गण्डकी विश्व विद्यालय तनहुँको बेलचौताराबाट सञ्चालन ल्याउन पहल कदमी

दमौली खबर संवाददाता
अमरराज नहर्की :- तनहुँ समाचारदाता
तनहुँ, कात्तिक १३ गते । गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्व विद्यालयको मूख्य कार्यालय नै तनहुँको शुक्लागण्डकी नगरपालिकाले आफ्नो पालिकाको क्षेत्रबाट सञ्चालन ल्याउन पहल कदमी गरेको छ । नगरपालिकाको वडा नम्बर ५ स्थित बेलचौतारामा सञ्चालन गर्न पहल गरेको हो ।
विश्व विद्यालय सञ्चालनको लागि नगरपालिकाले गौरवको योजनामा समावेश गरी कार्य अघि बढाईरहेको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो । स्थान चयनको लागि गठित कार्यदलले बेलचौतारा स्थित भानुभक्त क्याम्पससँगैको स्थान उपयुक्त हुने जनाएकोेले सञ्चालनको लागि पहल कदमी गरिएको पण्डित बताउनुहुन्छ । वडा नम्बर ५, ८, ९, र २ सार्वजानिक जग्गा प्रशस्त रहेकोले विश्वविद्यालय सञ्चालनको लागि पहल गरिएको नगर प्रमुख पण्डितले जानकारी दिनुभयो । ‘विश्वविद्यालय सञ्चालनको लागि मापदण्ड अनुसारको जमिन हामीसँग भएकालेले सबै पूर्वाधारहरु बनाउन आग्रह गरेका छौं’ नगर प्रमुख पण्डितले भन्नुभयो । विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङ नेतृत्वको टोली हालै गरेको स्थलगत निरीक्षणमा सार्वजानिक जमिन धेरै भएकोले सम्भावना रहेको जनाएकोले उत्साह जागेको नगर प्रमुख पण्डितले बताउनुभयो । सो क्षेत्रमा प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई महत्व दिँदै गण्डकी विश्वविद्यालयलाई एउटा शिक्षण अस्पतालसहित चिकित्सा विज्ञान शिक्षण कार्यक्रम पनि समावेश गर्ने कार्य अघि अनुसार काम भइरहेको शुक्लागण्डकी नगरपालिकाले जनाएको छ ।  सो शिक्षण अस्पताल मात्रै नभई अन्य पूर्वाधारको लागि पनि जमिन  भएकोले मूख्य कार्यालय पनि यही क्षेत्रमा राख्न आग्रह गरिएको उपप्रमुख खुमबहादुर बिक राजुले जानकारी दिनुभयो । आफ्नै ठाउँमा विश्वविद्यालय सञ्चालनको स्थानीयले सहर्ष स्वागत गरेकोले पहल कदमी भईरहेको उपप्रमुख विक बताउनहुन्छ । ‘गण्डकी विश्वविद्यालय तनहुँबाटै सञ्चालनको मुख्यमन्त्रीसमक्ष आग्रह गरिएको नगर पालिकाले जनाएको छ ।
विश्व विद्यालयको लागि आवश्यक जमिन सहज रुपमा उपलब्ध गराउन  अतिक्रमण गरेर बनाइएका संरचना हटाउन नगरपालिले सूचना जारी गरिसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेले जानकारी दिनुभयो । सार्वजनिक जग्गा, स्थल र सडकको क्षेत्राधिकार मिचेर बनाइएका संरचना हटाउने निर्णय भएको उहाँले बताउनुभयो । अतिक्रमण गरी बनाइएका संरचना हटाउन नगरपालिकाले हालै ३५ दिनको सार्वजानिक सूचना जारी गरिसकेको न्यौपाने बताउनुहुन्छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) मा सार्वजनिक ऐलानी तथा पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा र भौतिक पूर्वाधारको संरक्षण तथा सुरक्षाको जिम्मेवारी नगरपालिकाको हुने भएकोले हटाउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
सार्वजनिक जग्गा प्रयोग गरी सञ्चालन गरिएका व्यापार तथा व्यवसाय, सडकको क्षेत्राधिकारभित्र सञ्चालन भएका व्यवसाय, सार्वजनिक जग्गा, राजमार्ग तथा भित्री सडक ओगटी गरिएका निर्माण कार्य, सार्वजनिक जग्गा तथा सडकको क्षेत्राधिकारभित्र सञ्चालित ठेलागाडा तथा घुम्ती सवारी साधन हटाउन आग्रह गर्दै ३५ दिनभित्र उक्त संरचना नहटाइए नगरपालिकाले नै हटाउने न्यौपानेले बताउनुभयो । विश्वविद्यालय सञ्चालनको निम्ति पोखरा महानगरपालिका–३२ स्यालटारमा ७ सय ५० रोपनी र तनहुँको शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा ८ सय रोपनी क्षेत्रफल जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइएको छ । गण्डकी प्रदेश पर्यटनको उत्कृष्ट गन्तव्य भएकाले विश्वविद्यालयले विज्ञान प्रविधिका साथसाथै ‘पर्यटन समाजशास्त्र,’ ‘अतिथि सत्कार,’ ‘हाइड्रोपावर’ जस्ता विषयलाई प्राथमिकतामा राखेको कुलपति गुरुङ बताउनुहुन्छ । कानुन, स्टाफ नर्सलगायत विषयसमेत विस्तार गर्ने योजना गण्डकी विश्वविद्यालयको रहेको छ  । विश्वविद्यालयको भौतिक संरचना, दीर्घकालीन कार्ययोजना, पाठ्यक्रम तथा पाठ्यसामग्री निर्माणका निम्ति स्वदेश तथा विदेशका विज्ञहरूको सङ्लग्नता काम अघि बढाईने बताईएको छ ।
प्रदेश सरकारले गण्डकी विश्वविद्यालय स्थापना, सञ्चालन र व्यवस्थापन गर्न बनेको विधेक २०७६ पारित गरेको थियो । जीवनपयोगी मूल्यमान्यतामा आधारित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम र नेतृत्वदायी जनशक्ति तयार गर्न गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले ऐनपारित गरी गण्डकी प्रदेश सरकारले विश्वविद्यालय स्थापना थियो । गण्डकी प्रदेश जलस्रोतको धनी भएकोले मुख्य रूपमा हाइड्रोपावर ध्यान दिएको छ । हिमनदी, तालतलैया, पहाड–पर्वत तथा सौन्र्दयको धनी भएकाले विश्वविद्यालयमा हाइड्रोपावर, टुरिज्म तथा आइटीसँग सम्बन्धित विषयवस्तुमा आधारित रहेर पाठ्यक्रम तयार पार्ने गृहकार्यमा विश्वविद्यालय जुटेका छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button