कोरोना भुल्दै पर्यटकको चहलपहल

तनहुँमा सबैभन्दा धेरै पर्यटक धाउने स्थल बन्दीपुर हो । कोेरोना कहरले झण्डै ६ महिना बन्द भएको बन्दीपुरको पर्यटन थला परेको थियो । कोरोनाबाट सुरक्षित रहेको बन्दीपुरमा अपेक्षित पर्यटक भित्रन मुस्किल प¥यो । मान्छेले कोरोना मिच्न थालेकाले पछिल्लो समय बन्दीपुरमा पर्यटनसंग सम्बन्धित व्यवसाय विस्तारै तंग्रिन मेसो ल्याउदैछ । कोरोनाले करिबन १० महिना थलिएको यहाँको व्यवसाय आन्तरिक पर्यटककै भरमा पनि फेरी जुरमुर्याउने प्रयासमा देखिन्छ । सरकारले लकडाउन, निषेधाज्ञा हटाउँदै खुकुलो बनाएकाले बन्दिपुर घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढेको हो । विदेशी पर्यटकको संख्या भने शुन्य जस्तै छ । यो सिजनमा बन्दिपुर घुम्न आउनलाई बुकिङ गरेका विदेशी पर्यटकले लामो समय लकडाउन भएपछि रद्ध गरेका थिए । विस्तारै आन्तरिक पर्यटकको भरमा यहाँका व्यवसायीले राहत महशुस गर्न थालेका छन् ।

बन्दिपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले आंशिक रुपमा होटल रेष्टुरेण्ट खुल्न थालेपछि आफूहरु आशावादी बनेको बताए । ‘अचेल पर्यटक अल्लि बढेको छ । पहिलाको जस्तो सुनसान छैन्’, उनले भने, ‘सीमित जनशक्तिले व्यवसाय चलाएका छौँ । सञ्चालन खर्च धान्न त्यतिसारो मुस्किल छैन् ।’ लकडाउन खुकुलो भएपछि विस्तारै पर्यटकको आवगमन बढिरहेको पौडेलले सुनाए । उनी भन्छन्, ‘विदेशी पर्यटक नआइकन त पहिलाको अवस्थामा बन्दिपुरको व्यवसाय उकासिदैन् । तैपनि सन्तोषजनक छौँ ।’ विदेशमा खोप बन्दै गरेको समाचारले आफुहरुलाई आशावादी बनाएको उनको भनाई छ ।

उनका अनुसार व्यवसाय सञ्चालन गर्नलाई ७० प्रतिशतको हाराहारीमा काममा खटाईएको छ । ३० प्रतिशत कटौती भए । ‘विदा दिएर घर पठाएकालाई आलोपालो प्रणालीमा काममा खटाएका छौँ’, उनले भने । कर्मचारी पनि भोकै नमर्ने र व्यवसाय पनि संचालन हुने हुँदा दुवैलाई राहत मिलेको उनी बताउँछन् । बन्दिपूरमा साना ठुला होटल, रेष्टुरेण्ट, रिर्सोट गरी ७७ वटा सञ्चालनमा छन् ।

उल्लेख्य मात्रामा पर्यटक नआएपनि क्रमिक बढ्दै गईरहेको बन्दिपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधान बताउँछन् । उनी भन्छन्, ‘सधैभरी व्यवसाय बन्द गरेर भएन् । बिस्तारै खोल्नुपर्छ भन्ने मान्यता सरकारको पनि छ । त्यसैले कार्यविधि पनि परिवर्तन हुँदै गएको हुनुपर्छ’, उनि भन्छन् । बन्दिपुरमा पछिल्लो दसैँ तिहारपछि आन्तरिक पर्यटकहरुको आगमन दर बढेको उनले जानकारी दिए ।

लकडाउन र निषेधाज्ञाको बेलामा यहाँ व्यवसायीले व्यवसाय बन्द गरेर बसेका थिए । अहिले व्यवसाय खुला छ । बन्दिपुरमा झण्डै बर्ष दिन पुग्न आट्दा पर्यटकको आगमन बढ्दा पर्यटनमा आश्रित व्यवसायीमा आशाको त्यान्द्रो पलाएको छ । बन्दिपूरमा हाल २० देखि ४० वर्ष उमेर समूहका युवायुवती बढी मात्रामा घुम्न आउने गरेको पाइन्छ । लामो समयको बन्दाबन्दीले गर्दा मानिस घरभित्रै खुम्चिनुपर्दा घुम्न धेरै लालायित छन् । ‘व्यवसायलाई दिगोपन दिन मानिसको चहलपहल हुनु आवश्यक छ । आर्थिक कारोबार हुनै पर्छ, ’ प्रधानको प्रष्टोक्ति छ ।

प्रधानले दिएको जानकारी अनुसार हाल बन्दिपूरमा ९५ प्रतिशत होटल खुलेको अवस्था छ । यतिबेला पर्यटकिय सिजन चलिरहेको छ । डिसेम्बर लागेपछि बिस्तारै पर्यटकीय गतिविधि कम हुने र मार्चदेखि पुनः बढ्दै जाने गर्दछ । क्षेत्रिय होटल संघ बन्दिपुर बजार ईकाइका अध्यक्ष विपिन प्रधानले पर्यटन व्यवसायी र मजदुर बचाउन यसअघि घोषित सहुलियत दरको पुनःकर्जालाई सरल ढंगले वितरण गर्नुपर्ने बताए । उनले महामारीले सिर्जित विषम परिस्थितिको आँकलन गर्दै सिंगो पर्यटन क्षेत्रलाई चलायमान बनाइराख्न राज्यको सहयोग आवश्यक रहेको सुनाए । उनले अगाडी थपे, ‘बाँच र बचाऔं’ भन्ने भाव सबैमा हुनुपर्छ ।’

सरकारले असोज १ देखि पर्यटनका गतिविधि संचालन अनुमति दिएसँगै बन्दिुरमा पर्यटकीय गतिविधिहरु चलायमान हुन थालेको हो । साथै पर्यटक आकर्षित गर्न पर्यटनसम्बद्ध संघसंस्थाले कोरोना बिर्साउँदै विभिन्न प्याकेज नै घोषणा गरेका छन् । बन्दिपूरका पर्यटन व्यवसायीले चाडपर्व लक्षित गरि सस्तो प्याकेज ल्याएको थिए । हिमालय दरबार होटलका सञ्चालक वैश गुरुङले बन्दिपुरमा कोरोनाबाट सुरक्षित रहेको सन्देश दिन आफूहरुले सस्तो प्याकेज ल्याएको र उक्त प्याकेजले पर्यटकीय गतिविधिमा सघाउ पुगेको बताए । कोरोनाको बढ्दो संक्रमणबीच पनि पर्यटन क्षेत्र चलायमान बनाउन प्याकेज ल्याइएको उनको भनाइ छ । यहाँका होटलहरुले कोठामा ५० प्रतिशत छुट, खानामा १५ प्रतिशत, स्पामा १० प्रतिशतसम्म छुट दिएका छन् । बन्दिपुरमा सञ्चालित डिस्को, दोहोरी, गजल रेष्टुरेण्ट अझै खुल्न बाँकी छ । यी व्यवसाय सञ्चालकले सरकारले व्यवसाय सञ्चालनको अनुमती दिने दिनको पखाईमा रहेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button