भूकम्पले ढलेको सपना उठन नपाउँदै पहिरोले पुरिदियो

स्थलगत रिर्पोट

सविन लामिछाने

तनहुँको व्यास नगरपालिका वडा नं ८ माँझफाँटका केशव थापाको सपनामाथि आईतबार राति गएको पहिरोले तुषारापात लगाइदिएको छ ।

वि.सं. २०७२ साल भूकम्पले ढलेको सपना उठाउन नपाउदै पहिरोले कहिले नउठ्ने गरी पुरिदिएको छ । व्यास नगरपालिका वडा नं ९ माँझफाँटका केशवबहादुर थापाको घर वि.स.२०७२ सालमा आएको भूकम्पले क्षति पुराएको थियो । घर पूनः निर्माण गर्न सरकारले उनलाई तीन लाख दिएको थियो । धेरै भत्किसकेकोले घरलाई उनले पूणनिर्माण गर्न तर्फ लागेनन् । उनले नयाँ घर बनाउने सपना देखे । ऋण धन गरेर नै भए पनि परिवारको सपनाको घरलाई उभ्याए । भूकम्पले भत्काएको घरलाई भत्काएर उनले नयाँ घर खडा गरे । आफन्त सँग ऋण लिएर सरकारले दिएको तीन लाख गरि करिब १५ लाखमा उनले आज भन्दा एक वर्ष अघि सोही ठाँउमा नयाँ घर खडा गरे । घर बनाई सकेपछि हरेक रात उनलाई कसरी ऋण तिर्ने भन्ने चिन्ताले सताई रहन्थो । दुई छोरा छन् भन्दै उनले आशा लिएर हरेक चिन्ता सहित तिता कहानी सहित मिठा सपना सोच्दै निदाउने गर्थे । घर बनाउदाँ लागेका ऋण दुई छोराहरुले र्तिछन् भन्दै आशा लिएर सुतेका थापाको सपना पहिरोले चक्नाचुर पारिदिएको छ ।

परिवारका सबै सदस्यले छोडेर जाँदा एक्लो बने केशव

आईतबारबाट परेको अविरल वर्षाले थापाको भूकम्पले ढलेको सपना उठाउन नपाउदै पहिरोले पुरिदियो, त्यो पनि अब कहिले नउठ्ने गरी । घर त जेनतेन उठ्थ्यो होला तर उनका परिवारका सदस्य अब यो चराचर जगतमा नउठ्ने गरी विलिन भएका छन् । पहिरोले थापाको ४० वर्षीया श्रीमती कमला थापा,जेठो छोरो २४ वर्षीय मनोज थापा र २१ वर्षीय बुहारी अञ्जना थापाको मुत्यु भएको छ । यता २० वर्षीय कान्छो छोरा राजेश थापाको भने घटना भएको २४ घण्टा भन्दा बढी बितिसक्दा पनि फेला पर्न सकेका छैन । केशवबहादुरको भने जीवितै उद्धार गरि पोखराको गण्डकी अस्पतालमा उपचार भइरहेको छ । कान्छो छोराको खोजी कार्य जारी रहेको छ । गाँउलेले कान्छो छोरालाई खोज्दा पनि नपाए पछि नेपाली सेनाले डोजर लगाई खोजी कार्य जारी राखेको छ ।

“जिउँदै छ होला भन्ने आशा पनि मरि सक्यो, अब लास फेला पार्न पाए आत्माले शान्ति त पाउथ्यो होला” ,स्थानीय पदम बहादुर थापाले भने । “धेरै आशा लिएर बसेका केशवबहादुरको सपना भरोसा र आधारस्तम्भ नै पहिरोले पुरिदियो । जीउदै मान्छे मरे जस्तै भए”, आँखाका आसु पुस्दै बेपत्ता रहेकाको खोजी गरिहेका पदमले भने । “नसोचेको घटना भयो, सोमबार विहान ६ बजे यस्तो विपद् आइलाग्यो ।”

विदेश जाने तयारीका साथ घर छाड्नु अघिल्लो दिन लग्यो पहिरोले

भूकम्पले ढालेको घरलाई खडा गरी लागेको ऋण तिर्न दुबै छोरालाई विदेश पठाउने सुरमा थिए केशवबहादुर । आईतबार राति नै सबै सामान प्याक गरेर ठूला छोरा सोमबार जाने तयारीमा थिए । विदेश गएर परिवारमा लागेको ऋण तिर्ने सोच राखेर आईतबार सुतेका मनोज कहिले नउठ्ने गरि निदाए ।

“लाखौंको ऋण तिर्न छोरालाई विदेश पठाउन लागेका थिए ।” केशबबहादुरको दाई राजकुमार थापाले भने । “१२ लाख ऋण र ३ लाख भुकम्पको ऋण लिएर खडा गरेको घर एक वर्ष नबित्दै पहिरोले पुरिदियो ।”

उनले भने, “जेठो छोरा बिदेश गएसी कान्छोलाई नि विदेश पठाउने सोचमा थियो भाई ।” केशबबहादुरको हातमा चोट लागेको छ भने खुट्टा भाँच्चिको छ । अहिले उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घर पहिरोले पुरिए पछि नत त्यहाँ बस्ने ठाँउ नै नत खानेकुरा खाने भाडा । स्थानीय सरकारले राहत स्वरुप पचास हजार, प्रदेश सरकारले पचास हजार र विपद व्यवस्थापन समितिले एक लाख रकम राहत दिने घोषणा गरे पनि उनमा अहिले नयाँ घर खडा गर्ने आँट नै छ्रैन ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button