उपप्रधानमन्त्री श्रेष्ठ तथा मन्त्री ज्वालाद्धारा पृथ्वीराजमार्गको अनुगमन तथा निर्देशन

दमौली खबर संवाददाता

तनहुँ, चैत २७ गते

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्याला सहितको उच्च स्तरीय टोलीले पृथ्वीराजमार्ग अन्तर्गत पोखरा–मुग्लिन खण्ड चार लेन सडक विस्तार योजनाको स्थलगत अनुगमन र निरीक्षण गर्नु भएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ, मन्त्री ज्वालाका अतिरिक्त पोखरा महानगरका प्रमुख धनराज आचार्य, चिनियाँ राजदूत चेन सोङ्ग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल लगायतको उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण गरेको हो । सो क्रममा आयोजनामा देखिएका समस्या सरकारले समाधान गर्ने र तोकिएको समयभित्रमै सडक निर्माण सम्पन्न गर्न निर्माण कम्पनीका प्रतिनिधिलाई अनुगमन टोलीले निर्देशन दिएको थियोे । सम्बन्धित मन्त्रालयका सचिव तथा ठेकेदारलाई साथमै लिएर आईतबार निरीक्षणमा गर्नु भएका उपप्रधानमन्त्री श्रेष्ठले दमौली स्थित सडक डिभिजन कार्यालयमा ठेकेदारसँग योजना सुस्तताको कारणबारे प्रश्न गर्नुभएको थियो । कम्पनीका प्रतिनिधिले विद्युत्का पोल ढल, सडक अतिक्रमण गरी बनाईएका घर, खानेपानीका पाइप समस्या जस्ता औपचारिक कारण देखाए पनि अब कामले द्रूत र गुणस्तरीय गति लिनेगरी अगाडि बढ्न उपप्रधानमन्त्री श्रेष्ठले निर्देशन दिनुभयो । ‘‘बाधा के हो प्रष्ट भन्नुस् अब कुनै पनि बहानामा आलटाल स्वीकार्य हुँदैन’’ उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो । आर्थिक, सामाजिक गुणात्मक विकास र समृद्धिका लागि हामी परम्परागत होइन, गतिशील तवरबाट सकारात्मक सहयोग गर्नुपर्ने उहाँको भनाई थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाले काम ढिलाई हुँदा यात्रुलाई सास्ती भएको योजनाहरु समयमा पुरा नहुँदा सरकारको समृद्धको यात्रामा कठिनाई हुने बताउनुभयो । कामलाई तिब्र रुपमा गरी समयमा नै सम्पन्न गर्न मन्त्री ज्यालाले निर्देशन दिनु भएको थियो । एशियाली विकास बैंक (एडिबी)को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार गरी चार लेनको फराकिलो बनाउने काम भईरहेको छ ।

पोखरा–मुग्लिन सडकखण्ड विस्तारको कार्य छिटो सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरेर काम अघि बढाइएको छ । पोखराको पृथ्वीचोकस्थित सेती नदी पुलदेखि तनहुँको जामुनेसम्मको ३९ किमी क्षेत्र पश्चिम खण्डमा पर्दछ । सो खण्ड पोखरामा स्थापना भएको मुग्लिन–पोखरा सडक योजना कार्यालयले हेर्ने गरेको छ । यसैगरी जामुनेदेखि आँबुखैरेनीसम्मको ४३ किमी सडक पूर्वी खण्डमा पर्दछ । यसको कार्यालय गुणादीमा छ । पश्चिम खण्ड निर्माणका लागि रू सात अर्ब ४० करोड करोड ४६ लाख लागतमा चिनियाँ कम्पनी अनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कम्पनीसँग ठेक्का सम्झौता गरिएको छ । यस योजना ४२ महिनाभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने गरी विसं २०७८ जेठमा ठेक्का सम्झौता गरिएको थियो । यस खण्डको सम्झौताका हिसाबले हालसम्म आधा काम सम्पन्न भइसक्नुपर्नेमा काममा सन्तोषजनक प्रगति नभएको र निर्माण गतिको सुस्तताले गर्दा जनताले सास्ती भोग्नुपरेको भन्दै उपप्रधानमन्त्री श्रेष्ठ तथा मन्त्री ज्वाला सहितको उच्चस्तरीयले निर्माण प्रगतिबारे स्थलगत चासो दिनु भएको हो ।

चाईना कम्पनीले पृथ्वी राजमार्ग अन्तर्गतको पोखरा–मुग्लिन सडकलाई विस्तार गर्ने क्रममा भित्ता खार्ने, टेवा पर्खाल लगाउने र खाल्टोहरु पुर्ने कार्य भईरहेको छ । पहिलो प्याकेजको ६.५ प्रतिशत र दोस्रो प्याकेजको २२.२ प्रतिशत काम पुरा भएको सो अवसरमा जानकारी दिईएको थियो । निरीक्षणका क्रममा निर्माण कम्पनीबाट काममा ढिलाइ भएपछि कामको गति कसरी बढाउन सकिन्छ भनेर छलफल गरिएको थियो । छलफलमा राजमार्गसँग जोडिएर रहेका ऐतिहासिक घाँसीकुवा, एकदेव आले स्मारक पार्क लगायतको लगायतको अतित्व मेट्न नहुने संरक्षण तथा स्थान्तरणको लागि उपमन्त्री श्रेष्ठ तथा मन्त्री ज्वालासँग राजनीतिक पार्टीका नेताले आग्रह गर्नु भएको थियो । ‘राजमार्ग विस्तारको क्रममा ऐतिहासिक स्थलको संरक्षण गर्न मन्त्रीज्यूहरुले ध्यान दिनु होला’’ एकिकृत समाजवादी तनहुँका अध्यक्ष श्रीराम कार्कीले भन्नुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button