रोटरी क्लबद्धारा सिमान्तकृत चेपाङ लगायतका बालबालिकालाई सहयोग

दमौली खबर संवाददाता

तनहुँ, माघ ९

रोटरी क्लब अफ दमौलीले सोमबार सिमान्तकृत चेपाङ बालबालिकालई सहयोग प्रदान गरेको छ । यास नगरपालिका वडा नं ११ स्थित राम्चे र भानु नगरपालिका वडा नं ६ मान्द्रेका सिमान्तकृत चेपाङ, दलित र आर्थिक विपन्नता भएका बालबालिकालाई क्लबले पोशाख तथा स्टेशनरी समान सहयोग गरिएको क्लबले जनाएको छ ।

राम्चे स्थित सुर्योदय प्रावि र मान्द्रे स्थित कालिका प्राविमा पढने आर्थिक विपन्नता भएका बालबालिकालाई विद्यालय पोशाक, शैक्षिक सामग्री र व्यक्तिगत सरसफाइ सामग्री प्रदान गरिएको क्लबका अध्यक्ष रामलाल श्रेष्ठले जानकारी दिनुभयो । ६९ जना बालबालिकालाई सहयोग गरिएको कार्यक्रमका संयोजक क्लबका पूर्व अध्यक्ष रजिनलाल श्रेष्ठले बताउनुभयो ।

सुर्दोदयका ३२ जना बालबालिका सबैलाई र कालिकाका ६१ जना मध्ये आर्थिक अवस्था कमजोर भएका ३९ जना बालबालिकालाई ट्रयाक सुट,कापी, कलम, ब्रश, मन्जन, साबुन लगायतका सामग्री सहयोग गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

आर्थिक अवस्था कमजोर भएर बालबालिकाहरु शिक्षाको अवसरबाट बञ्चित हुने अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले विशेष गरी चेपाङवस्तीका बालबालिकालाई लक्षित गरी सहयोग गरिएको रोटरी क्लब अफ दमौलीका संस्थापक अध्यक्ष रामचन्द्र पोख्रेलले बताउनुभयो ।

रोटरी क्लबमा आवद्ध सदस्यहरुले आफ्नो केही खर्च कटाएर बालबालिकाको पठनपाठनमा योगदान गरेको उहाँले बताउनुभयो । विश्वमा पोलियो उन्मुलन, सारक्षरता दर वृद्धि, आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँचलाई केन्द्रमा राखेर रोटरीले कार्यक्रम गर्दै आएको उनले बताए । उनले भने ‘यो धन भन्दा पनि मन ठुलो भएकाहरुको समाजिक संस्था हो, हामी त्यस्तै दुख, अभाव र पीडामा मलम लगाउन एकीकृत भएका हौं’ ।

गास, बास र आवासकै लागि सर्घष गरी रहेका चेपाङबासीहरुको अवस्था सुधारका लागि रोटरीले स्थानीय सरकारसँग समन्वय गरी निरन्तर पहल गर्ने योजना समेत बनाएको छ । आम्दानीको कुनै भरपर्दो स्रोत नहुदाँ ज्याला मजदुरीकै भरमा बिहान–बेलुकीको छाक टार्दै आएका चेपाङहरुको अवस्था सुधारका लागि कुनै ठोस योजनाका साथ अघि बढ्ने क्लबका निवर्तमान अध्यक्ष दिनेशकुमार श्रेष्ठले बताउनुभयो ।

स्थानीय सरकारसँग समन्वय गरी त्यस ठाउँका बासिन्दामा चेतनाको स्तर वृद्धि, आर्थिकस्तर उकास्न सीपमुलक तालिम, सरसफाइ लगायतका पक्ष सुधारका लागि रोटरीले क्लबमा छलफल गरी आगामी कार्यक्रम अगाडी बढाउने उहाँको भनाई थियो ।

न्यानो कपडा अभावमा बालबालिकाहरु कठांग्रिदै विद्यालय आउने गरेको कालिका प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । कतिपय बालिकाहरुलाई नियमित बिद्यालय आउन समेत समस्या परीरहेको अवस्थामा क्लबले गरेको सहयोग अति उपयोगी सिद्ध भएको श्रेष्ठले बताउनुभयो । यसले बालबालिकालाई नियमित विद्यालय आउन प्रेरित गर्नुका साथै पठनपाठनमा सहयोग पुग्ने विश्वास क्लबले गरेको छ ।

ज्याला मजदुरीकै भरमा दैनिक गुजारासँगै आफ्ना बालबालिकालाई विद्यालय पठाउनु पर्ने बाध्यता रही आएकाले अभिभावकले बालबालिकालाई अति सामान्य सुविधा पनि दिन नसकेको स्थानीय गोकुल दुराले बताउनुभयो । शरिरमा एक सरो कपडाको भरमा खाली खुट्टा विद्यालय आउनुपर्ने सो ठाउँका बालबालिकाहरुको बाध्यता रहेको छ । गाउँमा सरसफाइको अवस्था ज्यादै नाजुक छ । सोही अवस्थालाई मध्येनजर गरी क्लबले आजै व्यक्तिगत सरसफाइको आधारभूत ज्ञान पनि बालबालिकालाई प्रदान गरेको थियो । साबुन पानीले हात धुने तरिका, मुख, दाँत कपाल, नङ लगायत शरिरका अंगहरुको सरसफाइ गर्ने तरिका बारे बालबालिकालाई प्रशिक्षण पनि दिइएको क्लबका पूर्व अध्यक्ष हरिसिं गुरुङले जानकारी दिए । साथै बालबालिकालाई व्यक्तिगत सरफाइका लागि आवश्यक पर्ने सामग्री पनि प्रदान गरिएको थियो ।

चेपाङ गाउँका अधिंकाश बालबालिकाले मंजन र ब्रश आफुहरुलाई नयाँ भएको समेत अभिव्यक्ती दिए । कालिका प्राविमा कक्षा ५मा अध्ययनरत चन्द्र कुमारीले भनिन् त्यसको प्रयोग मैले आजसम्म गरेको छैन । उनले सिकेको कुरा आजैबाट लागु गर्ने भन्दै खुशी व्यक्त गरिन् ।

सुर्योदयका ३२ जना विद्यार्थीमा चेपाङ समुदायका मात्र २६ जना छन् भने कालिकाका ६१ जनामा १६ जना जना चेपाङ बालबालिका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button