तनहुँमा चार हजार पाँच सय कर्मचारी खटिने

दमौली खबर संवाददाता
तनहुँ, कात्तिक १४ गते । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि तनहुँमा चार हजार पाँच सय ६३ कर्मचारी खटिने भएका छन् । एक सय ४२ वटा मतदान स्थलमा रहेका ३ सय ५ वटा मतदान केन्द्रमा सो सङ्ख्यामा कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । निजामती एक हजार सात सय ८२ र शिक्षक दुई हजार सात सय ८१ जना गरी चार हजार पाँच सय ६३ जना खटिने उहाँले जानकारी दिनुभयो  । सो सङ्ख्याको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाईएको  सोही कर्मचारीहरु मध्येबाट आवश्यक जनशक्ति निर्वाचनका लागि खटिनेछन् ।
  तीन सय पाँच मतदान केन्द्रमा तीन सय पाँच जना मतदान अधिकृत र सोही सङ्ख्यामा सहायक मतदान अधिकृत खटाईने उहाँले जानकारी दिनुभयो । एक मतदान केन्द्रमा पाँच जना सहायक कर्मचारीका खटाईने कार्यालयले जनाएको छ । निर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी निर्वाचनको सुरक्षामा खटिनेछन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि तीनवटै सुरक्षा निकायले छुट्टाछुट्टै गस्ती गर्ने, मतदान अधिकृतको कार्यालयको सुरक्षा र निर्वाचन सामग्रीको सुरक्षा प्रदान गर्नेछ ।
कार्यालयका अनुसार तनहुँमा दुई लाख ४८ हजार चार सय ९५ जना मतदाताहरु रहेका छन् । तनहुँ क्षेत्र नं. १ मा प्रतिनिधि सभा र प्रदेश सभामा गरी एक लाख २३ हजार ४ सय ९० र क्षेत्र नं. २ मा एक लाख २५ हजार ५ जना मतदाता रहेका छन् । जिल्ला सुरक्षा समितिले सुरक्षा चुनौतीका दृष्टिले अति संवेदनशील, संवेदनशिल र सामान्य केन्द्रका रुपमा वर्गीकरण गरेको छ । समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले एक सय ४२ मतदानस्थलमध्ये सुरक्षाका हिसाबले ६ अति संवेदनशील, ५२ वटा संवेदनशिल ८२ वटा सामान्य रहेको जानकारी दिनुभयो । विगतका निर्वाचनमा भएका घटना, दलको प्रतिस्पर्धा, भौगोलिक अवस्था लगायतलाई आधार बनाइ मतदानस्थलको वर्गीकरण गरिएको उहाँले जानकारी दिनुभयो । निर्वाचनमा मतदानस्थलको अवस्थाका आधारमा सुरक्षा व्यवस्था मिलाइने समितिले जनाएको छ । ती मतदानस्थलबाट मतगणनास्थलसम्म मतपेटिकालाई सुरक्षित ढुवानी गर्न समेत आवश्यक सुरक्षा सजगता अपनाइने प्रजिअ अर्यालले जानकारी दिनुभयो  । संवेदनशील स्थलहरुमा सुरक्षालगायत अन्य हिसाबले प्रबन्ध मिलाइएको उहाँले जानकारी दिनुभयो ।
स्वच्छ,  शान्तिपूर्ण, भयरहित वातावरणमा मतदाताले मत खसाल्न पाउने गरी सुरक्षाको उचित प्रबन्ध मिलाएका छौं’ प्रअिज अर्यालले भन्नुभयो । मतदान स्थलहरुलाई वर्गीकरण गर्दा भूगोल, यातायात, जिल्लागत सीमालगायतका विषयहरुलाई आधार मानेर वर्गीकरण गरिएको समितिले जनाएको छ  । मतदान स्थलमा नेपाल प्रहरी, म्यादी प्रहरी र मोबाईल टोलीमा नेपाली सेना र शसस्त्र प्रहरी परिचालन गरिने अर्यालले जानकारी दिनुभयो ।
     नं.२३ मनकामनागण भानुका गणपति शसस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद आचार्यले प्रतिनिधी सभाको दुई निर्वाचन क्षेत्रमा शसस्त्र प्रहरी नायव निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली र प्रदेश सभाको चार वटा निर्वाचन क्षेत्रमा शसस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ८ जनाको टोली परिचालन गरिने जानकारी दिनुभयो । यसैगरी सहायक शसस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ८ वटा टोली समेत परिचालन गरिने उहाँले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button