लक डाउनपछि वातावरणलाई फाइदा, वर्षाैंपछि सङ्लो बग्न थाल्यो सेती नदी

दमौली खबर संवाददाता
चैत २८ दमौली
कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले चैत ११ गतेदेखि लकडाउन गरेकाले अहिले देशमा उद्योग, कलकारखाना तथा सवारी साधन बन्द छन् । सबैतिर सुनसान हुँदा मानवीय जीवनमा ठूलो नकारात्मक प्रभाव परे पनि वातावरण्मा भने सकारात्मक प्रभाव परेको छ । सरकारले गरेको लकडाउनमा मानवीय क्षेत्रमा असर पारे पनि अहिले प्रदूषित नदीहरुमा सुधार भएको देखिन्छ । नेपालको ग्रामीण नदीमा प्रायः प्रदूषण हुनुका मुख्य कारण मापदण्ड विपरीत क्रसर उद्योगहरु भएको स्पष्ट भएको छ । शहरमा भने अव्यवस्थित फोहरमैला, ढल आदिले नदीनाला प्रदूषित छन् ।
विगत १० वर्षदेखि प्रदूषण हुँदै आएको तनहुँको सेती नदी पनि अहिले सफा भएर बगिरहेको देखिन्छ ।लकडाउन गरेको दुई साताभन्दा पनि बढी भयो । अहिले जिल्लामा सञ्चालित सबै क्रसर उद्योगहरू बन्द छन् । यसको कारण नदीहरु पनि सफा भएर बग्न थालेका छन् । जिल्लामा सञ्चालित अधिकांश क्रसर उद्योगहरुले क्रसर निर्माण गर्दा धमिलो पानी सीधै नदीमा मिसाउने गदर्थे, जसकारणले नदी प्रदुषण हुन गरेको थियो । कास्की र तनहुँको सिमानामा अवस्थित सेती नदी क्षेत्रमा सञ्चालित क्रसर उद्योगले सफा गरेको ढुंगा, गिटी लगायत निर्माण सामग्रीको लेदोले सेतीको स्वरुप नै कुरुप बनाउने गरेको स्थानीयको भनाइ छ ।
करिब दश वर्षपछि सेती नदी सफा भएर बग्न थालेको स्थानियहरु बताउँछन् । तनहुँको भिमाद नगरपालिका वडा नं ७ की सावित्री सुवेदीले अहिले सेती सफा हुँदा लुगा धुन, नुहाउनका लागि नदीमा जाने गरेको बताईन् । त्यस्तै विगत पाँच वर्षदेखि सेतीको नदीमा बालुवा चाल्ने काम गर्दै आएकी म्याग्दे– ५ की धनुमाया दर्जीले पनि अहिले सेती नदी सफा देख्दा अचम्म लागेको बताइन् । उनले सधैँ धमिलो बग्ने नदी अहिले सफा भई बग्दा मनै आन्दित भएको सुनाइन् ।
सेती नदीको किनारमा सञ्चालित अधिकांश क्रसर उद्योगको चरम लापरवाहीका कारण नदी फोहरको डंगुरका रुपमा परिणत हुन थालेको थिए । क्रसर उद्योगीहरुलाई न त स्थानीय तहले कारबाही नै गरेको छ, न जिल्ला समन्वय समितिले अनुगमन गरेको थियो । मापदण्ड विपरीत क्रसर उद्योगहरु बन्द गर्नुपर्ने स्थानीयले माग गर्दै आएका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button