सुध्रिएन नगरपालिकाको वातावरण, लाखौं रकम स्वाहा !


दमौली खबर संवाददाता


भदौ ३, दमौली ।
जिल्लाको सदरमुकाम दमौलीबाट दैनिक १० देखि १२ टन फोहोर निस्कने गर्दछ । व्यास नगरपालिकाले फरक फरक बारमा कुहिने र नकुहिने फोहोर उठाउने गर्दछ । व्यास १ चारकुनेस्थित रामदेव पन्थको नीजि जग्गा भाडामा लिएर नगरपालिकाले फोहर फाल्ने गरियता पनि उक्त ठाउँ भरिएपछि विगत एक सातादेखि दमौली बजारबाट फोहर उठ्न सकेको थिएन । व्यास १३ फुस्रेढुङगमा रहेको खोल्सामा फोहर फाल्ने ठाउँको टुङ्गो लागेपछि एक सातादेखि दमौली बजारमा थुप्रिएका फोहर बुधबारबाट उठाउन शुरु गरिएको छ ।

चारकुनेमा नगरपालिकाले नकुहिने फोहोरको फाल्न एक वर्षकोे लागि भाडामा लिएको थियो । नगरपालिकाले यस अगाडी फोहर बिसर्जन गर्दै आएको व्यास नगरपालिका–३ भतेरी गत वर्ष मादी नदीले कटान गरिदिएपछि चारकुनेमा नकुहिने फोहर बिसर्जन गर्न थालिएको थियो । उक्त अविधिमा पनि तत्काल वैकल्पिक ठाउँको व्यवस्थापन नहुदाँ दमौली बजारमा एक साता देखि फोहोर उठेको थिएन । नगरपालिकाले कुहिने फोहर भने व्यास नगरपालिका–१० मा मल उत्पादनमा प्रयोग गर्ने गरेको छ । अहिले बेलबासबाट कोइदिम जाने बाटो नजिकको खोल्सीमा फोहोर व्यवस्थापन गर्ने गरी सम्झौता भएकाले अब डेढ वर्षका लागि समस्या समाधान भएको नगरपालिकाले जनाएको छ ।

बेलबासमा फोहोर व्यवस्थापन कार्यमा पछि स्थानीय वासीबाट अवरोध नआओस् भनेर नगरपालिकाले स्थानीय अगुवा र कोइदिम सामुदायिक वन समितिका पदाधिकारीहरुसँग पनि छलफल गरिसकेको छ । फोहोर व्यवस्थापन गर्न दिए बापत नगरपालिकाले बेलबासबाट बेनीकोट जाने सडक कालोपत्रे गर्ने गरि यसै वर्ष रु ३० लाख विनियोजन गर्ने सहमति भएको छ । त्यसबाहेक ठाउँ–ठाउँमा रिटेनिङ वाल र प्रतिक्षालय निर्माण गर्ने सहमति भएको छ। उक्त स्थानमा फोहर व्यवस्थापनका लागि दमौली बजारमा सङ्कलित फोहर आदिकवि भानुभक्त क्याम्पसको पछाडीको जग्गामा खन्याउने र त्यहाँबाट कुहिने फोहोर गाई संरक्षण केन्द्रमा लैजाने तथा नकुहिने फोहोर बेलबास तर्फ लैजाने सहमति भएको प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले बताए ।

हरेक वर्ष फोहोर फाल्ने डम्पिङ साइड भरिएपछि दमौलीमा फोहोर व्यवस्थापन गर्न निकै सकस हुने गर्दछ । नगरपालिकाले फोहोरमैला कम गर्न लाखौं खर्च गरेर नगरबासीलाई विभिन्न तालिम पनि दिईने गरेको थियो । तर बजारमा भने फोहोर निस्कन कम भएको छैन । बजारी क्षेत्रमा रहेको वडा नं १, २, ३ र ४ का वडावासीलाई नगरपालिकाले कौैसी खेती तालिम प्रदान गरेको थियो । तर तालिम लिईसकेपछि भने उनिहरुले कार्यान्वयन गरेका छैन । ‘कुहिने फोहोरलाई कम गर्न वडा वडामा कौसी खेती तालिम दिईएको थियो । तर केहीले मात्र उक्त तालिमको कार्यान्वयन गरे ।’नगरपालिकाका शाखा अधिकृत विमल गिरीले भने,‘ फोहोरमैला व्यवस्थापन गर्न हाम्रो प्रयास जारी छ ।

यसमा नगरवासीले पनि सहयोग गर्न आवश्यक छ ।’ नगरपालिकाले प्लाष्टिकजन्य झोला कम गर्न वैकल्पीक कपडा र कागजको झोला बनाउने तालिम पनि प्रदान गरेको थियो। तर तालिम लिएका कसैलेपनि यसको प्रयोग गरेनन् । अहिले फोहरमैलाको समस्याको दीर्घकालिन समाधानका लागि तीन स्थानमा हेरिएको नगरपालिकाले जनाएको छ । व्यास नगरपालिका वडा नम्बर ४ को बाघभन्ज्याङ, वडा नम्बर १० र वडा नम्बर १ कोे भद्रुमा आइइ गरेर उपयुक्त स्थान हेरिएको अधिकृत गिरीले बताए । बेलाबखत बजार क्षेत्रमा फोहर उठ्न नसक्दा दुर्गन्धित हुन थालेकाले नगरपालिकाले यसको दीर्घकालिन समाधानको बाटो खोज्नुपर्ने स्थानीयवासीको माग छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button