सङ्क्रमितलाई पौष्टिक आहार र स्वास्थ्य सामग्री

राष्ट्रिय समाचार समिति
विभिन्न स्थानीय तहका जनप्रतिनिधि पौष्टिक आहार र स्वास्थ्य सामग्री लिएर कोरोना सङ्क्रमित भेट्न पुगेका छन् । सङ्क्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिने उद्देश्यले जनप्रतिनिधिले सो अभियान थालेका हुन् । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा सङ्क्रमितलाई भेट्न स्वास्थ्य सामग्रीसँगै घरघरमै पगेका छन् । बन्दीपुर–२ र ३ का ३५ घरमा पुगेर सङ्क्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै मास्क र केही औषधि वितरण गरेको उनले जानकारी दिए । ‘सङ्क्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै हौसला बढाउन घरदैलो गरिएको हो’, उनले भने, ‘सबैको स्वास्थ्य अवस्था सामान्य नै छ ।’

बन्दीपुर–३ रामकोटका सङ्क्रमित विकास निर्माण कार्यमा सहभागी भएका छन् । चार सङ्क्रमित घरबासको प्रवेशद्वार निर्माणमा खटिएका छन् । स्वास्थ्य मापदण्ड अपनाई दूरी कायम गरी उनीहरु विकास निर्माणका काममा खटिएको अध्यक्ष थापाले जानकारी दिए । शुक्लागण्डकी नगरपालिका–८ ले सङ्क्रमितलाई घरमै पुगेर पौष्टिक आहार वितरण गरेको छ । सङ्क्रमितलाई हौसला बढाउन र स्वास्थ्य अवस्था बुझ्न वडाले घरमै पुगेर पौष्टिक आहार प्रदान गरेको हो । स्वास्थ्यकर्मी, टोलका अध्यक्षको सहभागितामा होम आइसोलेशनमा रहेका सङ्क्रमितलाई स्वास्थ्य अवस्था बुझ्दै भिटामिन सी, भिटामिन बी कम्प्लेक्स, मास्क, स्यानिटाइजर, थर्मोमिटर, अक्सिमिटर, ग्लोभ्स, प्यारासिटामोलका साथै हर्लिक्स, जुस प्रदान गरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए ।

होम आइसोलेशनका लागि राज्यले तोकेको न्यूनतम मापदण्डसमेत पु¥याउन नसक्दा पनि जनता आफैँ स्थानीय स्रोतसाधन प्रयोग गरेर बसेको उनले बताए । ‘छिमेकी र समाजले हेयको नजरले हेरेको बेला जनप्रतिनिधि तथा स्वास्थ्यकर्मी पुगेर हौसला प्रदान गर्दा उनीहरुले खुशी व्यक्त गरे’, उनले भने । यस वडामा १० जना सङ्क्रमित होम आइसोलेशनमा छन् । यसैगरी जिल्लाको देवघाट गाउँपालिकाभित्र सङ्क्रमित भएकाको हौसला बढाउन गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले घरदैलो अभियान शुरुआत गरेका छन् । सङ्क्रमणपछि होम आइसोलेशनमा रहेका सर्वसाधारणको अवस्था बुझ्न घरदैलो अभियान शुरु गरेको उनले बताए । ‘होम आइसोलेशनमा रहँदा स्वास्थ्य अवस्था के कस्तो छ भन्ने जानकारी लिन घरघरमै पुग्ने अभियान शुरु गरेका हौँ’, उनले भने, ‘यसले सङ्क्रमितको हौसला बढाउन पनि सहयोग पुग्ने विश्वास लिएको छु ।’

घरदैलोमा पुग्दा सङ्क्रमितलाई आवश्यक स्वास्थ्य सामग्रीसमेत प्रदान गर्ने गरिएको छ । सामाजिक दूरी कायम गरी सङ्क्रमितलाई भेट्ने गरिएको छ । देवघाटमा हाल १२ सक्रिय सङ्क्रमित छन् । सङ्क्रमितमध्ये देवघाट –५ मा १०, देवघाट–१ र २ मा एक÷एक जना छन् । सबै सङ्क्रमित होम आइसोलेशनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको गाउँपालिकाका स्वास्थ्य शाखाप्रमुख प्रदीप बुढाथोकीले जानकारी दिए । देवघाटलाई कोरोनाबाट सुरक्षित राख्न विभिन्न प्रवेश नाकामा अनावश्यक रुपमा आवतजावत गर्नेलाई प्रवेश निषेध गरिएको छ ।

देवघाट–५ भित्र धार्मिक तथा पर्यटकीय देवघाटधाम रहेको र तीर्थालुको आवतजावत हुन सक्ने भएकाले सम्भावित प्रवेश नाकाहरुमा कडाइ गरिएको वडाध्यक्ष यालबहादुर गुरुङले जानकारी दिए । तनहुँको आँबुखैरेनी गाउँपालिकाले कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्था बुझ्न घरदैलो गरेको छ । कोरोना सङ्क्रमण भएर होम आइसोलेशनमा बसेका सङ्क्रमितको हौसला बढाउन र स्वास्थ्य अवस्थाबारे जानकारी लिन गाउँपालिकाले घरदैलो गरेको हो । गाउँपालिकाका अध्यक्ष थापा,
स्वास्थ्य शाखाप्रमुख उपाध्याय, वडा नं ३ का सदस्य दिनेश केसी लगायतको टोलीले सङ्क्रमितलाई दूरी कायम गरी भेटघाट गरी
स्वास्थ्य अवस्थाबारे जानकारी लिएको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button