कोरोनाले खायो दुई वर्षको होली

व्यास ३ अमरापुरीकी व्यापारी रानु शाह आईतबार बिहानैदेखि सफासडक चोकमा बसी होलीमा लगाइने टिसर्ट लगायत रङको स्टल राखेर बसिरहेकी थिईन् । तर ग्राहक नआएका कारण उनले बेच्न राखेको कपडा बिकेको थिएन। बल्ल तल्ल केही टिसर्ट र अबिर बेचेर करिब २ हजार पाँच सय रुपैयाँ संकलन गरेको उनले बताईन् । शाहले भनिन् ‘पोहोर साल एक रुपैया पनि आम्दानी भएको थिएन । अघिल्लो वर्ष करिब ७ हजार रुपैयाँ बराबरको सामन बेचेको थिएँ।

गएको वर्ष जस्तै आज त मान्छे नै छैनन् किन्ने।’ उनको मात्र होइन, होलीका साम्रागी प्रायः व्यापारीहरुको हालत उही छ। कोही व्यापारी त बाटोमा हिड्ने सर्वसाधारणलाई बोलाएर सामान बेच्न खोजिरहेका थिए। तर मान्छेको ध्यान ती सामाग्रीमा थिएन। केही मानिसहरु भनिरहेका थिए, ‘ गएको वर्ष र यो वर्ष पनि त्यस्तै भो अब अर्को बर्ष खेलौंला।’ अर्का व्यापारी रमेश पराजुलीले यसपालीको बिक्री आधा पनि नभएको बताए। उनलाई लगानी डुब्ला कि भन्ने चिन्ता छ। उनले भने भने, ‘ गएको वर्ष जस्तै यसपाली त कोरोनाले खायो होली। आधा पनि बिक्री छैन ।’

अर्का व्यापारी रितेश शाह पनि पिच्करी, रङ तथा अबीर बेच्न बिहानदेखि बसेका भेटिए। उनको पनि हालत अन्य व्यापारीको जस्तो भएको उनले सुनाए। दमौलीका सडक र गल्लीमा यस वर्ष पनि निकै कम चहलपहल रहेको थियो। दमौली बजारका रोडमा होली खेलेकाभन्दा सुकिला मुकिलाको संख्या बाक्लो थियो । ह्याप्पी होली लेखेको सेतो टिसर्टमा जहाँ केही संख्यामा युवायुवती होलीको शुभकामना साटासाट गर्दै रंग दलिरहेका थिए । सडकमा भन्दा पनि घरका छतमा बसेर धेरैले होली खेलिरहेका थिए ।

तनहँु प्रहरी र जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको संक्रमणबाट जोगिन भन्दै सामूहिक रुपमा होली नमनाउन माइकिङ गरेको थियो सोही अनुसार तनहँुमा पनि त्यसको असर परेको थियो । तनहँु प्रहरी प्रमुख एसपी अरुण पौडेलले अघिल्लो दिन नै माइकिङ गरेकाले सामूहिक होली रोकिएको दाबी गरे । उनले भने, ’कोरोना भाइरसको संक्रमणबाट जोगिन प्रहरी प्रशासनको आग्रहलाई स्थानीयले आत्मसात गर्दा होली शान्तिपूर्ण भयो । केही व्यक्तिलाई भने विभिन्न स्थानबाट नियन्त्रणमा लिएका छौं।’ लोला हानेको र पानी छ्यापेको कतै कतै मात्र देखिन्थ्यो। पारिवारिक जमघटमा होली घरघरमै खेलेको देखिन्थ्यो ।

पहिला पहिला छयाप्छयाप्ती रुपमा दमौली बजारमा भेटिने रंग, अबिर तथा केटाकेटीहरुको लागि रंग छर्किने बन्दुकसहितका सामग्रीहरु कम मात्रामा देखिएका थिए। होलीको अवसरमा दमौली बजार भरिभराउ हुने गरेकोमा गएको वर्ष र यसपालि खासै रौनक नदेखिएको व्यास २ की चन्द्रमाया श्रेष्ठले बताईन् । उनले भनिन्, होलीको अवसरमा अघिल्ला वर्षमा दमौलीमा ठूला ठूला कार्यक्रमहरु भएका थिए , दुई वर्ष देखि होलीको रौनक छाएको छैन । ” कोरोना भाइरसकै कारणले रोट्रयाक क्लब अफ दमौलीले आयोजना गर्न लागेको होली महोत्सव समेत अन्तिम समयमा आएर रोकिएको थियो । प्रशासनले कोरोना भाइरसको जोखिम रहेको भन्दै सभा, सम्मेलनहरु नगर्न गरेको आग्रह अनुसार दमौलीमा हुने विभिन्न होली हंगामा कार्यक्रम रोकिएको रोट्रयाक क्लब अफ दमौलीका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । उनले कार्यक्रममा भिडभाड हुने भएकोले संयमताको लागि कार्यक्रम नगरिएको बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button