मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूका लागि तालिम प्रदान

दमौली खबर संवाददाता
दमौली, कात्तिक २६ । जिल्ला निर्वाचन कार्यालय तनहुँले आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनमा तनहुँ जिल्लाभर खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूका लागि तालिम प्रदान गरेको छ ।  शनिबारबाट मतदान सञ्चालनसम्बन्धी तालिम सुरु भएको छ । जिल्लाका तीन सय ५ मतदान केन्द्रमा खटिने छ सय दश मतदान अधिकृत तथा सहायक मतदान अधिकृतसहित थप केही कर्मचारीलाई मतदान सञ्चालनसम्बन्धी तालिम दिन थालिएको हो । शनिबार निर्वाचन क्षेत्र १ मा तालिम सञ्चालन गरिएको छ भने आज आईतबार निर्वाचन क्षेत्र २ को भानुभक्त बहुमुखी क्याम्पसमा तालिम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । प्रदेश निर्वाचन कार्यालय पोखराले आयोजना गरेको दुई दिने तालिमपछि कर्मचारीलाई निर्वाचन सामग्री हस्तान्तरण गरेर मतदान केन्द्रमा खटाइने जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।
जिल्लाको एक सय ४२ वटा मतदानस्थलमा तीन सय पाँच मतदान केन्द्र रहेका छन् । चुनावमा गर्नुपर्ने सबै कामका विषयमा जानकारी दिएर उनीहरूलाई खटाइने उहाँले जानकारी दिनुभयो । प्रत्यक्षतर्फका र समानुपातिक उम्मेदवारका लागि मत राख्ने तरिका, भीड नियन्त्रण, मसी लगाउने, नाम रुजु गर्ने, दोहो¥याएर मत हाल्न आएमा अपनाउनुपर्ने तरिका, मतदाताले गोप्य रूपमा मतदान गर्न पाउने आफ्नो अधिकारलाई सुरक्षित ढङ्गले प्रयोग गर्नेबारे प्रशिक्षित गराईउको ढकाल बताउनुहुन्छ  । मङ्सिर १ गतेसम्म निर्वाचनका लागि खटाइएका सबै कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगिसक्नुपर्ने छ । दुई लाख ४४ हजार तीन सय ४० मतदाता रहेको तनहुँमा दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र छन् । जिल्लाका एक सय ४२ वटा मतदान स्थल मध्ये ६ वटालाई अति संवेदनशील र ५२ वटा केन्द्रलाई संवेदनशील केन्द्रको रूपमा लिइएको छ । तीन सय ५ मतदान केन्द्रमा तीन हजार ६६० बढी कर्मचारी खटिने कार्यालयले जनाएको छ ।
निर्वाचनसम्बन्धी ऐन कानुन, निर्वाचन पूर्वको अवस्था, मतदान केन्द्रमा आइपर्ने समस्याहरू, निर्वाचन व्यवस्थापन, सुरक्षा व्यवस्थापन र मतपेटिका ढुवानी, निर्वाचन कार्यक्रम, जनशक्ति, आर्थिक व्यवस्थापन, मतदान अधिकृत र सहायक मतदान अधिकृतको जिम्मेवारी र भूमिका, मतदानको सामग्री बुझे पश्चात् मतपेटिका बुझाउनेसम्मको प्रक्रियालगायत विषयमा अभिमुखीकरण दिईएको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button