बाँकी कुरा के रह्यो?

बाँकी कुरा के रह्यो?
-रामचन्द्र घिमिरे

आयो तन्त्र नवीन लोक गण भो फेरेर नामाङ्कन
भ्रष्टाचार गरेर दुष्ट मतिका मान्छे गरी रक्षण
बिग्रेको घर झैँ कठै हुन गयो यो देश राम्रै थियो
बन्ने छाँट मिलाउने स्थिति बने बाँकी कुरा के रह्यो।

मान्छेका मनमा अनेक-तिरका हालेर नौला कुरा
आए खान भनी विधायकहरू टन्नै बने माकुरा
जालोमा निमुखा सबै फसिगए साँचो कुरा लेखियो
फोस्रा भाषणबाज छन् पर हटून् बाँकी कुरा के रह्यो!

जो प्राचीन छ नासिदैँन तर खै!बेकार छन् लेखिए
हानाथाप बढाउने नियतमा नेता नयाँ देखिए
भाषा संस्कृति मर्म धर्म नहुने मन्त्री बन्यो देखियो
हट्नै पर्छ तुरुन्त उद्यम हओस् बाँकी कुरा के रह्यो।

बाटो खास उही छ राष्ट्रभरमा कुद्छन् नयाँ सन्तति
भन्छन् यो अधिराज्य हो जनहरू दिन्छन् सुनी सम्मति
मात्रै दन्तबजान हैकम ठुलो पारेर सत्ता खियो
निर्धाको अधिकार होस् यति भए बाँकी कुुरा के रह्यो।

सत्ता मत्त भएर आज अहिले विध्वंशमा देखियो
हाम्रो राष्ट्र बचाउने स्थिति मिलोस् सत्पात्र खाँचो भयो
आओस् राज्य उही पुरातन हुने जे जो हटेको थियो
राजा रङ्क समान हुन् यति भए बाँकी कुरा के रह्यो।।

सिफल काठमाण्डौ।
-९८४१३८८५४०

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button