दशैं र तिहारको ऋण चुक्ता गर्न बोटेद्धारा बालुवामा सुन खोजी
दमौली खबर संवाददाता
तनहुँ, मङ्सिर १३ । दशैं र तिहार चाड मनाउन लागेको ऋण तिर्न तनहुँको व्यास नगरपालिका–१० स्थित कुमालटारी, माथिल्लोबाटे गाउँका बोटेहरु सुन खोज्न नदी किनारातर्फ लागेका छन् । आर्थिक अवस्था कमजोर रहेका यहाँका अधिकांश बोटेहरु दशैं र तिहारमा मासु, नुन, तेल र छोराछोरीको लत्ता, कपडा लगायत साहुसँग ऋण लिएर किनेर चाडपर्व मनाउने गर्छन् र त्यो ऋण बालुवा फेला परेको सुन बिक्री गरेर तिर्ने चलन रहेको छ ।
दशैं र मनाउन ३० हजार ऋण लागेकोले सुन खोज्न हिँडेको सो ठाउँ निवासी मेखलाल बोटेले बताउनु भयो । क्रसर उद्योगले नदी किनारमा थुप्रिएका बालुवा उठाईदिने गरेकाले सुन पाउन कठिन हुने गरेकाले ऋण कसरी तिर्ने भन्ने चिन्ता भएको उहाँले बताउनुभयो । दुई ठुला चाड मनाउन साहुसँग ऋण लिएर मनाउने र बालुवा सुन खोजेर बिक्री गर्ने पुरानो चलन हो’’ उहाँले भन्नुभयो । सिमान्तकृत बोटे समुदायहरुको बालुवामा सुन खोज्ने पूख्र्यौली पेशा हो । काम गर्न सक्नेहरु ओढ्ने ओछ्याउने र पकाउने भाँडा, कुडाका गुन्टाहरु बोकेर नदी किनारमा नै पाल टाँगेर वसेर सुन खोज्ने काम गछन् भने नसक्ने बुढाबुढी र केटाकेटीलाई भने घरमा छाडेर सुन खोज्न जाने चलन रहेको सोही ठाउँकी अस्मिता बोटेले जानकारी दिनुभयो ।
अधिकांश वोटे घर परिवार गर्मी समयमा खेती किसानी गर्ने र हिउँद लागेपछि नदीमा सुन खोजेर जिविकोपार्जन गर्दै आएका छन । गुजारा चलाउन कात्तिक देखि वैशाखसम्म डुड, पार्टी, चनौटो जस्ता सुन चाल्ने सामान लिएर नदी किनारमा सुन खोज्ने प्रचलन रहेको सोममाया बोटेले जानकारी दिनुभयो । कालीगण्डकी, बूढीगण्डकी, मस्र्याङ्दी र त्रिशूलीको बालुवामा सुनका कण भेटिने हुँदा उक्त नदी किनारामा सुन खोज्न जाने गरेको उहाँले जानकारी दिनुभयो ।
सो ठाउँमा ४० वोटे मध्ये अधिकांश वोटेहरुले सुन चाल्ने पेशालाई निरन्तरता दिएका छन् । सुनकोशी, कर्णाली, महाकाली जस्ता नदीमा सुन प्रशस्त पाईने र त्यता जान खर्च बढी लाग्ने हुँदा नगएको फूलमाया बोटेले जानकारी दिनुभयो । कुमालटारी क्षेत्रमा पाखे बोटे र पानी वोटे गरी करीव ९० घर परिवार वसोबास गर्छन् । पाखे बोटेले माछा मारेर जीवन गुर्जाने गर्छन् भने पानी बोटेले बालुवा खुन खोजेर जीवन चलाउँछन् । दशैं पछि नै सुन खोज्न जाने भएपनि यसपाली दशैंमा धेरै वर्षा भएकाले अधिकांश तिहार पछि मात्रै सुन खोज्न हिँडेको सुकमाया बोटेले जानकारी दिनुभयो । सोही ठाउँ नजिकै रहेको बैरेनी स्थित चण्डिदेवी राष्ट्रिय माध्यामिक विद्यालयका पूर्व प्रधानाध्यापक हरिशरण पण्डितले स्थानीय चण्डिदेवी राष्ट्रिय माध्यामिक विद्यालय र शिव माध्यामिक विद्यालय भएकाले शैक्षिक चेतनास्तरमा विकास हुँदै गएपनि बढी परम्परावादी भएकोले बोटे समुदाय पछाडि परेको बताउनुभयो ।
सदरमुकाम बन्ने क्रममा दमौलीबाट विस्थापित गर्ने क्रममा जमिन थोरै पाएकाले आर्थिक लाभ लिन नसकेकोले उनिहरु पछाडी पर्न गएको जानकारी प्रधानाध्यापक पण्डितले बताउनुभयो । ‘‘मदिरापान र सोझोपनले उनिहरु पछाडि परेका छन् त्यसलाई छिचोल्ने खालको कार्यक्रम समुदायमा पु¥याउन जरुरी छ’’ पण्डितले भन्नुभयो । बोटेहरुले माछा मार्ने जालो पनि लिएर जाने गर्दछन् । माछाको परिकार खाने र नदी किनारमा नै बास बसेर बालुवा सुन छान्ने काम गर्छन् ।