तनहुँमा क्षयरोगका कारण १० जनाको मृत्यु

दमौली खबर संवाददाता

दमौली, चैत १२

चालु आर्थिक वर्षमा तनहुँमा तीन सय १२ जना क्षयरोगका नयाँ बिरामी भेटिएका छन् । विश्व क्षयरोग दिवसको अवसरमा शुक्रबार दमौलीमा आयोजित पत्रकार र जनप्रतिनिधीसंगको अन्तरक्रिया कार्यक्रममा सो कुराको जानकारी गराइएको हो ।

स्वास्थ्य कार्यालय र व्यास नगरपालिका कार्यालयको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले स्वास्थ्य क्षेत्रमा व्यास नगरपालिकाले प्राथामिकता दिएर काम गर्दै आएको बताउनुभयो । क्षयरोग न्यूनिकरणका लागि स्वास्थ्यकर्मीले मात्रै नभई सबै तह र तप्काका संघसंस्था र व्यक्ति सक्रिय भएर लाग्नु जरुरी रहेको नगर प्रमुख न्यौपानेको भनाई थियो । स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले चालु आर्थिक बर्षमा दश जनाले ज्यान गुमाएको जानकारी दिनुभयो । मृत्यु हुनेमा सबैभन्दा धेरै व्यास नगरपालिकामा रहेका छन् । व्यासमा चार जना, बन्दिपुरमा तीन, शुक्लामा दुई र भानुमा एक जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षमा सात सय ८३ क्षयरोगका बिरामी पत्ता लगाउने लक्ष्य राखिएकोमा तीन सय १२ जना मात्रै पत्ता लगाउन सकिएको छ । दमौली अस्पतालका मेडिकल अधिकृत डा.सुशिल बिकले क्षयरोग सरुवा रोग भएकोले सचेत बन्नुपर्ने बताउनुभयो । सुगर,एचआइभी र कुपोषण भएका व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकोले क्षयरोग छिटो सर्ने जोखिम हुने बताउनुभयो ।

फोक्सोको क्षयरोग भएका विरामीहरुले खोक्दा, हाच्छिउँ गर्दा र थुक्दा क्षयरोगका किटाणुहरु वाहिर वातावरणमा निस्कन्छन् र स्वस्थ मानिसमा श्वास प्रश्वासको माध्यमबाट फोक्सोमा पुग्दछन् र क्षयरोग लाग्ने डा. विकले बताउनुभयो । क्षयरोगका किटाणुबाट प्रभावित भएका सबै व्यक्तिलाई क्षयरोग लाग्दैन । यदि क्षयरोगका किटाणुहरुले आक्रमण गरेका व्यक्तिहरुमा रोगसँग लड्ने क्षमता राम्रो छ भने रोग लाग्दैन ।

तर रोगसँग लड्ने क्षमता कम भए यो रोगले छिटो आक्रमण गर्दछ । जस्तै ः कुपोषण, एच.आई.भी.संक्रमण भएका मानिसहरुमा यो रोग छिटो विकसित हुन्छ । एक जना क्षयरोगीले १ बर्षमा १० देखी १५ जनालाई रोग सार्न सक्छ ।

क्षयरोगको औषधी र परीक्षण नेपालका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीबाट निशुल्क पाइने व्यवस्था रहेको छ ।

फोक्सोको क्षयरोग भन्नाले फोक्सोमा लागेको क्षयरोगलाई जनाउँछ यसलाई पनि २ भागमा बाँडिएको छ । खकारमा क्षयरोगका कीटाणु देखिने (खकार पोजिटिभ) र खकारमा क्षयरोगका कीटाणु नदेखिने (खकार निगेटिभ) किसिमका लक्ष्य हुने गर्दछ ।

फोक्सो बाहेक शरीरको अन्य भागमा लाग्ने क्षयरोग जस्तै ः पेट, आन्द्र, हाड–जोर्नी, मुटुको झिल्ली, मस्तिष्कको झिल्ली, ग्रन्थी तथा प्रजनन् प्रणलीहरुमा असर गर्ने गर्दछ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको २०७८÷०७९ को बार्षिक प्रतिवेदन अनुसार ३७,८६१ विरामीहरु दर्ता भएका छन् । जस मध्ये ५८ प्रतिशत पिबिसी १३, प्रतिशत पिसीडी २९ र इपी विरामीहरु रहेका छन् ।

व्यासका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जापान नेपाल स्वास्थ्य तथा अनुसन्धान संस्थाका जिल्ला कार्यक्रम अधिकृत कृष्ण लम्साल,क्षय,कुष्ठ रोगका फोकल पर्सन सुदीप कँडेल,नेपाल पत्रकार महासंघ तनहुँका उपाध्यक्ष डिपी अधिकारी,लक्ष्मी गुरुङ्ग लगायतका वक्ताहरुले कार्यक्रमको महत्वबारेमा प्रकाश पार्नु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button