मानहुँकोट उक्लन थाले नेता पनि

तनहुँको व्यास नगरपालिका–५ मा रहेको मानहुँकोट यसबर्षको दशैँयता प्रख्यात पर्यटकिय गन्तव्यमा बनेको छ । देशभरबाट पर्यटक दमौली बजारको पश्चिमपट्टिको शिरमा रहेको मानहुँकोटको डाँडोमा लर्को लाएर उक्लिरहेका छन् । दमौली बजारबाट ७ किलोमिटर माथी उक्लिएपछि पुगिने मानहुँकोटमा कोरोना भाईरसको त्रासलाई भुलेर दमौली बजारलाई कुहिरोले डम्मै ढाकेको बेला गज्जब देखिने सुर्योदयको दृश्यपान गर्नलाई पर्यटकको थामी नसक्नु भिड उर्लिन थालेपछि स्थानिय, प्रदेश र केन्द्र सरकारका जनप्रतिनिधीसंगै उच्च तहका नेता पनि मानहुँकोट उक्लन थालेका छन् ।

कात्तिक तेस्रो साता व्यास नगर कार्यपालिकाको बैठक मानहुँकोटको डाँडोमा बस्यो । बैठकले मानहुँकोटको बिकासका केही योजना पनि बनायो । कात्तिक अन्तिम साता गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य किसान गुरुङ र गण्डकी प्रदेशसभा सदस्य आशा कोईराला लगायतको टोली मानहुँकोट पुगेर आ–आफ्नो तहबाट पुर्वाधार बिकासमा सघाउने प्रतिबद्धता जनाए ।

यसैबिच मंगलबार विहान नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पनि जिल्लाका नेता कार्यकर्ता लिएर मानहुँकोटको डाँडोमा दृश्य अवलोकनका लागी पुगे । उनले मानहुँकोटमा थप पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिदैँ आफुले सक्दो पहल गर्ने बताए । आफु पनि गाउँबाट शहर भर्न रहराएको मनलाई गाउँमै बसुँबसुँ बनाउने अभियानमा लागेको बताउँदै मानहुँकोटमा पनि पुर्वाधार थप गर्दै प्रचारप्रसारमा जोड दिएमा यहाँबाट बसाई झरेकाहरु फेरी गाउँ नै फर्कने सम्भावना रहेको सुनाए । चर्चित गन्तव्यको रुपमा बिकसित मानहुँकोटको बिकासको क्रममा मौलिक सुन्दरतालाई नास हुन नदिन उनको सुझाव थियो ।

गत बर्ष माघको तेस्रो साता पुर्व राष्ट्रपति रामवरण यादव पनि मानहुँकोटको दृश्यपानका लागी पुगेका थिए । यसरी तीनै तहका जनप्रतिनिधी र उच्च पदस्थ नेताहरु मानहुँकोट आउँदा प्रचारप्रसारसंगै बिकासमा सघाउ पुग्ने आशा पलाएको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताए । ‘पर्यटक बढ्दै गर्दा मानहुँकोटमा यथेष्ट पुर्वाधार छैनन् । व्यास नगरपालिकाले मात्रै बिकास गरेर सक्दैन् । तीनै तहका जनप्रतिनिधीले समन्वय गरेर बिकास गर्न जरुरत छ’, उनले भने ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button