तनहुँ–१ को उपनिर्वाचनमा नौ जनाको उम्मेदवार मैदानमा

दमौली खबर संवाददाता

तनहुँ,चैत २२ गते

तनहुँको क्षेत्र नम्बर १ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि नौ जनाले उम्मेदवार मैदानमा रहेका छन् । निर्वाचनमा भाग लिन २६ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दर्ता गरिएको भएपनि नौ वटा राजनीतिक दलबाट उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । निर्धारित समय सोमबार बिहान १० बजे देखि साँझ ५ बजेसम्म एक महिला र आठ पुरुषले उम्मेदवारी दर्ता गराएका हुन् ।

बामलोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापतिले उम्मेदवारी दर्ता गराएको मूख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिनुभयो । यसैगरी मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका दुर्गबहादुर राना, नागरिक उन्मुक्ति पाटीबाट भीम सुनार र नेपाल कम्युनिष्ट पार्टी समाजवादी पार्टी नेपालका गणेश श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको उहाँले जानकारी दिनुभयो । मङ्गलबार दिउँसो ३ बजेसम्म उम्मेदवारी माथि दावी विरोध गर्ने समय तोकिएकोमा दाबी विरोध नपरेको र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आचार्यले जानकारी दिनुभयो । तनहुँ–१ मा १ लाख २३ हजार ३०५ मतदाता कायम भएका छन् । मङ्सिरको भन्दा एक सय ८५ मतदाता घटेका छन् । पाँच सय २८ जनाको मृत्यु भएकोले मतदाता सङ्ख्या घटेको ढकालले जानकारी दिनुभयो । उपनिर्वाचनका लागि ७६० जना कर्मचारी परिचालन गरिने भएको छ । आवश्यक निर्वाचन सामग्रीसहित क्षेत्र नम्बर १ मा पर्ने पाँच वटा पालिकामा उक्त सो सङ्ख्यामा कर्मचारी परिचालन गर्न लागिएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनएको छ ।

कार्यालयका अनुसार तनहुँ १ मा देवघाट गाउँपालिकाका पाँच वटा वडामा ८ वटा मतदान स्थल र १५ वटा मतदान केन्द्र, आँबुखैरेनी गाउँपालिकामा ६ वटा वडामा नौ वटा मतदान स्थल र १७ वटा मतदान केन्द्र, बन्दीपुर गाउँपालिकामा ६ वटा वडामा ११ वटा मतदान स्थल र २२ वटा मतदान केन्द्रमा कायम भएका छन् । यसैगरी, भानु नगरपालिकाको १३ वटा वडामा २१ वटा मतदान स्थल, व्यास नगरपालिकाको वडा नम्बर ५ र ६ बाहेक १२ वटा वडाका २० वटा मतदान स्थलमा ४८ वटा मतदान केन्द्रमा कायम भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानले सुरक्षा व्यवस्था मिलाउने भएकाले म्यादी प्रहरी आवश्यक नपर्ने मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तनहुँ क्षेत्र नं १ बाट निर्वाचित बन्नुभएका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको यसक्षेत्रमा आगामी वैशाख १० गते प्रतिनिधी सभासदस्यको उपनिर्वाचन हुन लागेको हो । पौडेलले २५ हजार ३ सय ६१ मत मत पाएर विजयी हुनु भएको थियो । उहाँको प्रतिस्पर्धी एमालेका एकबहादुर रानामगरले १९ हजार ९ सय ८१ मत पाउनु भएको थियो । त्यस्तै, सो क्षेत्रबाट स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८८६ मत ल्याउनु भएको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गर्नु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button