बिरामीको घाउँमा मलम लगाउँदै तनहुँ समाज हङकङ

दमौली खबर संवाददाता

दमौली, फागुन १६

तनहुँ समाज हङकङ आर्थिक कठिनाईले उपचार गर्न कठिन भएका व्यक्तिहरुलाई मद्धत गर्दै आएको छ । यस क्रममा समाजले सोमबार तनहुँकी एक मृगौली खराब हुनु भएकी एक महिलाको उपचारको लागि सहयोग गरी विरामीको घाउमा मलम लगाएको छ ।

सहयोग पाउनेमा व्यास नगरपालिका–८ मगरजौबारीकी २५ वर्षीया प्रिती गुरुङ राना हुनुहुन्छ । सहयोग पाएपछि विरामीका परिवार खुसी भएका छन् । ‘उपचारको क्रममा आफ्नो सबै सम्पत्ति सकिएको अवस्थामा समाजले सहयोग गर्दा साक्षात भगवान भेटे जस्तो भो’ प्रीतिले भन्नुभयो ।

समाजले सोमबार दमौलीमा एक कार्यक्रमका बीच दुई लाख ४६ हजार ६ सय ५० आर्थिक सहयोग गरेको छ । तनहुँ समाज हङकङका निवर्तमान अध्यक्ष जंग बहादुर थापा, पूर्व अध्यक्ष भीमराज गुरुङ र सचिव सुवित गुरुङले बिरामी प्रीतिलाई सहयोग हस्तान्तरण गर्नुभयो । सो अवसरमा निवर्तमान अध्यक्ष थापाले दुः ख पीडामा परेको खबर समाजलाई प्राप्त हुनासाथ आफ्नो क्षमता अनुसार सहयोग संकलन अभियानमा जुटेर मद्धत गरेको बताउनुभयो । पूर्व अध्यक्ष गुरुङले १९९९ देखी समाजले तनहुँको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र भविश्यमा पनि गर्ने बताउनुभयो ।

सुरुका दिनमा शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएकोमा पछिल्लो समय स्वास्थ्य क्षेत्रमा सहयोग गरिएको समाजले जनाएको छ । रकम समाजका सचिव सुवित गुरुङको संयोजकत्वमा संकलन गरिएको थियो । हङकङमा रहेका तनहुँ जन्मिएकाहरुले आफ्नो कमाइबाटै क्षमता अनुसार सहयोग गर्दै आएकाले पीडितहरुलाई सहयोग गर्न सकिएको उहाँले बताउनुभयो । समाजले भुकम्पपछिको पूननिर्माण, बाढी पहिरो जस्ता दैवि प्रकोपबाट पीडित, विभिन्न स्वास्थ्य समस्याबाट पीडितलाई सहयोग गर्नुका साथसाथै तनहुँको शिक्षा, स्वास्थ्य र खानेपानी, सञ्चार सम्बन्धि पूर्वाधार बिकास तथा प्रवद्र्धनमा समेत सहयोग गर्दै आएको छ ।

समाजले गत भदौमा ऋषिङ गाउँपालिका –७ निवासी ४३ वर्षीया मुटुरोगी चन्द्रमाया नेपालीलाई १ लाख ७९ हजार ४ सय ६० रुपियाँ आर्थिक सहयोग गरेको थियो । मुटुमा प्वाल परेर १४ वर्षदेखि निरन्तर औषधि सेवन गर्दै आउनुभएकी उहाँको केही समय अघि शल्यक्रिया गरिएको थियो । थप औषधि र अन्य पौष्टिक आहारका लागि आर्थिक अभाव परेपछि समाजलाई सहयोगका लागि अपिल गरेको बिरामीका श्रीमान् डोलराज नेपालीले बताउनुभयो ।

विगत १० वर्षदेखि तनहुँको शिक्षा, स्वास्थ्य, खानेपानी र दैवीप्रकोप लगायतका क्षेत्रमा सहयोग गर्दैआएको समाजले पछिल्लो समय विभिन्न गम्भीर प्रकृतिका रोगबाट ग्रसित बनेका बिरामीको उपचारमा सघाउँदै आएको समाजका कार्यक्रम संयोजक प्रदीप काफ्लेले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button