पत्रकार नहर्कीको ‘बिरानो देश’ भिडियो सुटिङ

दमौली खबर संवाददाता

साउन ७ दमौली

पत्रकार अमर नहर्कीद्धारा शब्द संकलन गरिएको ‘बिरानो देश’ गीतको भिडियो सुटिङ शुरु गरिएको छ ।

करिब दुई दशक देखि संञ्चार क्षेत्रमा काम गर्दै हाल गोरखापत्र दैनिकमा कार्यरत पत्रकार नहर्कीले बैदेशिक रोजगारीको क्रममा नेपालीले भोग्नु परेको पीडाको बारेमा शब्द संकलन गर्नुभएको हो । ‘जान्छन् आकाशमा,आउँछन् बाकसमा’ भन्ने जस्ता मार्मिक शब्दका गीतलाई भिडियो मार्फत समाजमा सकारात्मक सन्देश दिन खोजिएको छ । बिदेश जानु नेपालीको रहर नभई बाध्यता भएकोले उनीहरुको वास्तविक पीडाको कथालाई आधार मानेर गीत रचना गरिएको पत्रकार नहर्कीले बताउनुभयो । बिदेशी भूमिमा रगत र पसिना बगाउनु भन्दा स्वदेशमै बसेर सुन फलाउन सकिन्छ भन्ने गतिलो सन्देश पनि उक्त गीतले दिन खोजेको छ ।

म मरिहाले भनेपनि स्वदेशमै मर्न पाउँ

आँखाभरि झल्किरहन्छ म जन्मेको गाउँ ।

बुढा भाका बा आमाले हेर्छन मेरो बाटो

शिर निहुरिएर ढोग्ने मन छ म जन्मेको माटो ।

उक्त गीतको हाल तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटार स्थित तनहुँ जलबिद्युत परियोजनामा,गण्डकी प्रदेशकै ठुलो तनहुँ सभाहल लगायतका स्थानमा भिडियो सुटिङ गरिएको छ । केहि दृश्य ग्रामीण क्षेत्रमा रहेका घरबास गएर भिडियो सुटिङ गरिने योजना रहेको बताइएको छ । गीत संगितमा गायक नवराज थापा रहनु भएको छ भने मुख्य कलाकार सुदिप पौडेल र पूजा केसी रहेको फिल्मका निर्देशक समुन्द्र पौडेलले जानकारी दिनुभयो । कलाकारहरुमा तीन जना पत्रकार प्रदिप काफ्ले र संगम सापकोटा र मनोज श्रेष्ठ पनि रहनुभएको छ । त्यसैगरी कलाकारहरुमा माधव बहादुर पन्त,रामु पौडेल,भरत पोख्रेल, हरिराम नागिला,खुशीराम कैनी लगायतका रहेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button