के हुन्छ होला अब

के हुन्छ होला अब
हरिप्रसाद रिमाल

ढाडे मात्र भए सधैँ गलबदी गर्छन् बुझेको कुरा
नङ्राले अनि कोर्दछन् गजबले ङुर्राउँदै बेसुरा
दारा ङिच्च फिजाउँदै बलबुता देखाउने छन् सब
ढाडे हुन् सब दुष्ट लड्न सुरिए के हुन्छ होला अब।।१

यस्ताका भरमा छ देश अहिले दाह्रा तिखा साथ छन्
टोक्लान् झैँ छ कुकर्म मर्म नबुझी हुङ्कारमा व्यस्त छन्
संसद् नाम बिगार्न तत्पर बन्यौ टुक्रा बनायौ जग
ब्वाँसा हौ किन लड्दछौ मनखुसी केे हुन्छ होला अब।२

आऊन् यी शठ फेरि गाउँ घरमा देखाउने छौँ बुता
सोच्ने हो अब मौन बस्नु घटिया लागौँ छिटो हौँ दह्रा
चाबी सुम्पनु हुन्न हुन् ठग सबै जान्यौँ जिताहा सब
सोचौँ नाटक देखियो सब अझै के हुन्छ होला अब।।३

ओलीको पनि देखियो बलबुता तुक्का सबै थारिए
छेपारो सम छन् प्रचण्ड बिचरा नाङ्गै भए मासिए
अर्का बिप्लव कुर्लिदै समरमा स्वप्ना हजारौँ सब
छन् धेरै सपना हुँडार दिलमा के हुन्छ होला अब।४

ढाले सांसदको सभा मन खुसी निर्लज्ज छन् बेसुरा
जान्ने हुन् भनियो विचार नगरी संसद् बनेछन् भुरा
ओली झन् सबमा भए अगतिला रुन्चे यहाँ बालक
यस्ता दुच्छर छन् विशेष अहिले के हुन्छ होला अब।।५

सौचौँ देश रुँदैछ छन् नयनमा धारा यहाँ अश्रुका
डस्छन् नित्य मपाइँ बन्न सुरिए बन्दै गए झन् रुखा
हेर्दैनन् सुखभोग झाँग बनिदा यो देशमा खल्बल
आयो मानवचेत भ्रष्ट बनियो के हुन्छ होला अब।।६

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button