जिल्ला प्रशासनबाटै मतदाता नामावली सङ्कलन


दमौली खबर संम्बददाता


भदौ ६, दमौली ।
जिल्ला प्रशासन कार्यालय तनहुँबाट मतदाता नामावली संकलनको कार्य शुरु भएको छ । कार्यालयमा नागरिकता बनाउन आएका नागरिकहरुको सहजताको लागि राष्ट्रिय परिचय पत्रसँगै फोटोसहितको मतदाता नामावली संकलन शुरु गरिएको हो ।
यसअघि जिल्ला निर्वाचन कार्यालयबाट मात्रै फोटोसहितको मतदाता नामावली संकलन तथा अद्यावधिक हुँदै आएको थियो । तर निर्वाचन आयोगको भदौ १ गतेदेखि देशभरका सबै जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयबाट पनि फोटोसहितको मतदाता नामावली संकलन गर्ने नीति अनुसार जिल्ला प्रशासन कार्यालयबाट कामको थालनी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गगत बरालले जानकारी दिए ।

उनले भने,‘जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आएका नागरिकहरुको लागि सहजता र पायक पर्ने भएकाले प्रशासनमा नै मतदाता नामावली संकलन शुरु गरिएको छ, यसको लागि कर्मचारीको व्यवस्थापन जिल्ला निर्वाचन कार्यालयले गरेको छ’, उनले अघि भने, ‘नागरिकता प्रशासनबाट लिने, अनि मतदाता नामावली बनाउन निर्वाचन कार्यालय जाने परिपाटीको अन्त्य भएको छ ।’ जिल्ला निर्वाचन कार्यालय तनहुँ भदौ, असोज र कात्तिक गरेर तीन महिनाको लागि प्रशासन कार्यालयबाट नामावली संकलनको काम शुरु गरिएको जानकारी दिएको छ ।

नयाँ मतदाता नामावली संकलनको काम प्रशासनबाट भैरहेको भए पनि मतदाता नामावली सार्ने, त्रुटि सच्याउने काम भने निर्वाचन कार्यालयबाट भइरहेको कार्यालय जनाएको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर मतदाता नामावली संकलन थालिएको हो । कोरोनाका कारण सिर्जित अवस्था केही सहज भएमा जिल्लामा रहेका विद्यालयहरुमा निर्वाचन शिक्षा कार्यालय सञ्चालन गर्ने, नागरिकलाई मतदाता नामावली बनाउन प्रेरित गर्ने जस्ता कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button