व्यासका गणित–विज्ञान शिक्षकको पुर्नतार्जगी तालीम सम्पन्न

दमौली खबर संवाददाता

दमौली, फागुन ९
व्यास नगरपालिका शिक्षा तथा सामाजिक विकास शाखाको आयोजनामा व्यास नगरपालिका भित्र रहेका गणित र विज्ञान शिक्षकहरुका लागि तीनदिने पुर्नतार्जगी तालिम सम्पन्न भएको छ ।
यही फागुन ७ गते व्यास नगरपालिकाका प्रमुख वैकुण्ठनाथ न्यौपानेले उद्घाटन गरी सुरु गरेको कार्यक्रम फागुन ९ गते समन्वय प्रमुख तनहुंका शान्तिरमण वाग्लेको उपस्थितिमा समापन गरिएको हो । समापन गर्दै समन्वय प्रमुख वाग्लेले तालिममा सिकेका कुराहरुलाई शैक्षिक सुधारका निम्ति प्रयोग गर्न आग्रह गर्नुभयो । शिक्षाको लगानी तत्काल प्रतिफल नआउने भएतापनि सम्मानित शिक्षकहरूको क्षमता विकासले समग्र शिक्षा क्षेत्रमा सुधार हुने विचार उनले व्यक्त गर्नुभयो । शिक्षा तथा समन्वय इकाई प्रमुख वसन्तराज पौडेलले स्थानीय तहले लिएको शिक्षाको अधिकारलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न शिक्षकहरुका लागि पुनर्ताजगी तालिम अत्यन्त सान्दर्भिक भएको भन्दै यसलाई अझै निरन्तरता दिन आग्रह गर्नुभयो ।
व्यास नगरपालिका शिक्षा तथा सामाजिक विकास प्रमुख नविन पराजुलीको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रशिक्षार्थीहरुको तर्फबाट कृष्ण तिवारी र विज्ञान विषयका प्रशिक्षार्थीहरुको को तर्फबाट पिताम्बर सिग्देल साथै प्रशिक्षकहरुको तर्फबाट अनिल श्रेष्ठ र तोया गिरीले शिक्षण सिकाइमा परेका समस्याहरु र यस तालिमले पुराएको सहयोगका बारेमा आफ्ना भनाइहरु प्रस्तुत गर्नु भएको थियो । तीनदिने तालिममा गणित विषयका प्रशिक्षक शरदचन्द्र खनाल,अनिल श्रेष्ठ र श्रीकृष्ण आचार्य रहेका थिए भने बिज्ञान विषयको प्रशिक्षकको रुपमा तोया गिरी र एक बहादुर गुरुङ हुनुहुन्थ्यो ।
तनहुं कै उत्कृष्ट र नमुना विद्यालय सत्यवती माध्यमिक विद्यालयमा भएको तालिममा ब्यास नगरपालिका भित्रका माध्यमिक विद्यालयहरुका गणित र विज्ञान विषयमा अध्यापन गराउने शिक्षकहरुको उपस्थिति रहेको थियो। सुविधासम्पन्न र प्रविधियुक्त विद्यालय भएकाले धेरै कुराहरु सिक्ने अवसर प्राप्त भएको सहभागीहरूको प्रतिक्रिया रहेको थियो । तालिमलाई व्यवस्थापन गर्ने कार्यमा शिक्षा शाखामा कार्यरत किशोर वास्तोलाले सहजीकरण गर्नु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button