व्यासका विद्यालयमा वार्षिक परीक्षा नहुने

दमौली खबर संवाददाता
व्यासका विद्यालयहरुमा वार्षिक परीक्षा नहुने भएको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको कार्यपालिका बैठकले कोरोना महामारीका कारण भौतिकरुपमा परीक्षा सञ्चालन गर्न असम्भव भएकाले यसपूर्व सञ्चालन गरेका त्रैमासिक, अर्धवार्षिक परीक्षा एवं आन्तरिक मूल्यांकनका आधारमा मूल्यांकन गरी जेठ मसान्त सम्म नतिजा प्रकाशन गर्न निर्देशन गरेको छ । व्यासमा कतिपय निजी स्कुलहरुले यसअघि नै वार्षिक परीक्षा सञ्चालन गरिसकेका छन् । वार्षिक परीक्षा सञ्चालन गरेका स्कुले शुल्क उठाइसकेका छन् । बाँकी स्कुलले परीक्षाका बेला शुल्क उठाउने गौंडो कुरेर बसेका थिए ।

ती निजी स्कुलहरु भने मर्कामा पर्नेछन् । त्यसो त सरकारी स्कुलहरुमा पनि अंग्रेजी कक्षाका नाममा शुल्क उठाउने गरिएको छ । निजी स्रोतका शिक्षकको तलब खाने बाटो पनि यही नै हो ।त्यस्तै बैठकले कोरोनाबाट मृत्यु हुने विपन्न परिवारलाई रु १० हजार उपलब्ध गराउने निर्णय गरेको छ । कोरोना सङ्क्रमणबाट मृत्यु हुने विपन्न परिवारलाई शवबाहन र काजकिरीया खर्चवापत जनही रु १० हजार उपलब्ध गराउने निर्णय गरेको हो । सम्बन्धित वडाको सिफारिशमा मृत्यु भएकाको परिवारलाई राहत दिने निर्णय भएको हो ।

त्यस्तै कोभिड–१९ सङ्क्रमित भई उपचाररत विपन्न एवं मजदुर परिवारलाई रु पाँच हजार उपचार एवं सुविधा उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख न्यौपानेले बताए । सबै पालिकाहरुको सहभगितामा गत वर्षको प्रतिबद्धताअनुसार व्यास–१० दुम्सीबजारस्थित आधारभूत स्वास्थ्य केन्द्र रहेको भवनमा पिसिआर परीक्षण प्रयोगशाला निर्माण गर्न भएको निर्णय बैठकले अनुमोदन गरेको छ । उक्त भवनमा खरिद ऐनअनुसार खरिद एवं निर्माण प्रक्रिया अघि बढाउन कार्यालयलाई निर्देशन दिने निर्णय भएको छ ।

आगामी वार्षिक कार्यक्रममा नगरपालिकाको नगर अस्पताल स्थापना गर्न र आफ्नै अक्सिजन प्लान्ट निर्माण गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सहकार्यका लागि आह्वान गर्ने निर्णयसमेत बैठकले गरेको छ । नगरपालिकाले कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार कार्यमा खटिने कर्मचारीलाई कार्य प्रकृति र त्यसको जोखिमलाई मध्यनजर गरी भत्ता उपलब्ध गराउने भएको छ । शुरु तलब स्केलमा २५ देखि १०० प्रतिशतसम्म जोखिम भत्ता उपलब्ध गराउने निर्णय भएको छ ।

नगरपालिकाले विपद्जन्य प्रतिकार्य योजना तयार पार्ने र गत वर्ष बाढीपहिराले घर भत्किएका ७७ घरपरिवारलाई राहत दिने सम्बन्धमा सङ्घीय सरकारको निर्देशिकाबमोजिम तत्काल सहयोग उपलब्ध गराउने प्रक्रियाबारेमा सम्बन्धित निकायमा समन्वय गरी अगाडि बढाउने निर्णय भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button