व्यास नगरपलिकाद्धारा भोजनको व्यवस्था गरी गिद्धको संरक्षण

दमौली खबर संवाददाता

शिसुवा माघ २१

गिद्धको आहारा सिनोको व्यवस्था गरी तनहुँको व्यास नगरपालिको गिद्धको संरक्षण गरिरहेको छ ।

दिर्घकालिन संरक्षणको लागि गिद्ध रेष्टुरेण्ट सञ्चालन गरेको छ । नगरपालिको सञ्चालन गरेको गौ संरक्षण केन्द्र नजिकै गिद्ध रेष्टुरेण्ट रहेको छ । रेष्टुरेण्टमा भोजनको व्यवस्था गरेपछि लोपोन्मुख अवस्थामा रहेको गिद्ध बढ्न थालेका छन् । प्राकृतिक कूचिकारको रुपमा चिनिने गिद्ध संरक्षण गर्ने उद्धेश्यले गौसंरक्षण केन्द्रमा बुढा भएर मरेका गाई तथा गोरु भोजनको लागि दिन थालेपछि गिद्धको बथान हुलका हुल आउन थालेको पाईएको छ ।

व्यास नगरपालिका–१०, दुम्सी, सिशुवा भतेरीमा गिद्धको लागि आहाराको व्यवस्था गरिएको छ । आहारा पाएपछि त्यस क्षेत्र वरपर विभिन्न प्रजातिका गिद्धहरुको बथान देख्न सकिन्छ । आहाराको कमी र विषाक्त आहारा भएकोले विरामी हुने मर्ने जस्ता कारणले गिद्धहरु लोपहुँदै गएकाले गिद्धहरुको आहारको व्यवस्था गरिएकोे व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले बताउनुभयो । गाई संरक्षण केन्द्रको लागि तीन वटा कर्मचारीको व्यवस्था र वर्षिक १० देखि १५ लाख रुपियाँको पराल तथा चोकरको लागि दिइने गरिएको नगर प्रमुख न्यौपानेले जानकारी दिनुभयो । ‘‘प्रकृतिमा सबैले बाच्ने वातावरण पाउनु पर्छ खाना नभएपछि गिद्ध लोप भएर जाने अवस्था आएकोले गौ संरक्षण केन्द्र मार्फत आहाराको व्यवस्था गरेका छौं’’ नगर प्रमुख न्यौपानेले भन्नुभयो । विद्युत हाइटेन्टन तारमा परेर गिद्धहरु मर्ने गरेकाले त्यसबाट जोगाउनको लागि नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराईएको नगर प्रमुख न्यौपानेले बताउनुभयो ।

छाडा चौपायले सडक अबरुद्ध गर्नुको साथै दुर्घटना समेत हुन थालेपछि व्यास नगरपालिकाको सहयोगमा स्थापना गरिएको शिवालय गौ संरक्षण केन्द्रमा मरेका गाईबस्तुलाई नगाडी सोही ठाउँ नजिकै मादी नदीको किनारको चौरमा यत्तिकै राखि दिन थालेपछि गिद्धहरु आउन थालेको निबर्तमान वडाध्यक्ष तथा शिवालय गौ संरक्षण केन्द्रका अध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो ।

गौ संरक्षण गर्नु अघि गिद्धहरु देखिन कठिन हुने गरेपनि अहिले दैनिक विभिन्न प्रजातिका ६० देखि ७० वटा गिद्धहरु आउने गरेको सापकोटाले बताउनुभयो ।

‘‘सबै गिद्धहरुको नाम त जान्दैनौं सापकोटाले भन्नुभयो, घाँटी खुइले, हिमाली, गरुड, सेतो, राजा, घाँटी लामो भएका र स्थानीय जातका गरी करिब नौ प्रजातिका गिद्धहरु देखिन थालेका छन्’’ । चार वर्ष अघिबाट गौ संरक्षण थालिएको हो । तीन वटा ब्लकमा गरी करिब तीन सय रोपनी सार्वजनिक क्षेत्रफलमा गौ संरक्षण गरिनुको साथै गाईको मल, मुत्र र कुहिने फोहोरलाई प्रयोग गरी बायोग्याँस प्लान्ट निर्माण गरिएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पनि गौ संरक्षण केन्द्रको लागि मद्धत गर्दै आएको छ । गाई विरामी हुँदा पनि पशुचिकित्सको सल्लाहले सिनो खाने क्रममा गिद्ध नमर्ने औषधी खुवाउने गरिएको केन्द्रका प्रमुख डा.बालकुमार श्रेष्ठले बताउनुभयो । पाँच लाख रुपियाँको लागतमा गाइको आवासको लागि टहरो निर्माण गरिदिएको र औषधि उपचारमा मद्धत गरिएको केन्द्रका प्रमुख डा. श्रेष्ठ बताउनुहुन्छ ।

छाडा गाईबस्तुको पालन गर्नाले वातावरणीय सन्तुलन राख्नको लागि सहयोग पुग्ने हुँदा गौ पालनसँगै गिद्ध संरक्षणको लागि सहयोग पुगेको उहाँले बताउनुभयो । सरकारले पनि २०६३ साल जेठबाट ‘डाइक्लोफेनिक’ औषधि बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । उक्त औषधिले गिद्ध मर्ने र बाँच्न असजिलो हुने भएपछि प्रतिबन्ध लगाईएको केन्द्रले जनाएको छ । सो केन्द्रमा १०० वटा गाईलाई संरक्षण गर्दै आएको छ । व्यास नगरपालिकाले केन्द्रको लागि १२ लाख रुपियाँको लागतमा तारबार गरिदिएको केन्द्रले जनाएको छ । गिद्धलाई वातावरण सन्तुलन र प्रदूषण नियन्त्रणको कुचिकारका रुपमा लिने गरिन्छ ।

केही वर्ष हराए पनि लोपोन्मुख अवस्थामा रहेको गिद्ध फेरि बथानमै देखिन थालेको सो ठाउँ स्थित शिसुवा भतेरी कृषि सहकारीका अध्यक्ष यज्ञ प्रसाद शर्माले जानकारी दिनुभयो । ‘‘आहारको व्यवस्थापन गर्नु अघि नदेखिएकोले गिद्ध जिल्लाबाट हराइसकेको जस्तो लागेको थियो अहिले बथानै देखिन थालेको छ’ शर्माले भन्नुभयो, सिनो हराएसँगै गिद्ध पनि हराएका थिए आहार पाएपछि बढेका छन् । गाउँलेहरुले गाई गोरु मर्दा पनि गाड्न थालेपछि आहार नपाउने भएपछि गिद्ध हराएका थिए । ।

गिद्धलाई स्थानीयले वातावरण सरसफाइ र दुर्गन्ध रोकथामको प्रतीक मानिन्छ । गिद्धले गाउँ समाज र वातावरणमा भएको फोहरमैला, सिनोलगायत बस्तुलाई प्रमुख आहारका रुपमा खाने झाडा पखाल जस्ता रोग समाजमा नफैलिएको अध्यक्ष शर्मा बताउनुहुन्छ । विश्वमा ३२ प्रजातिका गिद्ध पाइने गरेकोमा एसियामा ९ र नेपालमा ८ प्रजातिका गिद्ध पाइने गरेका छन् । सानो खैरे, राज हिमाली, खैरे, हाडफोर डंगर, सुन र गोब्रे नेपालमा पाइन्छ । गिद्ध संरक्षणको लागि वडा नम्बर १० मा अभियाननै चलाइएको छ । स्थानीय वासिन्दालाई गिद्धको महत्वको बारेमा सचेतना जगाएर अभियान चलाईएको हो । केही समय अघि स्थानीयलाई गिद्धको महत्व र यसको संरक्षणको बारेमा एक दिने प्रशिक्षण प्रदान गरिएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button