नगर प्रमुख त्रिपाठी र प्रजिअ रिजालद्धारा निर्माणाधिन डुम्रे–चाम्बास सडकको अनुगमन , समयमै काम सम्पन्न निर्देशन

दमौली खबर संवाददाता

भानु,चैत १०

तनहुँको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी र प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निर्माणाधिन डुम्रे–चाम्बास सडकको बिहीबार अनुगमन गर्नु भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले समेत बारम्बार चासो व्यक्त गर्नु भएको निर्माणाधिन सडकको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा स्थानीयहरुले काम तिब्र रुपमा हुन नसकेको, गुणस्तर नभएको, घाम लाग्दा धुलो र पानी पर्दा हिलोले सताउने गरेको, हुनु पर्ने ठाउँमा नाली र कल्भर्ड नराखिएको जस्ता गुसानो समेत गरेका थिए । नगरपालिकाका प्रमुख त्रिपाठी र प्रमुख जिल्ला अधिकारी रिजालले सडक आयोजनाका प्रमुख र ठेकेदार कम्पनीका प्रतिनिधिलाई जनताको गुनासो नआउने गरी स्टिमेट अनुसार समयमै काम सम्पन्न गर्न निर्देशन दिँदै सार्वजानिक सरोकारको विषय भएकाले आम नागरीक सचेत बनी काममा सहजीकरण गरिदिन र आवश्यक परे खबरदारी गर्न समेत आग्रह गर्नु भएको छ ।

अनुगमन गर्नु अघि नगरपालिकाकी उप–प्रमुख उमा गोतामे, वडा अध्यक्षहरु, वडा सदस्यहरु, सरोकारवाला स्थानीय बासिन्दा, भानुका विभिन्न राजनैतिक दलका प्रतिनिधि, डुम्रे– बेसिशहर सडक आयोजनाका प्रमुख अच्युत बिलास पन्त, नेपाल प्रहरीका प्रमुख प्रहरी उपरीक्षक अबदेश बिष्ट, शसस्त्र प्रहरी मनकामना गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक कमलचन्द्र गैह्रे, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपकप्रसाद खतिवडा, नगरपालिकाका कर्मचारीहरु, ठेकेदार कम्पनी आशिस अनेष्ट जेभी भरतपुर चितवनका प्रतिनिधि छत्रबहादुर अर्याल, लगाएतको उपस्थितिमा योजना बारे ब्यापक रुपमा छलफल भएको थियो । छलफल पछि सो डुम्रे देखि चम्बास सडकको गुणस्तरमा जोड दिँदै समयमै काम सम्पन्न गर्न स्थानीय तह सँग समन्वय गर्ने र समस्या परेको खण्डमा सहजीकरण गर्ने निर्णय समेत बैठकले गरेको छ ।

बैठक पछि ठेकेदार कम्पनी आशिस अनेष्ट जेभी भरतपुर चितवनका प्रतिनिधि छत्रबहादुर अर्यालले नदीजन्य सामग्रीको अभावले काम केहि ढिला हुन गएको भन्दै स्थानीय तहले सहजीकरण गरिदिएको खण्डमा तोकिएकै मितिमा काम सम्पन्न हुने जानकारी दिनुभयो ।

डुम्रे देखि चम्बास सम्मको ८ किमि ३ सय मिटर नाली सहित दुई लेनको पक्की सडक अर्थात कालोपत्रे गर्न आशिस अनेष्ट जेभी भरतपुर चितवनले २०७८ साल बैशाख २२ गते ३८ करोड ९ लाख ८६ हजार ४ सय बयानब्बे रुपैंयामा ठेक्का सम्झौता गरेको थियो । ठेक्काको समाप्त हुने अबधि ८ महिना बाँकी रहँदा भौतिक प्रगति ५० प्रतिशत छ भने वित्तिय प्रगति ४५ प्रतिशत छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button