कालिकोटमा कहर काट्दा
संस्मरण
कालिकोटमा कहर काट्दा
नवराज न्यौपाने ‘मौन’
२०५६ साल असारमा म ओदानकु विद्युतीकरण योजनाको निर्माण कार्य सञ्चालनको लागि डिल्लीकोटमा बसेको थिएँ । त्यही बेलामा जिल्ला परिषद हुने भएछ र कार्यालय सहयोगी कालीबहादुर रावल मलाई लिन डिल्लीकोट आइपुगे । निर्माण कार्य केही दिनको लागि थाँती राखेर हामी मान्म खाँडाचक्र फर्किने भयौं । डिल्लीकोटबाट खाँडाचक्र पुग्न कस्सिएर हिड्दा पुरा एक दिन लाग्थ्यो । हामी सबेरै उठेर आफ्नो बाटो लाग्यौं ।
हामी सकेसम्म चाँडो पुग्नुपर्ने भएकोले पाद्मघाटबाट गेला गाउँको घुमाउरो बाटो नगै खोला किनारको छोटो बाटोतिर लाग्यौं । तर बाटो निकै अप्ठ्यारो रहेछ । एक ठाउँमा भिरबाट हाम्फाल्दा मेरो दाहिने गोडाको पैताला चुच्चो ढुङ्गामा थोकिन पुग्यो र निकै पीडा भयो । गोडा बेस्स्सरी सुन्निन थाल्यो । अब म द्रुतगतिमा हिंड्न नसक्ने भएँ । खोच्च्याउदै हिंडेर ११ बजे पुल भएको ठाउँ पान्तडी पुगियो ।
पान्तडी बजारमा खानेकुरा केही पाउन सकिएन । सशस्त्र द्वन्दकाल भएकोले खाद्यान्न ,चाउचाउ ,बिस्कुट र औषधि लगायतका बस्तु ढुवानी र बेच्बिखन गर्न सुरक्षा निकायले रोक लगाएको थियो भने गाउँबाट बजार र सदरमुकाममा कुनै पनि सामान नलैजान बिद्रोही माओबादीले रोक लगाएको थियो । एउटा पसलमा रसीको पासो (झरौला) बाट एक केजी जति तिला नदीको माछा छोपेर ल्याएको रहेछ । हामीले त्यही माछा पकाएर खाने भयौं । गोडा सुन्निदै गयो । माछा खाएपछि झनै दुख्न थाल्यो । पसलमा अलिकति तेल मागेर मालिस गरें र तलिसेरा हुँदै सदरमुकामतर्फ बिस्तारै हिंड्न थाल्यौं । तलिसेरा पुगेपछि म हिंड्न नसक्ने भएँ । गोडा उत्तिकै दुखेको छ ,भोक उत्तिकै लागेको छ । हिंड्न उत्तिकै सकस भएको छ । सिम्लेगाडमा पनि केही नपाईएला भन्ने चिन्ता पनि उत्तिकै छ । म थकित र गलित भएको देखेर कालीबहादुर पनि चिन्तित हुन थाले । उनको भनाइ थियो – भोलिबाट जिल्ला परिषद हुने भएकोले जसरी नि आजै पुग्नु पर्छ । म दुब्लो पातलो मान्छे भएको भए उनले बोकेर पनि लान्थे होलान् । तर ८० केजीभन्दा बढी तौल् भएको मलाई उनले बोकेर लान सक्दैनथे । सिम्लेगाडभन्दा पिली गाउँमुनिको पसल नजिक भएकोले हामी त्यतै मोडियौं । पिली गाउँमुनिको त्यो पसलमा पनि केही खानेकुरा छैन भनियो । कालिबहादुर आफ्नो घर जुम्ला आउँदा जाँदा बाटोमा चिनेको भएकोले उनले मेरो सक्कली परिचय गराएपछि पसले खाना खुवाउन राजी भए । खाना पाकुञ्जेल्सम्म म खाटमा पल्टिएँ । तेल तताएर कालीबहादुरले गोडा मालिस गरिदिए ।दुख्न भने कअत्ति काम भएन । खाना खाएपछि अलिअलि शाहस आयो र बिस्तारै हिंड्न थालें ।
दाहा गाउँ काटेर छारेगाड पुग्दा दिउसोको ३ बजिसकेको थियो । सदरमुकाममा साँझ छ् बजेबाट कर्फ्यु लाग्ने गर्थ्यो । मेरो गोडाले साथ दिएन । हामी छ बजेभित्र पुग्न सकेनौं भने बाटामा कतै बास पाइन्नथ्यो । त्यसैले पहिले खानेपानी योजनामा काम गर्न आएको त्यो ठाउँमा बसेर भोलिपल्ट सबैरै जाने मनसायले त्यही बस्यौं । गोडा तातोपानिले सेकाएर तातो तेलले मालिस गरेर सुतें ।
भोलिपल्ट विहान उठ्दा दखाइ काम भएको थियो । झिस्मिसेमा हिंडेर हामी सात बजे अफिस पुगियो । कार्यालय प्रांगणमा लिल्ला परिषद उद्घाटन कार्यक्रम राखिएको थियो । अनी त्यसको तयारीमा जुटियो । जिल्ला परिषद लगातार १३ दिनसम्म चलिरह्यो ।त्यसको लगत्तै आर्थिक वर्ष समाप्त भएकोले तुरुन्तै काममा जान भने परेन ।
अब कालिकोटका कुरा गरौं । त्यतिखेर कालिकोट मानव बिकास सुचकाङ्कमा चराम गरीबीले भरिएको जिल्लामा पर्दथ्यो । जिल्लामा सरदर आयु ४२ वर्ष रहेको थियो । बाल मृत्युदर उच्च रहेको थियो । गाउँतिर घुम्दा कुपोषणले र घाउखटिराले ग्रसित बालबालिका प्रसस्त देखिन्थे । जिल्लामा सुरक्षा निकायले ‘किलो शेरा टु ‘ र ‘पीटर’ नामका अपरेशन चलाएका थिए । कालिकोटबाट सुर्खेत पुग्न ३ दिन लाग्थ्यो । बाटो उकालो ओरालो थियो । एकैदिनमा हिउँपर्ने लेक र गर्मी हुने बेसी पार गर्दै हिंड्नु पर्दथ्यो । सदरमुकाममा समेत खाद्याअन्न लगायतका सामानहरुको अभाव थियो । कर्मचारीहरुले सहुलियत मूल्यको चामल महिनाको ४ केजी मात्र पाउँथे ,त्यो पनि स्टक भएको बेला । सदरमुकाम डाँडाको टुप्पोमा भएकोले खानेपानिको अभाव उस्तै थियो । हामी हरेक शनिबार सबेरै उठेर एक घण्टाको दूरीमा रहेको ताडी गाउँको धारामा नुहाइधुवाइ गर्न जान्थ्यौं । खद्याना ढुवानी गर्न हेलिकोप्टरको भर पर्नु पर्थ्यो । खाद्य संस्थानबाट बिक्री हुने निम्नकोटिको चामल तथा गहुँबाट प्राण धानिएको थियो । फिल्ड हिंड्ने कर्मचारीका अनेकौं समस्या थिए ,कतिले त स्थायी जागिर समेत छोडेर हिंडेका थिए ।
पश्चिमाञ्चल सङ्गम नामको एउटा संस्था थियो ।त्यसमा पश्चिमाञ्चल बिकास क्षेत्रमा स्थायी बसोबास भएर कालिकोट जिल्लामा विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरु त्यसका सदस्य बनेका थिए । उक्त संस्थाले मासिक बैठक र वार्षिक रुपमा पिक्निक पनि आयोजना गर्थ्यो । त्यसैले धेरै साथीहरुसँग चिनजान भएको थियो । खाद्यान्न ढुवानी गर्ने हेलिकोप्टरले सुर्खेतबाट उड्दा बढीमा ३ जना र कालिकोटबाट फर्कदा बढीमा सात जना मात्र राख्न पाउने नियम थियो । हिउँदमा मात्र मौसम सफा हुन्थ्यो र बर्खामा हुस्सु कुहिरोले गर्दा अवतरन गर्न नसकी फर्केर जान्थ्यो । भिआइपी र पहुँचवालाले मात्र हेलिकोप्टर चढ्ने अवसर पाउथे ।
यसैबीच २०५६ भदौ महिनामा मेरो गोरखा जिविसमा सरुवा भएको पत्र आयो । म असाध्यै खुशी भएँ र भदौ मसान्तमा रमाना लिएर गोरखा आउने तयारी गर्न थालें । अफिसबाट बिदाइ गरेको दिनमा हेलिकोप्टर आयो । प्रहरी प्रशासनमा मैले आफ्नो नाम लेखाएको हुँदा अवसर पाइन्छ कि भनेर म झोला बोकेर हेलिप्याड गएँ । खटिएका प्रहरीले मेरो नाम सातजनामा नपरेको बताए । तर म त्यही बसिरहें । एकछिनमा डीएसपी साप पनि मजस्तै माला र खादा लगाएर आउनुभयो । उहाँको पनि सरुवा भएको रहेछ । मैले आफ्नो गोरखा सरुवा भएको बताएपछि उहाँले बधाई दिनुभयो र उड्ने लिष्टमा मेरो नाम लेखिदिन लगाउनु भयो । अनि २० केजीको झोला बोकेर ३ दिन हिंड्नबाट मुक्ति पाएर म एक घण्टामैं सुर्खेत आइपुगें । अनि सुर्खेत एअरपोर्टबाट २० केजीको झोला बोकेर पोखरा जाने रात्रीबसको टिकट लिन बसपार्कतिर हान्निए । त्यो बेला झोला पनि मेरो मन जत्तिकै हलुङ्गो भएको महशुस भएको थियो ।