बढी भाडा लिने कारबाहीमा

दमौली खबर संवाददाता

तनहुँ, कात्तिक ३१ गते

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले यात्रुसँग बढी भाडा लिने सवारीका सञ्चाकलाई कारबाही गरेको छ । चाडपर्वको समयमा यात्रुलाई अप्ठेरोमा पारेर बढी भाडा असुल गर्ने १२ सवारी साधनलाई कारबाही गरेको हो ।

बढी भाडा लिएका सवारीलाई एक हजारका दरले जरिवाना गर्नुका साथै बढी लिएको रकम फिर्ता गराइएको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख राजीव विष्टले जानकारी दिनुभयो । पहिलो पटक बढी भाडा लिनेलाई एक हजार, दोस्रो पटक लिएमा दुई हजार तेस्रो पटक लिएमा पाँच हजार जरिवाना हुने विष्टले बताउनुभयो । काठमाडौं र पोखरा जाने यात्रुसँग एक हजार भाडा लिएको र जहाँ झरेपनि एक हजार भाडा माग्ने गरेकोले पाईएको कारबाही गरिएको विष्टले बताउनुभयो । दसैंका लागि आवत जावत गर्ने यात्रुहरूसँग बढी भाडा लिनसक्ने भन्दै कार्यालयले विभिन्न ठाउँमा छड्के चेकपोष्ट राखेको छ ।

लामो दूरीका सवारी साधनलाई केन्द्रित गर्दै ट्राफिक प्रहरीले चेकिङ गर्दै आएको हो । १० वटा माईक्रो बस र दुई वटा बसलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सार्वजनिक सवारीसाधनले यात्रुबाट चर्को भाडा असुल्ने गरेको गुनासो आएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले बढी भाडा लिने सवारीसाधनलाई कारबाही गरी भाडा फिर्ता गराईएको ट्राफिक प्रमुख विष्टले जानकारी दिनुभयो । चाड–पर्वलाई लक्षित गर्दै यात्रालाई सहज र आरामदायी बनाउने उद्देश्यले तनहुँको छ स्थानमा यात्रु सहायता कक्षा सञ्चालनमा ल्याइएको कुनै समस्या परेमा सम्पर्क सकिने व्यवस्था मिलाईएको छ । चाडपर्वका क्रममा बढी भीडभाड हुने, बढी भाडा तिर्नु पर्ने र यात्रुले दुःख पाउने हुनाले उनीहरुको समस्या सम्बोधन गर्नको लागि सञ्चालनमा ल्याईएको कार्यालयले जनाएको छ ।

जिल्लाभित्र चल्ने सवारीसाधन र बाहिरबाट भित्रिने सवारीसाधनमा यात्रुलाई पर्ने समस्या समाधानका लागि कक्षको स्थापना गरिएको विष्टले जानकारी दिनुभयो । चाडबाडको समयमा बढी भाडा मागी यात्रु ठगिने, वृद्धवृद्धा, महिला, अपाङ्गता भएकालाई दिनुपर्ने सहुलियत तथा सेवा नपाउने, यात्रुको सामान हराउने, छुट्ने, मादक पद्धार्थ सेवन गर्ने एवम् सवारीमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम हुने लगायतका समस्या कम गराउन सञ्चालनमा ल्याईएको विष्ट बताउनुहुन्छ । चाडपर्वको बेलामा यात्रुले विभिन्न सास्ती पाउन सक्ने भएकोले पृथ्वीराजमार्ग अन्र्तगत आँबुखैरेनी, डुम्रे, दमौली, दुलेगौंडा र सहायक मार्गहरु भिमाद नगरपालिकाको भिमाद बजार र भानु नगरपालिकाको पुर्कोट, बाईसजाँगरमा ‘सहायता कक्ष’ स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।

चाडपर्वलाई लक्षित गरी जिल्लामा एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट पनि जिल्लाका विभिन्न स्थान तथा राजमार्गमा सुरक्षा गस्तीहरू बढाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अवदेश विष्टले बताउनुभयो । विभिन्न बहाना बनाई ठगी गर्नेदेखि सावधान हुन, ढोकामा झुण्डिएर वा छतमा बसेर जोखिमपूर्ण यात्रा नगर्न, अपरिचित व्यक्तिले दिएको कुनै पनि चिजबस्तु प्रयोग नगर्न र चालकले लापरवाहीपूर्ण तवरले सवारी साधन चलाएको, मादकपदार्थ, लागुपदार्थ सेवन गरेको पाइएमा तत्कालै प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।

Show More

Related Articles

Check Also
Close
Back to top button