दसैंको ऋण चुत्ता गर्न बालुवामा सुन खोज्दै तनहुँका बोटे समुदाय

दमौली खबर संवाददाता

दमौली, कात्तिक ३१

“आयो दसैं ढोल बजाई गयो दशैं ऋण बोकाई” भन्ने नेपाली उखान जस्तै तनहुँको व्यास नगरपालिका –१०, बोटेगाउँ, कुमालटारीका बोटे समुदायहरु दशैंमा लागेको ऋण तिर्न बालुवा सुन खोज्न नदी किनारतर्फ लागेका छन् ।

साहुसँग ऋण मागेर राम्रोसँग दसैं मनाउने र बालुवा सुन खोजेर ऋण तिर्ने परम्परा अनुसार बोटेहरु सुनखोज्न हिँडेका हुन् । कोजाग्रत पूर्णीमासँगैं दसैं सकिएपछि बोटेहरु सुन खोज्न प्रयोग हुने समान बोकेर बालुवा चाल्न नदी किनारा तर्फ लागेका हुन् । नदीको बालुवामा सुन खोजेर त्यही सुन सङ्कलन गरी त्यसको विक्रीबाट आएको पैसाले दसैं लगायत चाड पर्वको ऋण तिर्ने बोटेहरु बताउँछन् । पूर्णीमा सकिए लगत्तै दसैंको ऋण तिर्नको लागि केही बोटे नदी किनारतर्फ गईसकेको र केही जाने तयारी गरेको मेखबहादुर बोटेले बताउनुभयो । कालीगण्डकी, बुढीगण्डकी, मस्र्याङदी र त्रिशुली नदीको बालुवामा सुनका कणहरू भेटिने हुँदा त्यही सुन खोज्न नदी किनारातर्फ लागेको उहाँले जानकारी दिनुभयो ।

दसैंपछि नदीमा पानीको बहाव पनि कम हुने र बालुवामा सुन खोज्न सहज हुने हुँदा यो मौसम उपयुक्त हुने बालुवामा सुन चाल्नु हुने सोममाया बोटेले बताउनुभयो । नदीमा बालुवाको मात्रा कम भएकाले सुन खोज्न कठिन भएको बोटेहरूले बताएका छन् । “पहिलापहिला बालुवामा सुन धेरै पाइन्थ्यो, हिजोआज त्यति पाइँदैन । त्यसैले पेसाबाटै विस्थापित हुने अवस्था आएको छ,” कर्णबहादुर बोटेले भन्नुभयो ।

बोटे समाजका अध्यक्ष निरज माझीले नदीमा डोजर लगाएर बालुवा झिक्दा बालुवामा सुन पाउन मुस्किल भएको बताउनुभयो । “नदी किनारमा माटो देखिने अवस्थासम्म डोजर लगाएर बालुवा लैजान्छन् । ढुङ्गा पनि कम भएकाले बालुवा अड्किन पाउँदैन अनि सुन कसरी पाइन्छ ?” अध्यक्ष माझीले प्रश्न गर्नुभयो । सुनचाँदी पसलेकहाँबाट ऋण लिई दसैं मान्ने र सुन खोजेर ऋण तिर्ने बोटेहरूको प्रचलन भएको समाजका अध्यक्ष माझी बताउनुुहुन्छ ।

त्रिपाल, ओढ्ने ओछ्याउने र भाँडाकुँडा बोकेर नदी किनार आसपासमा बसेर बोटेहरू सुन खोज्ने गर्छन् । पानी धेरै परेर बाढी ठूलो आएका बेला बालुवामा धेरै सुन पाइने सुकमाया बोटेले बताउनुभयो । “बाढीपहिरो आएर सुन खानीमा धेरै ठक्कर दिँदा बालुवामा सुनको मात्र धेरै हुन्छ,” उहाँले भन्नुभयो । ३२ घर बोटे समुदाय रहेको र केटाकेटी र बूढाबूढीलाई घरमा छोडेर पाखुरीमा बल भएकाहरू सुन खोज्न जाने गरेको समाजका अध्यक्ष माझीले जानकारी दिनुभयो । व्यास नगरपालिका–५, पाटन र व्यास नपा–७, पाथ्राका बोटेहरू पनि सुन खोज्न जाने बोटे समाजले बताएको छ । वैशाखसम्म सुन खोज्ने र एक तोलादेखि डेढ तोलासम्म सुन वार्षिक रूपमा ल्याउने गरेको उनीहरूको भनाइ छ ।

बालुवा चालेर सुन निकाल्ने बोटेहरूको पुख्र्यौली पेसा भएको र हाल सुन कम पाइने, सुन व्यवसायीले राम्रो मूल्य नदिने लगायतले गर्दा पेसा सङ्कटमा पर्दै गएको बोटे गाउँ नजिकै दुम्सी निवासी शिक्षक श्रीकृष्ण आचार्यले जानकारी दिनुभयो । शैक्षिक स्तर कमजोर भएकाले अधिकांश बोटे आर्थिक रूपमा विपन्न रहेको जानकारी दिनुभयो । उनीहरूको सुन खोज्ने प्रविधिलाई पर्यटनसँग जोड्न सक्ने हो भने पर्यटनको नयाँ गन्तव्य हुने र बोटेहरूको जीवनस्तरमा परिवर्तन आउने आचार्य बताउनुहुन्छ । उक्त वडाका निर्बमान वडाध्यक्ष तुलसीराम सापकोटा पुख्र्यौली पेसाबाट हात धुनुपर्ने अवस्था आएकाले सुन खोज्ने आधुनिक प्रविधिको ज्ञान दिने, जथाभावी डोजर लगाउन दिन नहुने सुझाव दिनुहुन्छ । बालुवामा सुन खोज्ने पेशाबाट जीवन यापनको लागि कठिन भएकोले दुध धेरै दिने जर्सी गाई पालन गरी आम्दानी बढाउनु पर्ने सापकोटा बताउनुहुन्छ ।

Show More

Related Articles

Check Also
Close
Back to top button