जिल्लाकै ठुलो खानेपानी अबरुद्ध हुँदा ३५ सय घरधुरी प्रभावित

 

दमौली खबर संवाददाता
साउन ७ दमौली

जिल्लाकै ठुलो खानेपानी आयोजनाको पाइप पहिरोले बगाईदिदाँ तीन हजार पाँच सय घरधुरी र भाडामा रहेका गरी करिब तीस हजार मानिसहरु प्रभावित भएका छन् ।

सदरमुकाम स्थित दमौली खानेपानी तथा उपभोक्ता संस्थाद्धारा बितरण गरिदै आएको पानीको पाइप गत असार २९ गते बिहान माथिबाट आएको पहिरोले बगाएपछि खानेपानी अबरुद्ध भएको हो ।

जिल्लाको व्यासनगरपालिका–४ बैरेनीमार्गमा माथिबाट आएको पहिरोले पानीको पाइप बगाई दिएपछि पानी बितरणमा समस्या आएको संस्थाका व्यवस्थापक अमर गिरीले जानकारी दिए ।

हप्ता÷ दश दिनमा सम्पन्न गरेर पानी सुचारु गर्ने लक्ष्य राखेर काम थालिएपनि अहिले दैनिक परेको अविरल बर्षाले निर्माण कार्य समेत प्रभाव परेको उनले बताए ।

माथिबाट आएको पहिरोले करिब २४ मिटर दश इन्चको डिआई पाइप बगाएपछि व्यासनगरपालिका २,३ र ४ का बासिन्दाहरु प्रभावित भएका छन् ।

बिहान बेलुका गरी दैनिक ३० लाख लिटर पानी बितरण गर्दै आएको उक्त संस्थाले हाल पुरानो पानीको एक लाइनबाट पम्प संञ्चालन गरी करिब तीस प्रतिशत पानी बितरण गरिदै आएको उनले बताए ।

मादी नदी किनारबाट लिफ्टीङ गरिएको पानीको इनार पहिरोले डुबाएपछि पानी तान्न मिलेन । उनले भने ‘दुई दिन लगाएर इनार सफा गरियो,यता फेरि पहिरोले पाइप बगाएपछि पानी बितरणमा समस्या भएको हो ।’

अवरुद्ध खानेपानी जतिसक्दो छिटो सम्पन्न गर्ने गरी निर्माणका कार्य भैरहेको छ । खानेपानीको पाइप बगाएपछि खानाको लागि पुग्ने गरेपनि अन्य कामको लागि समस्या भएको संस्थाका सचिव माधब प्रसाद अधिकारीले बताए ।

पानी सुचारु कार्यका लागि व्यासनगरपालिका ५ स्थित चापघाटको कालीभञ्जन गण इन्जिनियर पल्टनका एक जमदारको नेतृत्वमा एघार जना सिपाहीले निशुल्क श्रम सहयोग गरेका छन् । काम गर्ने जनशक्ति कमि भएकोले निर्माणमा ढिलाई हुने देखिएकोले सेनासंग सहयोग माग गरिएको हो ।

बाढी पहिरोले खानेपानी आयोजनामा धेरै क्षति पुगेकोले करिब रु.१५ लाख खर्च लाग्ने अनुमान गरिएको संस्थाका लेखापाल बालकृष्ण अधिकारीले जानकारी दिए ।

होटल व्यवसायी मारमा

दमौली खानेपानीको पाइप पहिरोले बगाएर पानी अवरुद्ध हुँदा त्यसको बढि असर होटल व्यवसायीलाई परेको छ । कोरोना भाइरसका कारण तीन महिना सम्म व्यवसाय बन्द गरेका होटल व्यवसायीहरुले केहि दिन अघि देखि मात्रै संञ्चालन गर्न थालेपनि पानी नहुँदा सास्ती भोग्नु परेको छ ।

करिब एक घण्टा धारामा आएको पानीले पिउनको लागि नपुग्ने गरेको व्यास २ स्थित मालपोत लाइनमा होटल व्यवसाय गर्दै आउनु भएका बालकृष्ण आलेले बताए । दैनिक शिवपाञ्चयन मन्दिर नजिक रहेको धाराको पानी बोकेर जेनतेन व्यवसाय धान्नु परेको उनकोे दुखेसो छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button