तेस्रो व्यास युवा कप २०७९ फुटबल प्रतियोगिता सोमबारदेखि शुरु

दमौली  संवाददाता
दमौली÷३, असोज । व्यास नगरपालिका–४ स्थित व्यास युवा क्लबको आयोजनामा
तेस्रो व्यास युवा कप २०७९ फुटबल प्रतियोगिता सोमबारदेखि शुरु भएको छ ।
प्रतियोगिताको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन  गर्नुभयो  । उनले ड्रोनबाट रेफ्रीलाई बल दिएर प्रतियोगिताको उद्घाटन गर्नु भएको हो । सो अवसरमा बोल्दै उहाँले यस्ता प्रतियोगिताले फुटबलका राम्रो खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताउनुभयो  । खेल क्षेत्रको विकासको लागि नगरपालिकाले प्राथमिकता दिएको पनि नगर प्रमुख न्यौपानेले बताउनुभयो । व्यास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले पूर्वाधार विकासको लागि ध्यान दिन आवश्यक रहेको र नगरपालिकाले त्यस्ता कुरामा खेलाडीलाई सधैं साथ दिने बताउनुभयो ।  कार्यक्रम क्लबका अध्यक्ष मिनबहादुर गुरुङ चरीबाबाको अध्यक्षतामा भएको थियो ।
प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ११ हजार १ सय ११ र द्वितीय हुने टिमलाई ५५ हजार ५ सय ५५ नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने क्लबका सचिव मनोज राउतले जानकारी दिनुभयो । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर र सर्वाधिक गोल कर्ता घोषित गरी जनही ५ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने जानकारी उनले बताए । क्वाटर फाइनलका खेल देखि म्यान अफ दि म्याच घोषित गरी २ हजार नगद र मेडल उपलब्ध गरिने क्लबले जनाएको छ  । प्रतियोगितामा ३५ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेलमा भुन्ङ्गे फुटबल क्लबले बाराही कलेजलाई ट्राइब्रेकरमा ४–२ गोलले पराजित गरेको छ । दोस्रो खेलमा मुनसाइन युवा क्लबले पाटन युवा क्लबलाई ४–० गोलले पराजित गरेको टिम दर्ता संयोजक निरज गुरुङले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button