कलाकार शाह एक वर्ष पछि थुनामुक्त भए

दमौली खबर संवाददाता

तनहुँ, फागुन १६ गते

बाल यौन दुरुचार गरेको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागरामा एक वर्ष अघि देखि थुनामा रहेका नायक पूर्णविक्रम शाह(पल) सोमबार रिहा हुनु भएको छ । यौन दुरुपयोगको आरोपमा नवलपुर जिल्ला अदालतबाट दोषी ठहर भएका कलाकार शाहलाई उच्च अदालत पोखराले आईतबार सफाई दिएपछि नायक शाह थुनामुक्त हुनुभयो । कायमुकायम मूख्य न्यायधीश डिल्लीराज आचार्य र न्यायधीस श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोग दाबी नपुगेको भन्दै सफाई दिएपछि नायक शाह थुनामुक्त हुनु भएको हो ।

उच्च अदालत पोखराले नवलपुर अदालतको अभियोग दाबीबाट सफाई पाउने फैसला भएकोले थुनामुक्त गर्नु भन्ने पत्र पठाएकोले सोमबार थुनामुक्त गरिएको तनहुँ कारागारका प्रमुख नारायणप्रसाद अधिकारीले बताउनुभयो । शाहको बैनी रोशनी शाहलाई जिम्मा लगाएर(बुझाएर) थुनामुक्त गराईएको अधिकारीले जानकारी दिनुभयो । उच्च अदालतले बाल यौन दुरुपयोग ठहर गर्नुपर्ने आधार मिलेन भनेर सफाई दिएको शाहका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिनुभयो ।

नवलपुर जिल्ला अदालतले भदौ २१ शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुव्र्यवहारको अभियोगमा साढे २ वर्षको कैद सजाय र पीडितलाई १० लाख रुपियाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरे पछि नायक शाहले उच्च अदालत पोखरामा दिएको रिट निवेदन दिनु भएको थियो । सो रिट निवेदन माथि कामु मुख्य न्यायाधीश आचार्य र न्यायधिस पुडासैनीका बेञ्चमा बहस पैरवी भई आईतबार सफाई दिएको थियो ।

गत फागुन ११ गते बालिकाका बुबाले आफ्नी बालिका छोरीमाथि शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिनु भएको थियो । शाह फागुन १५ गते उक्त प्रहरी कार्यालयमा आफै सम्पर्कमा आउनु भएको थियो । पहिले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिए पनि पछि पीडित भनिएकी बालिका र उहाँका बुबाले समेत दुवै अदालतमा बलत्कार हैन भनि बयान फेर्नु भएको थियो ।

जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाइ माघ ३ गते सफाइ दिएको थियो । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको थियो । नायक शाह थुनामुक्त हुने खबर पाएसँगै सोमबार विहान देखि राजधानी लगायत विभिन्न स्थानबाट कलाकारहरु, उहाँका शुभचिन्तकहरु भेट्नको लागि ठुलो भिड लागेको थियो । थुनामुक्त भएपछि खुसी हुँदै नायक शाहले कलाकारितालाई निरन्तरता दिने बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button