हुन थाल्यो पढाई

आईतबार दिउँसो २ बजे व्यास नगरपालिका वडा नं ६ अम्रेनी स्थित रहेको ईन्दु माध्यमिक विद्यालयमा विद्यार्थीहरु झोला बोकेर घर जाँदै थिए । अघिपछि यो समय ‘टिफिन टाइम’ हुन्थ्यो। विद्यार्थी खाजा खाइरहेका हुन्थे होला। अहिले परिस्थिति अलि फरक छ। ६ महिना लामो कोरोनाको कहरकाबीच विद्यालय खुल्न थालेका छन्। पूर्ण रुपमा कहिले खुल्छन् भन्न सक्ने अवस्था छैन विद्यालयमा भेटिएका विद्यार्थी पनि केही सचेत देखिन्थे। आपसमा हात मिलाइरहेका थिएनन्। अघिपछि जस्तो आपसमा अंकमाल पनि गरेको देखिँदैनथ्यो। बरु उनीहरु भौतिक दुरी कायम गरेर हिँडिरहेका थिए।

विद्यालयको गेटभित्र प्रवेश गर्दा र घर फर्किदाँ पनि उनीहरु सजग देखिन्थे। सबै बिहान १० बजे विद्यालय आए । विद्यालय गेटभित्र प्रवेश गर्नासाथ प्लाष्टिकको ट्यांकी राखिएको थियो, त्यसको बगलमा साबुन पनि राखिएका थिए। विद्यार्थी लाइनमा बसेर पालैपालो हात धोएर मात्रै कक्षा कोठामा प्रवेश गरे। कसैले त झोलामा स्यानिटाईजर बोकेर आएका थिए । विद्यालयका प्रधानाध्यापक रामकाजी श्रेष्ठका अनुसार स्वास्थ्य मापदण्ड पालना गरि बिहान १० बजे देखि दिउँसो २ बजे सम्म विद्यालय सञ्चालन भएको छ । ‘विहान१० बजे देखि २ बजेसम्म विद्यालय सञ्चालन गरेका छौं,’ श्रेष्ठ भने ‘ सकभर एउटा बेञ्चमा एउटा मात्रै विद्यार्थी बसाल्छौं र सबैले अनिवार्य मास्क लगाउँछौं।’ व्यास १२ कमलबारीमा रहेको सिद्धेश्वरी माविमा विहान ८ बजेदेखि बेलुका ४ बजेसम्म सिफ्ट मिलाएर पढाउन सुरु गरेको छ। प्रधानाध्यापक नारायणप्रसाद अधिकारी अनुसार बिहान ६,७ र ८ कक्षाको पढाई हुन्छ। दिउँसो शिशुदेखि ५ कक्षाको पढाई हुन्छ। अन्तिमा ९ र १० कक्षाको पढाई गर्न थालिएकोविद्यार्थीको संख्या धेरै हुँदा तीन सिफ्टमा कक्षा सञ्चालन गर्नु परेको अधिकारीले बताए।

उनले एउटा कक्षालाई तीन सेक्सनमा बाँडेर दैनिक बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म पढाउन थालेको बताए। तर, सबैतिर यस्तो व्यवस्था छैन। व्यास ६ मा रहेको शंखर प्रा.विमा भने एक सिफ्ट मात्रै सञ्चालन गरिएको छ। प्रधानाध्यापक दिपक काफ्लेले विद्यार्थीको संख्या थपिँदै जान थालेपछि दुई सिफ्टमा कक्षा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए। व्यास नगरपालिकाको क्षेत्रमा अधिकाँश विद्यालय ग्रामिण क्षेत्रमा मात्रै सञ्चालनमा आएका छन्। एउटा कक्षा कोठामा २५ जना विद्यार्थी राखेर पढाउन थालिएको छ। यसरी पढाउँदा विद्यार्थी र शिक्षकलाई मास्क अनिवार्य गरिएको छ। मास्क नलगाई आउने विद्यार्थीलाई विद्यालयमै मास्कको व्यवस्थापन समेत गरिएको छ। व्यास नगरपालिकाको शिक्षा शाखा प्रमुख नगेन्द्र रेग्मीले विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको स्वास्थ्य मापदण्ड अवलम्बन गर्दै शिक्षण संस्था खोल्न थालिएको जानकारी दिए। सामुदायिक विद्यालय र संस्थागत विद्यालयको छलफलबाट पठनपाठन संचालन गर्ने निर्णय भएसँगै विद्यालय सञ्चालनमा आउन थालेका हुन्।

‘पूर्ण सुरक्षा सतर्कता अपनाएर विद्यालयलाई सिकाइ केन्द्रका रूपमा सञ्‍चालन गर्न भनिएको छ’ रेग्मीले भने ‘मापदण्ड पूरा नगरी विद्यालय सञ्चालन गर्न पाइँदैन।’ लामो समयदेखि बन्दाबन्दीका कारण ठप्प रहेका व्यास नगरपालिका क्षेत्रका विद्यालयहरु सञ्‍चालन हुने भएपछि धमाधम विद्यार्थी भर्ना थालेको नीजि विद्यालयहरुको छाता संगठन एनप्याब्सन तनहँुको सह–सचिव विश्वास के.सीले जानकारी दिए। ‘विद्यार्थी धेरै आत्तिएका रहेछन्,’ के.सीले भने ‘धमाधम विद्यालय आउन थालेका छन् र हामीले सजगता अपनाएर मात्रै आउन भनेका छौं।’ तर सर्वसाधारण अभिभावक भने अझैं पनि निश्चिन्त हुन सकेका छैनन्। ‘यस्तो डरलाग्दो समयमा कसरी पढ्न पठाउने हो,’ कमलबारीका सोम परियारले भने ‘ पढ्न पठाम् कोरोना सर्ला भन्न डर छ, नपठाम पढाई छुट्ला भन्ने चिन्ता छ।’

उनले के गर्ने नगर्ने भन्ने बारेमा आफू अन्यौलमा रहेको बताए। त्यस्तै उनले अब चाडपर्व आउन लागेकाले फेरि लामो विदा हुने र शुल्क मात्रै तिर्नुपर्ने अवस्था आउँछ कि भन्ने चिन्ता पनि व्यक्त गरे। ‘अघिपछि जस्तै दशैं तिहारको एकैसाथ एक महिना बढी विद्यालय विदा हुने हो भने त बेकारमा पैसा तिर्न मात्रै किन पठाउने हो र,’ परियारले भने ‘ आधा वर्ष घर्किसकेको समयमा विद्यालयहरु अब चाडपर्व विदा गर्नु हुन्न।’ व्यास ३ का विनोद बस्नेतले पनि अझै ढुक्क हुने अवस्था नरहेको बताए। ‘सावधानी अपनाएर विद्यालय संचालन गरेपनि कसरी ढुक्क हुन सकिन्छ,’ उनले भने ‘ कोरोना भाइरस संक्रमण दर न्युन रहेको समयमा बन्द गर्ने तर अहिले उच्च रहेको समयमा विद्यालय सञ्चालन गर्नु उचित होइन।’

सहरी क्षेत्रमा कतिपय विद्यालयले वैकल्पिक माध्यमबाट शिक्षण सिकाई गरिरहे पनि त्यसको प्रभावकारितामा समेत कतिपय अभिभावकले प्रश्न उठाएका छन्। ‘अनलाइन शिक्षा पैसा असुल्ने खेल मात्रै भइरहेको छ,’ नाम उल्लेख नगर्ने सर्तमा एक अभिभावकले भने ‘ मेरो बच्चाले त्यसरी पढाएको केही बुझ्दैन भन्छ र घरमा पनि पढ्दै पढ्दैन भने त्यो अनलाइन शिक्षाको के अर्थ भो?’ नीजि विद्यालयले अनलाइन शिक्षाको नाममा पैसा असुल्ने मात्रै गरेको उनले आरोप लगाए।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button