राष्ट्रपतिको उत्तराधिकारी म नै हुँः नेता भट्टराई

दमौली खबर संवाददाता

तनहुँ, चैत २२ गते

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तनहुँ १ को उपनिर्वाचनका प्रतिनिधी सभा सदस्यका उम्मेदवार गोविन्द भट्टराईले आफू राष्ट्रपति रामचन्द्र पौडेलको उत्तराधिकारी भएको बताउनु भएको छ । नेता भट्टराईले प्रेस युनियन तनहुँले मङ्गगलबार दमौलीमा आयोजना गरेको पत्रकारका भेटघाट कार्यक्रममा सो कुरा बताउनु भएको हो ।

नेता भट्टराईको राजनीतिक, सैद्धान्तिक, विकास निर्माण, निष्ठा, नैतिकता र निरन्तरताको आधारमा राष्ट्रपतिको उत्तराधिकारी भएको दाबी थियो । गत मङ्सिरमा निर्वाचनको बेला पनि पौडेलले आफू अन्तिम पटक उम्मेदवार बनेको र त्यसपछि तनहुँ क्षेत्र नम्बर १ को जिम्मेवारी लिनु पर्छ भनि भनेको भट्टराईले बताउनुभयो । योग्य व्यक्ति उम्मेदवार भएर विजय भए मात्रै लोकतन्त्र बलियो हुने भट्टराईले बताउनुभयो । पार्टी छोडेर हिड्नेहरु प्रति लक्षित गर्दै नेता भट्टराईले घर फोहोर भयो भनेर घरै छोडेर हिड्न नहुने बताउनुभयो । ‘‘फोहोर भयो भने कसिङ्गर सफा गर्ने हो, रङ्गरोकन गरेर चिरच्याट्ट पार्नपर्छ घर छोडेर हिड्ने हैन’’ भट्टराईले भन्नुभयो । राष्ट्रपतिले उम्मेदवार बन्ने क्रममा जनता समक्षम गरेका बाचा कबुलहरु पुरा गर्ने दायित्व आफ्नो रहेकोले ति बाचाहरु खेर जान नदिने उम्मेदवार भट्टराईको भनाई थियो ।

पार्टीको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको केन्द्रीय अध्यक्ष, नेपाल तरुण दलको महासचिव भएर काम गरिसकेकोले विद्यार्थी र युवाको समस्याको बारेमा जानकारी भएकोले युवा र विद्यार्थीको माग पुरा गर्न सक्ने उहाँले बताउनुभयो । आफ्नो प्रतिस्पर्धीहरु जिल्लाको विकासमा कुनै योगदान नदिएका, राजनीति केहो भन्ने थाहा नपाएका भएका हुँदा जीत निश्चित भएको नेता भट्टराईले दाबी थियो । ६० वटा खानेपानी योजना, विभिन्न पुलपुलेसा, मोटरबाटो, विद्युतिकरण, विद्यालयको शैक्षिक तथा भौतिक विकासमा योगदान दिईसकेको उल्लेख गर्दै आफ्नो जीतको आधार भनेकै जनताको आवश्यकताहरु पुरा गर्न समय दिएकोले मत धेरै पाउने भएको बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button