पुरानै योजनाको भरमा ल्यायो व्यासले १ अर्ब ७७ करोड बजेट

दमौली खबर संवाददाता
जिल्लाकै ठुलो पालिकाको रुपमा परिचित व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि १ अर्ब ७७ करोड ८९ लाख १२ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । यो बजेट गत वर्षको भन्दा २५ करोड बढी हो । कुल बजेटको चालु खर्च तर्फ रु. १ अरब २ करोड ८७ लाख १२ हजार र पूँजीगत तर्फ रु.७५ करोड २ लाख विनियोजन गरिएको छ । कुल बजेट मध्ये आर्थिक विकास तर्फ रु.१० करोड ११ लाख ९६ हजार, सामाजिक विकास तर्फ रु.९३ करोड १७ लाख ७५ हजार, पूर्वाधार विकास तर्फ रु.४५ करोड ३८ लाख २५ हजार, वातावरण तथा विपद व्यवस्थापन तर्फ रु.४ करोड ६६ लाख ५० हजार, संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ रु.२ करोड ५४ लाख ६६ हजार समेत जम्मा रु.१ अरब ७७ करोड ८९ लाख १२ हजार बजेट विनियोजन गरिएको छ । कुल बजेट मध्ये आर्थिक विकासमा ५.६९ प्रतिशत, सामाजिक विकासमा ५२.३८ प्रतिशत, पूर्वाधार विकासमा २५.५१ प्रतिशत, वातावरण तथा विपद् व्यवस्थापनमा २.६२ प्रतिशत, संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ १३.८० प्रतिशत विनियोजन गरिएको छ । नगरपालिकाको सभाहलमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा नगरपालिकाले पुरानै योजनालाई निरन्तरता दिएको छ । हरेक वर्ष स्वास्थ्य, कृषि, पर्यटन र शिक्षालाई मुख्य प्राथमिकतामा राखेको व्यास नगरपालिकाले यस वर्ष पनि सोही क्षेत्रलाई आर्थिक समृद्धिको आधार मानेको छ । कोरोनाको महामारी भएकाले स्वास्थ्य क्षेत्रलाई भने मुख्य रुपमा राखेको छ । नगरपालिकाले जिल्ला अस्पताललाई नगरपालिका अन्तर्गत ल्याउन सम्बन्धीत निकायमा पहल गर्ने कार्यक्रम बनाएको छ । उप-प्रमुख मिरा जोशीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाले नगर अस्पताल सञ्चालन, कृषिमा व्यवसायीकरण र पर्यटन क्षेत्रको प्रबद्र्धनलाई प्राथमिकतामा राखेको बताईन् । उनले भनिन्,‘यस वर्षको नीति तथा कार्यक्रममा नगरवासीको स्वास्थ्य सुरक्षालाई पहिलो प्रथामिकतामा राखिएको छ’ । विद्यमान कोरोना महामारीबाट प्राप्त तितो अनुभव र यसले सिकाएको पाठलाई ध्यानमा राखी दमौली स्थित जिल्ला अस्पताललाई एक सय शय्यामा विस्तार गर्ने गरी व्यास ११ पोल्याङमा करिब एक सय रोपनी जग्गा उपलब्ध गराउने र गुरुयोजना तयार गरिने जोशीले बताइन् । जिल्ला अस्पतालको स्तरउन्नतीको लागि पनि पहिला नै धेरै योजना ल्याईएको थियो । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीबाट जीवनरक्षाका लागि सङ्घीय सरकार, प्रदेश सरकार, सबै पालिका र नागरिक समाजको सहभागितामा दुम्सीबजारको आधारभूत स्वास्थ्य चौकीमा पिसीआर परीक्षण प्रयोगशाला सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । आगामी वर्ष दुम्सी बजारमा रहेको आधारभूत स्वास्थ्य केन्द्रअन्तर्गत नगरपालिका मातहतमा रहने गरी अस्पताल सञ्चालन गर्ने नीति नगरपालिकाको छ । जिल्ला अस्पतालमा न्यूनतम एक सय शय्यामा डायलासिस, सुत्केरी, आइसियु, भेन्टिलेटरको विशेषज्ञ सेवा र सुविधा उपलब्ध गराउन पहल गरिने भएको छ । नगरपालिकाले कृषि क्षेत्रमा आधुनिकीकरण र यान्त्रीककरण गर्दै स्थानिय स्तरको उत्पादन बृद्धिमा जोड दिने भएको छ । जनु अघिल्लो वर्षको योजनामा पनि समावेश गरिएको थियो । अघिल्लो वर्षको योजनामा समावेश गरिएको निजी तथा सार्वजनिक अवस्थाका खाली जमीनको उत्पादनशील ऊर्जालाई खेर जान नदिन र कृषियोग्य भूमिको उपयोग गरी कृषि उत्पादनलाई बढवा दिइने योजना आगामी वर्षमा पनि निरन्तरता दिईएको छ । कृषि उत्पादनलाई सङ्कलन गर्न हरेक वडामा न्यूनतम एक कृषि उपज सङ्कलन केन्द्र र बजारीकरणका लागि कृषि उपज ढुवानी गर्न कृषि एम्बुलेन्स सञ्चालनमा ल्याईने भएको छ । उक्त योजना पनि पुरानै हो । नगरपालिकाले आलु, लसुन, प्याजको पकेट क्षेत्र निर्धारण गरी उत्पादनमा लाग्ने किसानलाई अनुदानको व्यवस्था मिलाउने भएको छ । नगरको विकासमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं ऐतिहासिकस्थलको पहिचान गरी पर्यटन क्षेत्रको संरक्षण, सम्बद्र्धन र विकासका लागि कानून निर्माण गर्ने नीति अवलम्बन गरिएको छ । एक सय आठ फिटको व्यासमूर्ति, व्यास गुफा र पराशर ऋषिको तपोभूमि पराशर क्षेत्र जोड्ने पुलमा व्यास झुला, ऐतिहासिक तनहुँसुर दरबार, मानुङकोट, गलेखामकोट, कालिका शहीद जङ्गलपार्क, क्यामिन कालिका, सिद्धेश्वरी राजापानी महादेव, छाङ्गावाराही मन्दिरको संरक्षण र सम्बद्र्धन गरिने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । उक्त योजनाहरु पनि पुरानै हुन् । चालु वर्षको योजनामा परेको वडा नं १० दुम्सीचौरमा पर्यटकीय प्रबद्र्धनका लागि नारेश्वर ताल निर्माण सम्पन्न गर्ने र भानुघाँसी स्मारक पार्कलाई व्यवस्थित गर्न यस पटक पनि नीति लिइएको छ । पर्यटन क्षेत्रको लागि नगरपालिकाले मानुङ यात्राका लागि केबलकार, मानुङकोटमा तारे होटल निर्माण, शिशा पुल निर्माण, जीप लाइनलगायतका निर्माण कार्यका लागि निजी लगानीकर्तालाई आकर्षित गरी साझेदारी गर्ने नगरपालिकाले नीति लिइएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button