पृथ्वीराजमार्गको सडक विस्तार ः सडक क्षेत्रका संरचना भत्काउन क्षतिपूर्ति वितरण सुरु

दमौली खबर संवादाता
तनहुँ, २८ साउन  । पृथ्वी राजमार्गको तनहुँको म्याग्दे गाउँपालिकाकाको जामुने देखि कास्कीको पोखरा सम्मको संरचना हटाउनको लागि क्षतिपूर्ति वितरण कार्य धमाधम भईरहेको छ  ।
सडक विस्तारको क्रममा साविक दुई लेनमा रहेको मुग्लिन–पोखरा सडक खण्डलाई चार लेन बनाउने क्रममा सो क्षेत्रको  १३८ वटा संरचना भत्काउनको लागि क्षतिपूर्ति वितरण सुरु गरिएको मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड)का योजना प्रमुख अमितकुमार श्रेष्ठले जानकारी दिनुभयो । हटाउनु पर्ने १३८ मध्ये ४२ वटा घरलाई भत्काउन ४० लाख रुपियाँ क्षेतिपूर्ति वितरण भईसकेको  श्रेष्ठले बताउनुभयो । पश्चिम खण्ड अन्तर्गतका सडकसँग जोडिएका भौतिक संरचना हटाउन लागिएको छ । उक्त संरचनाको प्रतिस्थापन तथा क्षतिपूर्तिका लागि योजनाले कूल रु दुई करोड ४५ लाख ३९ हजार ६३३ क्षतिपूर्ति रकम दिन स्वीकृत गरेको श्रेष्ठले बताउनुभयो । सडक विस्तार गर्ने कार्यमा सडक मापदण्डभित्र निर्माण गरिएका ती संरचना भत्किने आयोजनाले जनाएको छ ।
 एसियाली विकास बैंकको सेफगार्ड पोलिसी स्टेटमेन्ट अनुसार योजनाबाट प्रभावित केही व्यक्तिलाई प्रतिस्थापन तथा क्षतिपूर्ति रकम प्रदानका लागि बजेट स्वीकृत गरिएको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार तनहुँका म्याग्दे गाउँपालिकास्थित जामुने देखि कास्कीको सिमाा कोत्रेसम्म (खैरेनीटार बजारबाहेक)का घर, टहरा, पार्टी पौवा, पर्खाल लगायतका संरचना भत्काइनेछ । विस्तार गर्ने क्रममा जामुनेदेखि कोत्रेसम्मको खण्डको सडक मापदणअनुसार २५–२५ मिटर दायाँबायाँको क्षेत्रभित्र निर्माण गरिएका व्यक्तिगत तथा सार्वजनिक संरचना हटाइने छ । आयोजनाबाट प्रभावितलाई क्षतिपूर्ति रकम दिएर मात्र हटाउनुपर्ने व्यवस्था भएकाले त्यस्ता संरचना यकिन गरी प्रतिवेदन पेश गर्न तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । क्षतिपूर्ति रकम भुक्तानी दिँदा पहिलो किस्तावापत ५० प्रतिशत सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा गरिदिने व्यवस्था छ ।
            दोस्रो किस्तामा घर, टहरा स्वयंले हटाइसकेपछि मात्रै वडा कार्यालयको सिफारिसका आधारमा सम्बन्धित व्यक्तिको बैंक खातामा रकम जम्मा गरिदिने व्यवस्था गरिएको  छ । सम्बन्धित पक्षबाट निर्धारित मितिसम्म पनि हटाउनुपर्ने घर, टहरा नहटाएमा योजना कार्यालय स्वयंले त्यस्ता संरचना हटाई सडक विस्तार कार्य अघि बढाउने र उक्त कार्यमा सबै पक्षबाट सहयोग गर्ने गरी निर्णय भएको छ । आयोजना कार्यान्वयनमा आइपर्ने गुनासो सुनुवाइका लागि सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहने गरी छ सदस्यीय समिति गठन गरिएको श्रेष्ठले जानकारी दिनुभयो । सदस्यमा मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड)का आयोजना प्रमुख, शुक्लागण्डकी नगरपालिकाका प्रतिनिधि, म्याग्दे गाउँपालिकाका प्रतिनिधि, आयोजनाका परामर्शदाता वातावरणविज्ञ एक र सामाजिक विज्ञ एक रहने गरी समिति गठन भएको छ । सडक बिस्तारको लागि रुख कटानको काम पुरा सकिएको आयोजनाले जनाएको छ । मुग्लिन–पोखराको दूरी करिब ८८ किमि छ । जसमा आँबुखैरेनी– पोखराको लम्बाइ ८० किमि छ । आँबुखैरेनी–पोखरा सडकलाई तीन खण्डमा विभाजन गरेको छ । आँबुखैरेनी–जामुने (४१ कि.मि) पूर्वी खण्ड र जामुने– पोखरा (३९ कि.मि) पश्चिम खण्ड रहेको छ । आँबुखैरेनीदेखि मुग्लिन खण्डको ८ किलोमिटर दूरी रहेको छ ।
आँबुखैरेनी–जामुने पूर्वीखण्डको ४१.४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुआन हाइवे एण्ड ब्रिज कम्पनीले पाएको छ । मुग्लिन पोखरा सडक योजना (आँबुखैरेनी–जामुने) पूर्वी खण्ड रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का लागेको हो । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५÷२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाईन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौँडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौंडा देखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । आँबुखैरेनी र मुग्लिन सम्मको भने डिजाईन हुन बाँकी छ । यो खण्डको पनि चाँडै नै टेण्डर निकाल्ने तयारी भईरहेको सडक डिभिजन कार्यालय तनहुँकी प्रमुख इन्जिनियर लक्ष्मी केसीले जानकारी दिनुभयो । यो खण्डमा मस्र्याङ्दी जलविद्युत गृह रहेकोले सडक फराकिलो बनाउन सकस हुने भएपछि सडकको रेखाङ्कन नै परिवर्तन गर्ने तयारी भएको केसी बताउनुहुन्छ ।
पूर्वी खण्डमा ५७ करोड खर्च
यसैबीच पृथ्वीराजमार्गको सडक विस्तार योजना अन्तर्गत तनहुँको पूर्वी खण्डमा रु ५७ करोड भन्दा बढी खर्च भएको छ । जिल्लाको आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा एक वर्षको अवधिमा रु ५७ करोड चार लाख ४२ हजार ९६ खर्च भएको हो ।
 आर्थिक वर्ष २०७८÷७९ मा उक्त खण्डका लागि रु दुई अर्ब ५१ करोड ४७ लाख ८२ हजार विनियोजन भएको थियो । सडक योजनाले आँबुखैरेनीदेखि जामुनेसम्मको सडक विस्तारका लागि काम गरिरहेको योजना प्रमुख नरेन्द्र सुवेदीले बताउनुभयो । उहाँ अनुसार उक्त खण्ड अन्तर्गत विभिन्न ठाउँमा भित्ता काट्ने र खाल्टो भएको स्थानमा टेवा पर्खाल लगाएर फराकिलो बनाउने काम भईरहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button