तनहुँ १ मा चुनावी सरगर्मी बढ्यो टिकटको लागि नेताहरु राजधानी धाउन थाले

दमौली खबर संवाददाता

तनहुँ, चैत ६

टिकटकै मेसो मिलाउन कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई तीन पटक पाटी सभापति शेरबहादुर देउवालाई भेटिसक्नु भएको छ । कांग्रेसको तर्फबाट तनहुँ १ मा अग्रपंक्तिमा नाम रहनु भएका भट्टराईले टिकटकै लबिङका धेरै दबाब दिन भेट्नु भएको हो । कांग्रेसका जिल्ला स्थित नेताहरु टिकटको लागि राजधानी धाएका छन् । कांग्रेस जस्तै एमाले नेताहरु पनि टिकटको लागि काठमाडौंमा नै पुगेर कसरत गरिरहेका छन् । तनहुँको क्षेत्र नं. १ मा उप निर्वाचन हुने भएपछि चुनावी सरगर्मी बढेको छ । प्रतिनिधि सभा सदस्यमा विजयी भएका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुने भएकोले चुनावी सरगर्मी बढेको हो । क्षेत्र नं. १ मा उपनिर्वाचन हुने पक्का भएपछि ठूला पार्टीका नेताहरु टिकटको लागि दौडधुपमा गरेका हुन् । ‘‘जिल्लाका नेताहरु मध्ये सबैभन्दा सिनियर म नै हुँँ पार्टी सभापतिले भेटमा चुनावको तयारीमा जुट्नु टिकट पाउनुहुन्छ भन्नु भएको छ’’ कांग्रेस केन्द्रीय भट्टराईले भन्नुभयो । कांग्रेसबाट भट्टराईका अतिरिक्त केन्द्रीय सदस्य ध्रुव वाग्ले, संविधान सभा सदस्य रामचन्द्र पोख्रेल, कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल, कांग्रेस नेता लक्ष्मी आचार्य, रामचन्द्र अधिकारी, कांग्रेसका युवा नेता दिपक भट्टराई, कांग्रेसकी नेतृ चिनु पोख्रेल, क्षेत्रीय सभापति श्यामकुमार मौरती, जिल्ला नेता डा. शेषरमण न्यौपाने लगायतका नेताहरु टिकटको लागि दौडधुप गर्नु भएको बुझिएको छ अहिलेका मतदाता युवालाई चाहेकाले युवाले पाउनु पर्छ भनेर पार्टी सभापतिलाई भनेको आफ्नो टिकटको लागि दाबी रहेको नेबिसङ्घका निर्वतमान महामन्त्री दीपक भट्टराईले भन्नुभयो । आकांक्षीहरुले पार्टी सभापति र पार्टीका अन्य पदाधिकारीसँग भेटघाट गर्ने, माहोल आफ्नो पक्षमा बनाउन लबिङ गर्ने कार्यमा ति नेताहरु व्यस्त हुन थालेका छन् । शीर्षस्थ नेताकै तजबिजमा अन्तिम निर्णय गरिने हुनाले केन्द्रमा धाउनुपर्ने बाध्यता रहेको जिल्ला नेता बताउँछन् ।

नेकपा एमालेबाट नेपाल प्रहरीका पूर्व महानिरीक्षक देखि गत मङ्सीरमा पराजित उम्मेदवारसम्मलाई सम्भावित उम्मेदवारको रुपमा हेरिन थालेको छ । गत निर्वाचनमा रामचन्द्र पौडेलसँग पराजित एकबहादुर राना मुख्य दावेदार हुनुहुन्छ । गत मंसिरको निर्वाचनसहित ४ पटक पराजित भएपनि रानाले टिकटको लबिङ गरिरहनु भएको छ । रानाले आफू हुनैपर्छ भन्ने नभएपनि पार्टीले निर्णय गरे निर्वाचन लड्न तयार रहेको बताउनुभयो । ‘‘मैले पहिले पनि आकांक्षा व्यक्त गरेको थिएन, अहिले पनि म नै हुनुपर्छ भन्नेमा छैन, पार्टीले निर्णय गरे म निर्वाचन भिड्न तयार छु’’ रानाले भन्नुभयो । गत निर्वाचनमा काठमाडौं ६ बाट पराजित भएका सर्वेन्द्र खनाल गृहजिल्ला फर्किन चाहेका कतिपय नेता बताउँछन् । एमाले निकटका अनुसार उपनिर्वाचनमा खनाल पनि टिकट पाउने सम्भावितमध्ये एक हुनुहुन्छ । खनालले अघिल्लो निर्वाचनमा तनहुँबाट लड्न भनिएको थियो तनहुँबाट नपाएपछि काठमाडौंबाट लड्नु भएको थियो ।

सर्वेन्द्र गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित हुनु भएको थियो । प्रतिनिधी सभा सदस्यमा एमालेबाट तनहुँ क्षेत्र नम्बर १ बाट कांग्रेसका शङ्कर भण्डारीसँग पराजित हुनु भएका नेता किरण गुरुङ, एमालेका पराजित तनहुँ क्षेत्र नबर २ को प्रदेशकाबाट ‘क’ बाट रामबहादुर गुरुङ र ‘ख’ बाट पराजित पूर्णबहादुर गुरुङ टिकटको लागि एमाले अध्यक्ष तथा पदाधिकारीहरुलाई भेटघाट गरेको एमाले स्रोतले बताएको छ । गत मङ्सीरको निर्वाचनमा तनहुँमा मूख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र एमालेबीच भएको थियो । यसपाली पनि सोही अनुसारको प्रतिस्पर्धा हुने देखिएको छ । तनहुँ १ मा आफ्नो संगठन कमजोर रहेको र त्यसमाथि गठबन्धन हुने भएकोले एमालेले नेपाली कांग्रेसबाट असतुष्ट बनेका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी समुहसँग सहकार्य गर्ने सम्भावना पनि रहेको छ । गत स्थानीय तहको निर्वाचनमा एमालेले जोशी समुहसँग सहकार्य गरेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button