तनहुँ–१ को उपनिर्वाचनमा नौ जनाको उम्मेदवारी कायम

दमौली खबर संवाददाता

दमौली, चैत २४ गते

तनहुँ–१ मा हुने उपनिर्वाचनका लागि नौ जनाको उम्मेदवारी कायम भएको छ । उपनिर्वाचनमा भाग लिन नौ राजनीतिक दलबाट उम्मेदवारी दर्ता भएको र सबैको कायम भएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एक महिला र आठ पुरुषले उम्मेदवारी कायम भई उनिहरुलाई सम्बन्धित दलको निर्वाचन चिन्ह प्रदान गरिएको जिल्ला न्यायधिश कोमलप्रसाद आचार्यले जानकारी दिनुभयो ।

बामलोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापतिको उम्मेदवारी कायम भएको छ । यसैगरी मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका दुर्गबहादुर राना, नागरिक उन्मुक्ति पाटीबाट भीम सुनार र नेपाल कम्युनिष्ट पार्टी समाजवादी पार्टी नेपालका गणेश श्रेष्ठले उम्मेदवारी कायम भएको छ । मङ्गलबार दिउँसो ३ बजेसम्म उम्मेदवारी माथि दावी विरोध गर्ने समय तोकिएकोमा दाबी विरोध नपरेको र बिहीबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी र चुनाव चिन्ह प्रदान गरिएको कार्यालयले जनाएको छ । तनहुँ–१ मा १ लाख २३ हजार ३०५ मतदाता कायम भएका छन् । मङ्सिरको भन्दा एक सय ८५ मतदाता घटेका छन् । पाँच सय २८ जनाको मृत्यु भएकोले मतदाता सङ्ख्या घटेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।

तनहुँ क्षेत्र नं १ बाट निर्वाचित बन्नुभएका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको यसक्षेत्रमा आगामी वैशाख १० गते प्रतिनिधी सभासदस्यको उपनिर्वाचन हुँदैछ । पौडेलले २५ हजार ३ सय ६१ मत मत पाएर विजयी हुनु भएको थियो । उहाँको प्रतिस्पर्धी एमालेका एकबहादुर रानामगरले १९ हजार ९ सय ८१ मत पाउनु भएको थियो । त्यस्तै, सो क्षेत्रबाट स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८८६ मत ल्याउनु भएको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गर्नु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button