(बालक)

हरिप्रसाद रिमाल

बालक बबुरा घर-घर बस्छन्
पढ्न नपाई दिन-दिन रुन्छन्
उन्नति हाम्रो कसरी होला
पढ्न नपाई निभ्छ कि चोला।।१

गुरुजन हाम्रा पनि भयमाझ
दीप निभेझैँ भो जग आज
पढ्न मिलोस् हे मातर भन्दै
सविनय हामी छौँ दिन गन्दै।।२

कहिले मिल्ला पढ्न भनेर
छौँ दिन गन्दै सबतिर हेर
त्रास हटाई प्रेम सजाऊ
विद्यालय सब खोल्न लगाऊ।।३

पुस्तक बोकी हिड्न सिकाऊँ
त्रास हटाई पढ्न पठाऊँ
विद्यालयको सान बढाऊँँ
चिन्तन राम्रो सबले ल्याऊँ।।४

बालक हाम्रा नव प्रतिभा हुन्
ज्ञान दिएमा असल प्रभा हुन्
काम लगाई बालकलाई
दु:ख दिने हुन् दुष्ट कसाई।।५

कण्ठ गराऊँ ज्ञान सुनौला
पढ्न सिकाऊँ पुस्तक नौला
चित्त सपारौँ कञ्चन पारौँ
बालक हाम्रा सभ्य बनाऊँ।।६

संस्कृति हाम्रो बुझ्न सिकाए
भाषिक भाषा बोल्न लगाए
बालक बन्छन् दीप समान
भावुक होलान् बालकसान।।७

हरिप्रसाद रिमाल
झापा –चाराली

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button