तनहुँ दुग्ध सहकारीद्धारा दूधको मुल्य बढाउन माग

दमौली खबर संवाददाता

दुधको लागत मुल्यको तुलनामा बिक्री मुल्य कम भएको भन्दै तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघले दूधको मुल्य बढाउन माग गरेको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघले शुक्रवार पत्रकार सम्मेलन गरि दूधको मुल्य बढाउन सरकारलाई अल्टिमेटम दिएको हो । दुधको मुल्य वृद्धि गर्न सरकारलाई पटक पटक अनुरोध गर्दा पनि गम्भिर नभएको बताउदै केन्द्रीय दुग्ध सहकारी संघ मार्फत कृषि मन्त्रालयलाई मुल्य वृद्धि गर्न फागुन १ गते सम्म अल्टिमेटम दिईएको हो । साथै सो सयम सिमाभित्र सरकारले दुधको मुल्य वृद्धि नगरेमा डेरी उद्योगहरुको समन्वयमा संयुक्त रुपमा मुल्य वृद्धि घोषणा गर्ने समेत चेतावनी संघले दिएको छ ।

आन्दोलनमा जानु अघि केन्द्रिय समितिको आह्वानमा अन्तिम पटक शुक्रवार ६४ जिल्लामा एकैसाथ पत्रकार सम्मेलन मार्फत माग प्रस्तुत गरिएको संघले जनाएको छ । दुधको मुल्य वृद्धि गरी कृषकहरुलाई प्रोत्साहन गर्न सरकार असफल भएमा केन्द्रिय दुग्ध सहकारी संघको नेतृत्वमा दुग्ध उत्पादक सहकारी संघ संस्था एवं दुग्ध उत्पादक कृषकहरु आन्दोलित हुने संघका केन्द्रिय अध्यक्ष अम्मर बहादुर कुँवरले बताए । दुधको मूल्य तत्कालै प्रति लिटर न्युनतम २० रुपैयाँ बृद्धि हुनुपर्ने उनीहरुको माग छ । दिइएको समयभित्र मुल्य वृद्धि गर्न पहिला सरकारलाई अवसर दिने र यस पटक पनि विभिन्न बाहनामा भाका सारे चरणबद्ध आन्दोलनमा उत्रने उनले चेतावनी दिएका छन् ।

किसानले ४ फ्याट र ८ एसएन एफमा हुंदा दूधको मुल्य मात्र ६४ रुपैया पाउने गरेका छन् । तीन बर्ष पहिले देखी कायम भएको यो मुल्य हालसम्म पनि यथावत् रहेको किसानहरुले जनाएका छन् ।

पशुलाई खुवाउने पराल, दाना, चोकर, औषधि लगायतको मूल्य अत्यधिक वृद्धि भएको छ तर दूधको मूल्य वृद्धि नभएका कारण किसान मर्कामा परेको अध्यक्ष कुवँरले बताउनुभयो । दूधको मूल्य वृद्धि नहुने हो भने दुग्ध क्षेत्र नै धराशायी हुने र डेरी उद्योगीहरूले दूध नपाएर विदेशबाट आयात गर्नपर्ने अवस्था आउन सक्ने भन्दै संघले दुधको मुल्य बढाउन कृषि मन्त्रालयसँग माग गरेको छ ।

तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघले यसअघि प्रतिदिन १४ हजार लिटर दुध उत्पादन गर्दै आएकोमा विविध कारणले हाल ४ हजार ५ सय लिटर मात्र दुध उत्पादन गर्न सकेको सहकारीका व्यवस्थापक राजु भुजेलले बताउनुभयो । कोभिडको प्रभावबाट पशुपालन पेशा जर्जर अवस्थामा पुग्नु, पशुवस्तु अनुत्पादक रहनु, कृषकहरुले उद्योगबाट समयमा भुक्तानी नपाउनुको कारणले पनि दुध उत्पादनमा ह्रास आएको उहाँले बताउनुभयो । तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघले अघिल्लो आर्थिक वर्ष १७ लाख लिटर दुध उत्पादन गरी १४ करोड आम्दानी गरेको भुजेलले जानकारी दिनुभयो । आम्दानी मध्ये १० करोड उत्पादक किसानहरुले पाएको उनले बताए । संघ अन्तर्गत जिल्लामा १५ वटा सहकारी सञ्चालन भइरहेका छन जसमा १ हजार १ सय ५४ जना किसानहरुको आवद्धता रहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button