंसी झैँ   मन भित्र  हेर्नु कसरी , मुस्काउँदो   चन्द्रमा ?

भत्केको  मन को  उदास  झुपडी , गम्काउने   हो यहाँ २

 

ज्यूँदो  लाश  हुने    जुनै  मनुज ले , के  गर्छ  संसार मा ?

मर्दो  आश  हुने   जुनै    मनुज ले, के   गर्छ   संसार मा ?

अर्का को  भर पर्न हो र बलिया , गोडा    मिलेको  यहाँ ?

अर्का को मुख ताक्न हो र गतिला , औंला मिलेको यहाँ ? ३

 

छिर्छन्  जीवन भित्र   पागल  बनी , आँधी  हुरी  हुण्डरी

घेर्छन्  रोग र  व्याधि ले  छल  गरी , प्राणै निलौंला सरि

त्यो बेला पनि आश का  किरण ले,यो जिन्दगी बाल्नुछ

जानेछन् हर दु:ख का  क्षण  भनी , यो प्राण सम्हाल्नुछ ४

 

आफैं  भित्र  छ  अग्नि को प्रखरता , बाल्यौं भने बल्दछ

आफैं  भित्र  तुषार को  छ  चुचुरा , ढाल्यौँ  भने  ढल्दछ

आँटी  बन्नुछ    कर्म – वीर   हुन मा , त्यागी  उदासीपना

खाटी   बन्नुछ   धर्म – वीर   जग मा , अज्ञान  नाशी घना ५

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button