घरआँगन मै सेवा पाउँदा महिला हर्षित

तनहुँको व्यास नगरपालिकामा ४ वटा वडाका महिलाहरुका लागि पाठेघर र पाठेघरको मुखको क्यान्सर सम्बन्धि निशुल्क परिक्षण तथा उपचार शिविर सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको शिविरबाट व्यासका ८ ९,१० र ११ नम्बर वडाका महिलाहरु लाभान्वित भएका छन । आङ खस्ने समस्याका लागि ओमेन फर ओमेन नेदरल्याडस्को नेतृत्वमा, क्यान्सर सम्बन्धी परिक्षणका लागि नेपाल अष्ट्रिया क्यान्सर केयर फाउण्डेसनसँगको सहकार्य र सुनौलो नयाँ गोरेटो कृषि सहकारी संस्था र स्वदेशी नेपाल गोरखाको सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

महिलामा हुने आङ खस्ने समस्याको पहिचान र निराकरणका साथै महिलाहरुको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर भएका र हुने सम्भावित खतरामा रहेका महिलाहरुको जाँच र उपचार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको ओमेन फर ओमेन नेदरल्याडका नेपाल प्रतिनिधि विश्वनाथ पौडेलले जानकारी दिए । पाठेघरको मुखको क्यान्सर हुने सम्भावना भएका महिलाहरुले शिविरकै क्रममा उपचार पाएका छन ।जसबाट उनीहरु भविष्यमा क्यान्सरको सिकार हुनपर्ने जोखिमबाट सुरक्षित भएका छन् ।

परिक्षणका क्रममा अप्रेशन गनुपर्ने पहिचान भएका केशलाई काठमाडौँमा निशुल्क अप्ररेशन सेवा प्रदान गरिने पौडेलले बताए । सोही क्रममा महिलाहरुको स्तनको परिक्षण गरी क्यान्सर हो या होइन भन्ने पहिचान गरी उपचार गरिएको छ । शिविरको पहिलो दिन वडा नं ९का १ सय ७२ जना महिलाहरुले सेवा लिएका थिए । सो ठाँउमा परिक्षण गरिएको मध्ये ३१ प्रतिशत महिलामा आङ खस्ने समस्या देखिएको थियो । त्यस्तै ८नं वडाका १ सय १५ जना महिलामा गरिएको परिक्षणमा ३२ प्रतिशत महिलामा समस्या देखिएको, त्यस्तै १० नं वडाका ८१ जना महिलामा गरिएको परिक्षणमा २५ प्रतिशत महिलामा आङ खस्ने समस्या पाइएको पौडेलले बताए ।

त्यस्तै ११ नं वडामा ८९ जना महिलामा भएको परिक्षणमा ४० प्रतिशत भन्दा बढीमा आङ खस्ने समस्या देखिएको छ । प्रत्येक वडामा भएको परिक्षणमा ७ जना महिलाहरु अप्रेशनको लागि पहिचान भएका छन् । शिविरमा भिआईए.(दृष्य निरीक्षण कार्य) विधिबाट पाठेघरको मुखको क्यान्सर सम्बन्धी सम्भावनाको जाँच गर्दा भविष्यमा ८ देखि १० प्रतिशत महिलामा पछि गएर क्यान्सर हुन सक्ने सम्भावना देखिएकाले शिविरकै क्रममा उपचार गरिएको क्यान्सर रोग विशेषज्ञ आरती शाहले जानकारी दिइन ।

त्यस्तै परिक्षणका क्रममा ५० प्रतिशत भन्दा बढी महिलामा पानी बग्ने समस्या र करिब ३५ देखि ४० प्रतिशत आङ खस्ने समस्या देखिएको शाहले बताइन् । आङ खस्ने समस्याको फस्ट डिग्रीको अवस्थामा रहेका महिलालाई औषधी आवश्यक नपर्ने भएकाले उनीहरुलाई व्यायाम गराएर समस्यालाई फस्ट डिग्रीमै कायम गरी राख्न परामर्श दिइएको स्टाफ नर्स सुमित्रा आचार्यले जानकारी दिइन् । त्यस्तै दोस्रो डिग्रीमा पुगेका महिलालाई पाठेघरको मुखमा रिङ राखेर उपचार गरिएको तथा तेस्रो र चौथो डिग्रीमा पुगेका महिलाहरुलाई तत्कालको लागी औषधी र अन्य उपचार गरिएको उनले बताइन् ।

आङ खस्ने समस्याको तेस्रो र चौथो डिग्रीमा रहेका महिलाहरुलाई एक महिनापछि काठमाडौँको मनमोहन मेमोरियल अस्पतालमा निशुल्क शल्यक्रिया गरिने समेत आचार्यले जानकारी दिइन् । विगत १५ वर्षदेखि पाठेघरको समस्याबाट पीडित व्यास ११ की ८४ वर्षीया बिष्णुमाया भुजेलले यतिका वर्षपछि उपचार पाउदा खुशी लागेको बताइन । पाठेघरको समस्याको उपचार बारे थाहा नपाएर यतिका वर्ष पीडा रहेर बस्न बाध्य भएको बताउदै उनले घर दैलोमै स्वास्थ्य सेवा पाउदा खुशी लागेको बताइन् । सोही अवसरमा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई पाठेघरको समस्या र त्यसको उपचारका बारेमा परामर्श दिइएको थियो । साथै महिलाहरुलाई पाठेघरको समस्या, समस्या उत्पन्न हुनुका कारण, ध्यान दिनुपर्ने कुराहरु र व्यायमका बारेमा महिलाहरुलाई परामर्शकर्ता सुमित्रा आचार्यले प्रशिक्षण दिएकी थिइन् । सिविरमा २ जना विशेषज्ञ डाक्टर सहित १६ जनाले सेवा प्रदान गरेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button