प्रदेश सरकारको बजेटमा चारकुनेमा ज्येष्ठ नागरिक भवन बनाईदै

दमौली खबर सम्बाददाता
जेठ २६, दमौली । तनहुँको व्यासनगरपालिका १ स्थित चारकुनेमा ज्येष्ठ नागरिक भवनको निर्माण कार्य शुरु गरिएको छ ।
गण्डकी प्रदेश सरकारद्धारा बिनियोजित भएको रु. दश लाखको लागतमा भवन निर्माण कार्य शुरु गरिएको हो ।
वडाका सबै ज्येष्ठ नागरिकहरु जमघट भई आराम गर्ने,गफगाफ गरेर समय बिताउन सहज होस् भनेर भवन निर्माण गर्न लागिएको जलेश्वर ज्येष्ठ नागरिक भवन निर्माण समितिका अध्यक्ष गणेश जिसीले जानकारी दिए । चारकुने टोल बिकास संस्था र वडा कार्यालयको पहलमा सार्वजनिक जग्गा व्यवस्था गरी ज्येष्ठ नागरिक भवन निर्माण कार्य थालिएको उनले बताए । ज्येष्ठ नागरिकहरुले आफुले भनेको स्थानमा जग्गा नदिएको भन्दै केही समय असहमति जनाएका थिए । वडा सदस्य चुडामणि दाहाल,टोल बिकास संस्था,ज्येष्ठ नागरिक र स्थानीयबासीको संयुक्त छलफल पश्चात सहमति भई निर्माण कार्य अघि बढाइएको हो ।

आधारभूत स्वास्थ चौकी नजिकै रहेको सार्वजनिक जग्गामा उपलव्ध गराएर उक्त भवन निर्माण गर्न दिइएको उनले बताए । वडाका ज्येष्ठ नागरिकहरु एक आपसमा जमघट भई दुख सुखका कुराकानी गरेर बस्नको लागि आनन्दस्थल निर्माण गर्नका लागि टोल संस्था समेत सक्रिय भएर लागेको चारकुने टोल बिकास संस्थाका सचिव नबिन वस्तीले जानकारी दिए । त्यसैगरी सोही वडा स्थित धुपखोला नजिक करिब रु.दुई लाखको लागतमा क्रियापुत्री भवन निर्माण कार्य थालिएको छ । वडाले बिनियोजन गरेको बजेट तथा स्थानीयको जनश्रमदान गरी उक्त रकम बराबरको लागतमा क्रियापुत्री भवन निर्माण गर्न लागिएको हो । समय अवधिभित्रै क्रियापुत्री भवन सम्पन्न गर्ने गरी निर्माण कार्य भैरहेको क्रियापुत्री भवन निर्माण समितिका अध्यक्ष सुरेश आचार्यले जानकारी दिए । भवनको अहिले सम्म करिब ९० प्रतिशत काम सम्पन्न भैसकेको उनले बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button