सिङ्कीको सपना र माथिल्लो मुस्ताङ

संस्मरण

सिङ्कीको सपना र माथिल्लो मुस्ताङ

नवराज न्यौपाने ‘मौन’

 

माथिल्लो मुस्ताङको कोरल्ला नाकाको मुन्तिर रहेको चुङ्जुङ गाउँ पुग्दा अल्टिमीटरले ४२२० मीटर देखाइरहेको थियो । हामी योजना निरीक्षण ,सर्भेक्षण र नापजाँच ,मूल्याङ्कन आदि कार्य लिएर त्यहाँ पुगेका थियौं । घोडेटो बाटो ,काठेपुल ,सिंचाइकुलो र लघुजलविद्युत आदि योजनाको काम लिएर असारको शुरुवाततिर जोमसोममाथिका १० गाविसको लागि ३ हप्ताको कार्यक्रम लिएर हामी भिरपहरा र खोलानाला चिचोल्दै त्यहाँ पुगेका थियौं । हामी अर्थात् कार्यालय सहयोगी यम बहादुर पुर्जा र म । कुरा २०५४ साल असार महिनाको हो ।

चुङ्जुङ सानो र चिटिक्क परेको हिमाली बस्ती । हामीले सोधखोज गरेर गाविस ,जिविसबाट सञ्चालित र केन्द्रीय सारा योजनाहरु हेर्दै त्यहाँ पुगेका थियौं । भर्खरै मात्र हिउँ पग्लेर खेती लगाउने समय भएको थियो । कतिपय मानिस त लेकमा गोठमा गएका थिए । सम्वन्धित योजनाका उपभोक्ता समितिलाई भेटेर हामीले योजनाको नापजाँच गर्‍यौं । हरिया चौरहरुमा घोडा, खच्चड र झोपाहरु चरिरहेका थिए । चुङ्जुङ खोलाको माथिल्लो भेगमा पुग्दा याकका बथान भेटिए । फोटो खिच्न खोज्दा याकहरु तर्सेर भाग्न खोज्थे । त्यहाको उचाइ ४२४० मीटर देखिएको थियो । साँझमा सबै काम सकेर हामी बासको खोजीमा थियौं । त्यो बेला ल्होमान्थाङमा मात्र होटल खुलेका थिए । सन् १९९२ बाट मात्र उपल्लो मुस्ताङ (कागबेनी उत्तर ) पर्याटकको लागि खुला गरिएको थियो । त्यो पनि अप्रिलदेखि जुलाइसम्म मात्र । ट्रेकिङ रुट र बस्ने ठाउँँ निर्धारण गरेर मात्र यात्रा गर्नुपर्ने नियम थियो । हामी त सरकारी कर्मचारी भएकोले सबै गाउँ पुग्नुपर्ने। जहाँ पुग्दा साँझ पर्छ ,त्यही बसिन्थ्यो ।

चुङ्जुङ् गाउँका बासिन्दाहरु भेला भएर आआफ्ना समस्या र गुनासो पोख्न थाले । वर्षमा एक खेती हुने र त्यो पनि ९ महिना लाग्ने भएकोले धेरै मानिसहरु पशुपालन र जडिबुटी व्यापार गर्ने रहेछन् । पहिले तिब्बत स्वतन्त्र हुँदासम्म तिब्बती भूमिमा याकचौंरी चराउन र तिब्बतमा निर्बाध ओहोर्दोहोर गर्न पाइने रहेछ । ब्यापार र विहेवारी पनि चल्ने रहेछ । तर पछि तिब्बत चीनमा गाभिएपछि सिमानामा कडाइ गर्न थालियो ।

सन् १९५० अक्टुबर ७ तारिखमा माओ त्सेतुङको सेना तिब्बत पस्यो। सैनिकहरूले अक्टुबर १९ मा चाम्डु सहरबाहिरको क्षेत्र आफ्नो नियन्त्रणमा लिए।झन्डै आठ महिनासम्म चीनको कब्जा र बढ्दो दबावमाझ तिब्बतका धार्मिक नेता दलाई लामाले १७ बुँदे विवादित सहमतिमा हस्ताक्षर गरे। त्यसअनुसार तिब्बत आधिकारिक रूपमा चीनको भूभाग बन्यो।तर नोबेल शान्ति पुरस्कार विजेता दलाई लामा उक्त सन्धिलाई अमान्य मान्छन्। त्यो हस्ताक्षर एउटा असहाय सरकारमाथि दबाव दिएर इच्छाविपरीत गराइएको उनको तर्क छ।दलाई लामा सम्झौतामा हस्ताक्षर गर्दा १५ वर्षका थिए। चीनले उक्त प्रकरणलाई ‘शान्तिपूर्ण मुक्ति’ ठान्छ। तर निर्वासित तिब्बती समुदाय त्यसलाई ‘आक्रमण र कब्जा’ मान्छन् ।

अहिले आएर माथिल्लो मुस्ताङ (ल्हो घेकर )का सबै बासिन्दा धेरै अर्थमा तिब्बतासँग निर्भर भएका रहेछन् । घर बनाउन काठपात आदि तिब्बतबाट नै ल्याउने रहेछ्न् । नेपालका सबै हिमाली भेगमा धर्मगुरु दलाई लामाको फोटो सबैले राख्दा रहेछन् । यसै क्रममा सिङ्की गुरुङले आफ्नो कहानी सुनाए । उनी किशोर छदाँ चौरीगोठमा बस्थे । चौरी र भेडा डुलाउदै तिब्ब्बती भूमिमा पुग्दा उनी एकठाउँमा चिप्लिएर हिउँको खाडल (दरार ) मा फसें । कसैगरी निस्कन सकेनन् । तीन दिनसम्म कम्मर कम्मर हिउँमा डुबेर बसेका उनलाई अरु गोठालाले खोजेर निकाले । तर उनी अपाङ्ग भए । गोडा बाङ्गा भएर लङ्गडो जस्तै भए । अनि उनी घरमा आएर बसे भने उनकी श्रीमती गोठमा गएर बसिन् । यसै बेला गाविसमा नागरिकता टोली आयो र उनले नागरिकताको प्रमाण पत्र र अपाङ्ग असक्त भत्ता पनि पाए । तर गोठमा गएर बसेकी उनकी श्रीमतीले अहिलेसम्म नागरिकता बनाएकी छैनन् । ‘नकुली बनाको छैना , बुढी भए पनि भत्ता पाएन ।’ उनी दुखेसो पोख्छन् । ‘छोराछोरी छैना , नकुली पायो भने चौंरी बेचेर दुबै घरमा बस्छा । नकुली दिने टोली पठाइदेउ है सार । ‘

साँझमा हामी मुस्ताङ्गी राजाकी भान्जी ढोमा बिष्टको घरमा बस्यौं । उमेरले ७० नाघेकी उनी अविवाहित रहिछन् र झुमा बनेर लामा भाषा (तिब्बती) पनि पढेकी रहिछन् । उनले पनि मुस्ताङका दु:ख र यथार्थ पीडा बताएकी थिइन् । मुस्ताङका तल्लो भेगका थकाली र माथिल्लो भेगका गुरुङ जातिमा माहिलो छोरा लामा र महिली छोरी झुमा बन्ने प्रचलन रहेकोमा अहिले आएर त्यो चलन बिस्तारै हट्दै गएको उनले बताइन् ।

छोन्हुपको चुङ्जुङ गाउँबाट हामी छोसेरको आर्का भन्ने गाउँ गयौं । त्यो गाउँको पारीपट्टि बगरमा हाइस्कूल थियो -दिव्यदीप माद्यमिक विद्यालय । त्यो स्कूलको पनि आफ्नै कथा रहेछ । जोमसोम लगायत तल्लो भेगका छ गाविसहरुमा (थकाली समुदाय ) ५ वटा मावि रहेका तर माथिल्लो भेगका १० गाविसहरुमा एउटा पनि मावि नभएको हुँदा काठमाडौं तथा दार्जिलिङ गएर पढेर आएका व्यक्तिहरुले माविको माग गरे तर १० गाविसको लागि जम्मा एउटा मावि स्वीकृत भएर आयो । तर मावि खोलेर चलाउने कोही तयार भएनन् । दुर्गम कोटाबाट बुढानीलकण्ठ स्कूलबाट एसएलसी उत्तिर्न गरी बीएस्सी पास गरे आएका छोसेरका युवा शंखलाल गुरुङले आफ्नो गाउँमा मावि राख्न तयार भए र उनी त्यही विद्यालयमा पढाउन थाले । मुस्ताङी राजाका नातेदार र आफन्त भने काठमाडौं ,पोखरा र दार्जीलिङ गएर पढ्ने गरेका रहेछन् । शंखलाल पछि छोसेर गाविसको अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए ।

२०५१ सालमा तिब्बतबाट हिमताल फुटेर आएको बाढीले आर्का गाउँका ४६ घर बगाएको थियो । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा तनहुँँको ढोरफिर्दीमा ती मुस्ताङ्गीहरुलाई बसोबास गर्न दिइएको थियो । बाढीले खोलाको स्वरुप र बाटो परिवर्तन गरेकोले जघुजलविद्युत योजना नै रद्ध भएको थियो । छोसेरमा माटोका पहरोमा खोपेर बनाइएका घरहरु पनि प्रसस्तै थिए । एउटै गुफामा पाँच तला भएको र कोठाहरु पनि भएको छोसेरको गुफामा पहिले सबै मानिसहरु बस्ने गरेका रहेछन् ।

त्यसपछि हामी लोमान्थाङ आयौं र लोमान्थाङ गाविस सचिव घ्युर्मिवाङ्याल विष्ट ( ज्ञानेन्द्र ) को घरमा बस्यौं । चारैतिर पर्खाल लगाएर घेरिएको लोमान्थाङ गाउँ र मुस्ताङी राजाको दरबार हेर्न पर्यटकहरु आउन थालेका थिए । मैले पनि मुस्ताङी राजालाई भेटेर योजनाहरुको ब्रिफिङ गरेको थिएँ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले छोन्हुपबाट आएको शुरुहोरा कुलो र छोसेरबाट आएको चोप्राङ कुलोको पानी मिसाएर लघुजलविद्युत योजना सम्पन्न गरेको थियो । चराङमा भने यस अघि नै लघुजलबिद्युत योजना सम्पन्न भइसकेको थियो ।

त्यसपछ हामी पहराको बाटो हुँदै सुर्खाङ पुग्यौं । सुर्खाङको सुर्खाङ ,ढी ,यारा ,घारा हुँदै दामोदरकुण्ड जाने बाटो निर्माण भएको थियो । बाटोमा पहरा खोपेर बनाइएको कलात्मक लुरी गुम्बा पनि पर्यटकको निम्ति आकर्षणको केन्द्र बनेको थियो । दामोदर कुण्डमा भने फलामबाट फेब्रिकेशन गरी मन्दिर बनाएर लगिएको थियो ।

त्यसपछि हामी धे ,ताङ्ग्या हुँदै छुसाङ् निस्कियौं । ताङ्यामा त पहिले मुस्ताङ विद्रोह (२०३० साल) तिब्बती शरणार्थी विद्रोहीहरुले एअरपोर्ट बनाएर हतियार सञ्चय गर्ने गरेका रहेछन् । छुसाङ् पारी रहेको धुम्बाधाङ गुम्बा पनि निकै आकर्षक रहेछ । मुस्ताङका धेरैजसो गुम्बाहरुमा बिशाल बुद्धका मुर्तिहरु भेटिन्छन् र ती मूर्तिहरु कसरी आए र कसरी बने भन्ने अनेक किम्बदन्तीहरु भेटिन्छन् ।

अनि हामी तेताङ घुमेर ताङ्वे आएर कर्म ढतुल गुरुङको घरमा बस्यौं । पहाडको वारीपारी रहेका तेताङ र ताङ्वे गाउँमा पानी आउने खोला भने एउटै रहेछ । नर्सिङ खोलाको कुलोले तेताङ गाउँको आधा जमीन मात्र ओगट्दो रहेछ । कुलो माथिको जमीनलाई लेकबाट ताङ्वे गाउँ झर्ने  खोलाबाट कुलो बनाएर ल्याउने गरिएको रहेछ । पहिले तेताङ गाउँका मान्छेले खोलामा पाइप सिमेन्ट प्रयोग गरी कुलो बनाएर लगेपछि ताङ्वे  गाउमा पानीको अभाव भएछ र उनीहरुले पाइप काटिदिए र ट्याङ्की फुटाइदिए । अनि झगडा र विबादले उग्र रुप लियो । कसैले सुल्झाउन सकेनन् र त्यो घटना तात्कालीन गण्डकी अञ्चलाधीश लक्ष्य बहादुर गुरुङ समक्ष पुग्यो । अनि उनले साप पनि मर्ने र लठ्ठी पनि नभाँचिने गरी फैसला सुनाएछन् – ‘परम्परादेखि चलिआएका दुवै कुलोलाई रोक्न नमिल्ने देखिन्छ । तर उक्त कुलोमा पाइप, सिमेण्ट र डुँड प्र्योग नगरी ढुङ्गा  माटोले मात्र थुनेर लान पाइनेछ । ‘ यो फैसलाले दुबै गाउँको चित्त बुझ्यो र दुबै कुलोमा आधा आधा पानी झर्यो । अहिले आएर जलबायु परिवर्तनको असरले गर्दा मुस्ताङका धेरै गाउँहरुमा पानीको अभाव हुन थालेको छ । धेरै गाउँमा पानी सानो हुँदा पोखरी बनाएरा जम्मा गर्ने र पोखरी भरिएपछि सिंचाइ गर्ने गर्दछन् । ताङ्वे गाउँमा सिँचाइ गर्न पानी अपर्याप्त भएपछि इन्जिनियरहरु सहितको टोलीले पानीको श्रोत अध्ययन गर्न लेकमा १-२ दिनको अध्ययन गर्‍यो तर पानीको श्रोत र मुल भेट्न सकेन ।

हिमाली भेगमा गाविसको सिमाना छुट्ट्याउन गाह्रो हुने रहेछ । नक्शामा देखाइएको भाग कहाँ पर्छ भनेर अनुमान गर्न गाह्रो हुदोरहेछ । अझ वडाको सिमाना क्चुट्ट्याउन झनै गाह्रो । सबै वडा एउटै गाउँमा हुन्छन् । गाउँको ठेगानामा मात्र वडा खुलेको हुन्छ । अरु खाली भाग ,खर्क ,हिमाल ,भिर पहरा सबै सार्वजनिक हुन्छन् । एउटै वडाका पनि दुई तीनवटा क्षेत्रफल हुन्छन् । यसले गर्दा बिकास निर्माण कार्य र भूउपयोगको मामिलामा विवाद आइरहने गर्छ ।

मुस्ताङ बनजङ्गल कम भएको जिल्ला हो । यहाँ जिल्ला बन कार्यालय पनि स्थापना भएको छैन । माथिल्लो मुस्ताङमा गोबर र भेडाबाख्राको बड्क्यौला (जुत्तो ) लाई खाना पकाउन चुल्होमा प्रयोग गरिन्थ्यो । खेतबारीमा खोलाले बगाएर ल्याएको माटो मलको रुपमा हाल्ने गरिन्थ्यो । तर अहिले जीवनशैलीमा धेरै परिवर्तन आएको छ । तर पशुपालन र कृषिप्रणाली कायम राख्न भने धेरैलाई धौधौ हुने गरेको छ । माथिल्लो मुस्ताङको ३ हप्ते भ्रमणबाट नेपालको मरुभूमिका रोचक कथाहरु सुन्न र देख्न पाइयो । अहिले सम्झन्छु , चुङ्जुङका सिङ्कीले बुढीको नागरिकता बनाए कि बनाएनन् होला ? लोमान्थाङको ‘तिन्जी’ पर्व र मुक्तिनाथको ‘यार्तोङ’ पर्वमा युवा सहभागिता उस्तै छ कि छैन ? ढुम्बाताल नजिकै रहेको कुछप तेरङ्गा गुम्बामा धेकप पर्वमा लामा नाच नाच्ने युवाहरु विदेशिए कि गाउँमै होलान् ? अनि मूलबाटो त पोखरादेखि चीनसम्म जोडीए पनि ज्यानको बाजी लगाएर हिंड्नुपर्ने ती दूरदराजका गाउँहरुमा अब बाटो पुग्यो कि पुगेन होला ?

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button