टोल टोलमा स्वास्थ्य स्वयंसेवक

दमौली खबर संवाददाता
होम आईसोलेसनमा रहेका कोरोना संक्रमितको अवस्था बुझन र अप्ठेरोमा परेकालाई सघाउन भन्दै शुक्लागण्डकी नगरपालिका ८ ले टोल टोलमा स्वास्थ्य स्वयंसेवक परिचालन गरेको छ ।
विज्ञहरु अनि सामाजिक संजालमार्फत आएको सुझावअनुसार १८ जना स्वास्थ्य स्वयंसेवा टोल टोलमा परिचालन गरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए । उनले भने, ‘आपतकालिन स्वयंसेवकहरुले बिरामी व्यक्तिहरुको अवस्थाबारे जानकारी लिंदै आवश्यक परे सघाउने काम गर्दछन् । ’ कोरोनाको कहर पछि जारी निषेधाज्ञामा घरमा नै रहेका जनशक्तिलाई वडाले आग्रह गरेर परिचालन गरिएको उनले बताए ।

उनका अनुसार स्वास्थ्य सहायकसँगै स्टाफ नर्स, अनमी, सिएमए, रेडियोग्राफी, ल्याब असिस्टेन्ट लगायत कोर्ष पूरा गरेका स्वास्थ्यकर्मीहरु परिचालन गरिएको छ । उनीहरुलाई चाहिने अक्सिमिटर, थर्मोमिटर, मास्क, सेनिटाइजर, फेस सिल्ड, ग्लोब्सलगायत सामग्री वडाले नै उपलब्ध गराएको वडाअध्यक्ष रेग्मीले बताए । वडाले बिएससी नर्सिङ पूरा गरेकी मनीषा ढकाल लम्साललाई संयोजकत्वमा स्वास्थ्य स्वयंसेवकलाई प्रशिक्षण दिने गरी कार्यक्षेत्रमा खटाइएको उनले बताए ।

स्वयंसेवकले उच्च सतर्कताका साथ घरमा नै बिरामीको चेकजाँच गर्ने, कोरोनाको डरले रोग लुकाएर बसेका जनतालाई उचित परामर्शका साथ अस्पतालसम्म पु¥याउन मद्दत गर्ने तथा लक्षण देखिएकालाई वडासँग समन्वय गरी पिसिआर गर्न सिफारिस गर्ने लगायतका काम गर्नेछन् । उक्त अभियानले आइसोलेसनमा बस्नेहरूलाई टोल छिमेकबाट दुव्र्यवहार नहोस् र संक्रमितको पनि मनोबल बढोस् भनेर वडाको विश्वास छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button