खलनायकलाई प्रश्न

खलनायकलाई प्रश्न
– दीपेन्द्रसिंह थापा
नितान्त नवीन युगको
एउटा पुरातन नायक
आज किन
सडकै ढाक्ने गरी हिड्न खोज्छ
आज किन
आफैँमा यस्तो विरोधाभास
आज किन
आफैँमा यस्तो बकबास !
कस्तो व्यङ्ग्यचित्रजस्तै
कस्तो हस्सिमजाकजस्तै
चढेको छ
पाषाणकालीन मानसिकताको बिर्खे घोडा
र, बजाउँदै छ
एकदमै नसुहाउँदो गरी
अहङ्कारै अहङ्कारका टापहरू मात्र
पहिरेको छ
पुरानो न पुरानो धङधङीको असामयिक पोसाक
र, छाड्दै छ
एकदमै चित्त नबुझ्दो गरी
अपशकुनै अपशकुनका छापहरु मात्र।
केबल विडम्बनाहरुबीच
केबल विसङ्गति र बिप्ल्याटाहरुबीच
थाहा भएर पनि थाहा छैन झैँ उसलाई
थाहा नभएर पनि थाहा छैन झैँ उसलाई
आजको समय
उसको आदिम घोडचढीभन्दा
धेरै गुनाले छिटो हिँड्न सक्छ
आजको समय
उसको गतिहीन गणितभन्दा
अथाह गतिले टाढा बढ्न सक्छ।
समय त आफैँभित्र तेजिलो गति पनि हो
अघि बढ्छ बढ्छ
समय त आफैँभित्र
नवीताको अन्तहीन आयाम पनि हो
अघि बढ्छ बढ्छ
आज किन
एउटा पुरातन नायक बाटो छेक्न तम्सदै छ ?
चेतनाको यो बिहानमा
उज्यालोको यो आगमनमा
साँच्चै सम्भव छ र
यस्तो असमयको भास ?
साँच्चै सम्भव छ र
यस्तो फैलावटबिनाको आकाश ?
Share

25

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button